आज विश्वकर्मा पुजा तथा वास्तु दिवस–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • आज विश्वकर्मा पुजा तथा वास्तु दिवस

आज विश्वकर्मा पुजा तथा वास्तु दिवस

आज विश्वकर्मा पुजा तथा वास्तु दिवस

पोखरा, १ असोज । आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ ।

यही सम्झनामा नेपालका कालीगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

विश्वकर्मा भगवान को हुन् ?
शास्त्रहरु तथा पुराणहरुमा भगवान विश्वकर्मालाई वास्तु शास्त्र तथा यन्त्रहरुको देवता मानिएको छ । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ ।

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटाछुटै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व
जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।

समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास गरिन्छ । नयाँ सवारी साधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने प्रचलन समेत छ ।

विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएको मानिन्छ ।

विश्वकर्मा पूजाको महत्व
हरेक वर्ष मेसिन, हात हतियार तथा सवारीसाधनको पूजा गर्नाले तीनिहरु चाँडै बिग्रदैनन् । मेशिन पनि सुचारु रुपमा सञ्चालन हुन्छ, किनभने भगवान विश्वकर्माको त्यसमाथि कृपा बनिरहेको हुन्छ ।

नेपालमा काठमाडौंसहित तराईको प्राय सबै जिल्लाहरुमा विश्वकर्मा पूजा धुमधामका साथ मनाउने गरिन्छ ।

हिन्दू परम्परा अनुसार उनको पूजा तथा यज्ञ सम्पूर्ण विधि-विधन अनुसार गरिन्छ । भगवान विश्वकर्माको कृपा पाउनका लागि उनका १ सय ८ नामहरुको पाठक गर्नु निकै नै फलदायी समेत मानिन्छ ।

यसैबीच वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताका सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका