सर्वहाराको होइन, सर्वमाराको सरकार !–Samacharpati
Samacharpati
बिहिबार, अशोज १५, २०७७
  • होमपेज
  • सर्वहाराको होइन, सर्वमाराको सरकार !

सर्वहाराको होइन, सर्वमाराको सरकार !

सर्वहाराको होइन, सर्वमाराको सरकार !

शंकर भण्डारी । एकातिर सरकारको नीति तथा कार्यक्रमको बुँदा नं ९० मा गरिबीका कारण “कोही भोकै पर्दैन, भोकले कोही मर्दैन”र बुँदा नं १३८ मा “उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धीः हुन्छ नेपालको समृद्धी” भन्ने जस्ता नारा उल्लेख छन् भने अर्कोतिर श्रमजीवि वर्ग एकपेट खान नपाएर प्राण त्याग्दैछन् ।

चालु बजेटमा कामको लागि खाद्यान्न, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना आदि दर्जनौं स्वप्नील नाराहरु उजागर गरिएका छन् र अबौं रुपैंया त्यसमा विनियोजन गरिएको छ । तर हप्तौं सम्मको पैदल यात्रा, सरकारको अवरोध र अपमान छिचोल्दै कोरोनाको महामारीबाट बच्न स्वदेश फर्केका नागरिक तीन महिना नबित्दै केबल आफू र आफ्नो परिवारको पेट भर्ने चारा जुटाउन नसक्दा बाध्य भएर फेरि विदेश पलायन नभएको दुखद यथार्थ हाम्रो सामु छ ।

मित्रराष्ट्र भारत अहिले कोरोना संक्रमणको दरले संसारको पहिलो र संख्याले दोस्रो मुलुक हो । त्यस्तो जोखिम भोगिरहेको मुलुकतर्फ अहिले नेपाली युवायुवतीहरु काखमा बच्चा च्यापेर ज्यानको प्रवाह नगरी ताँती लागेर पैदल यात्रा गर्दै पलायन हुन थालेका छन् । सरकारले यो देखेकै छैन वा देखे पनि नदेखे जस्तो गरेको छ । मातृभूमिमा टेकेपछि जे जसरी पनि जीवन चलाउँला भनेर आएकाहरु जीवन निर्वाहको कुनै आधार नपाएपछि जोखिम मोलेरै पनि लुरुलुरु त्यहीबाटो फर्कन बाध्य भएका छन् ।

सरकारलाई लागेको होला ती आफ्ना कार्यकर्ता होइनन्, जावो एक भोट के ठूलो कुरा होर फेरि एक छाक खाना जुटाउन नसक्नेको भोट यत्रो विशाल पार्टीलाई के आवश्यक छ? नेकपा नेतृत्वको सरकार सोच्दै छ की जनताले बुझेकै छैनन् अब नेकपा नेतृत्वको सरकार चानेचुने सरकार होइन । यसलाई भूइँ तहका गरिब गुरुवाको भोट चाँहिदैन । यो त उन्मत्त साँढे जस्तो विशाल भइसकेको छ । अब यो दलाल नोकरशाहीबाट पोषित र उनिहरुकै स्वार्थमा काम गर्ने पार्टी हो । यो जनताले पत्तै नपाई रातारात सर्वहाराको पार्टीबाट सर्वमारामा रुपान्तरित भइसकेको छ । बजेटले व्यवस्था गरेका कार्यक्रमहरु अमुक ठेकदार र दलालको निर्देशन अनुसार खर्च गर्ने गरेको छ । जसले अर्को चुनावमा नेकपालाई खर्चको प्रबन्ध गर्न सकोस । नाथे भोट त जस्ले पनि दिन्छ, त्यो के ठूलो कुरा हो र ? आदि, आदि ।

अर्बौंको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना ल्याइयो तर किसानलाई एक गेडो मल नदिई दलाल पोस्ने र गरिब किसानको ढाड सेक्ने काम भैरहेको छ । विदेशबाट फर्केका युवालाई रोजगारी दिने, व्यवसाय गर्न सहयोग गर्ने भाषण गरियो तर घर फर्केको तीन महिना नबित्दै बिल्लिबाठ भएर युवा विदेश पलायन हुन बाध्य भए । वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश फिर्ता ल्याउने तथा उनीहरुको कल्याण एवं पुनःस्थापनामा खर्च गर्ने भनियो तर हजारौं नागरिक विभिन्न देशमा अलपत्र परेर रोइरहेका छन्, त्यो क्रन्दन सरकार सुन्दैन । जनताप्रति कुनै जिम्मेवारी बोध नभएको यो सरकारले नेपाल र नेपालीलाई कुन रसातलमा पुर्‍याएर छाडने हो पत्तो छैन । प्रधानमन्त्रीका चर्का भाषण तथा आकर्षक नारा जनता झुक्याउन र दलाल पोस्नका लागि थिए भन्ने तथ्य अहिले लोकले वुझिसकेको छ ।

भन्ने गरिन्छ, संकटको समयमा इमान्दारिता र क्षमताको वास्तविक परीक्षण हुने गर्दछ । अहिले करिव दुई तिहाईको सरकारलाई जनताको विश्वास, भरोसा एवं भोट बाँदरको हातमा नरिवल सरह भएको छ । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । पदको बाँडफाँड, वेपर्वाह नियुक्ति, निकटस्थलाई राज्यकोषबाट ठेक्का र सत्ताको हानाथापमा बालुवाटार र सिंहदरबारको सेरोफेरोमा सारा शक्ति खर्च भएको छ । कोरोना अहिलेको सरकारको लागि बरदान सावित भएको छ । लुटतन्त्र मच्चाउने स्वर्णिम अवसरको रुपमा यसलाई उपयोग गरिएको छ । सरकारको इमान्दारिता र क्षमता पुरै माटोमा विलय भएको छ । इतिहासले मूल्यांकन गर्ला सायद यस्तो वेपर्वाह सरकार दुनियामा पाउन कठिन नै होला ।

मुलुक बन्दाबन्दीमा रहेको करिब छ महिना हुन लाग्यो स्वास्थ्य सुरक्षाका आधारभूत प्रबन्ध समेत गरिएको छैन । कोरोना बाहेकका अन्य बिरामीले अस्पताल पस्न नपाई गेटमा नै प्राण त्यागेका छन् । श्रमजीवि वर्ग भोकभोकै मर्दैछन् । उद्यम व्यवसायको अस्तित्व समाप्त हुदैछ । विदेशमा हजारौं नेपाली अलपत्र परेका छन् । किसानहरु मल, बिउ नपाएर छटपटाएका छन् । स्वदेश फर्केका युवा केही कुनै सहयोग र सहारा नपाएर फेरी विदेशिन बाध्य भएका छन् । देशमा जनताले चुनेको सरकार छ भनेर कस्ले स्वीकार्ने अवस्था होला ?भ्रष्टाचार, कुशासन, अराजकता र लुटको चरम अभ्यासमा मुग्ध रहेको यो सरकारलाई सही बाटोमा ल्याउन अब कठिन नै देखिन्छ ।

सधै सत्तामा टिकिरहिन्छ, आसेपासेको सेवा नै सबैथोक हो भन्ने कमजोर एवं संकुचन मानसिकताबाट बाहिर निस्केर जनताको जनजीवनलाई सहज बनाउने कार्यमा केन्द्रीत हुन सरकारसँग अनुरोध गर्दछु । कोरोना महामारीबाट जनतालाई सुरक्षित राख्न स्वास्थ्य पूर्वाधार तथा अन्य तयारी तत्काल गरियोस् । नियमित स्वास्थ्य उपचारलाई सहज बनाइयोस् । दैनिक गुजारा गर्न समस्या रहेकालाई तत्काल राहतको प्रबन्ध गरियोस् ।यथोचित स्वास्थ्य सजगता अपनाएर उद्योगधन्दा, कलकारखाना संचालनको प्रबन्ध गरियोस् । लाखौं विद्यार्थीको भविष्यलाई ध्यान दिई पठनपाठको उचित प्रबन्ध होस् । युवाहरुलाई देशमा रोजगारीको प्रबन्ध होस् । विदेशमा अलपत्र नागरिकको तत्काल उद्धार होस्, साथै भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्यको जोडदार माग गर्दछु । मुलुकमा आएको विषम परिस्थितिमा पनि जनताको दुःखलाई वेवास्ता गर्दै राष्ट्रिय ढुकुटीमाथि रजाई गरि रहँदा कुनै पनि दिन यो सरकारका विरुद्ध जनताको धैर्यको बाँध फुटन सक्नेतर्फ सचेत गराउन चाहन्छु ।
(भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा एवं तरुण विभाग प्रमुख हुन्। )

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका