मुख्यमन्त्री पृथ्बीसुब्बाद्धारा बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • मुख्यमन्त्री पृथ्बीसुब्बाद्धारा बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण

मुख्यमन्त्री पृथ्बीसुब्बाद्धारा बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण

मुख्यमन्त्री पृथ्बीसुब्बाद्धारा बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण

लमजुङ, २० साउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गर्नुभएको छ । बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गर्नुभएको हो ।

मुख्यमन्त्री गुरुङले बाढीपहिरो नागरिकलाई बनाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको र यस बस्तीको आवश्यक सहयोग गर्ने बताउनुभयो ।

जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकार रहेको भन्दै प्रदेश सरकार सधैँ जनताको साथमा रहेको उहाँले प्रस्ट पार्नुभयो । प्रदेशका मुस्ताङ र मनाङबाहेक नौ वटै जिल्लामा बाढीपहिराले करिब ५०० घरमा क्षति पुर्याएकाले प्रदेश सरकारले तिनको पुनःनिर्माण गरिदिने उहाँको भनाइ छ ।

दुवार गाउँका बाढीपहिराबाट प्रभावित वासिन्दाले मुख्यमन्त्री गुरुङसँग गाउँमा बस्न उच्च जोखिम रहेको र उचित स्थानमा पुनःस्थापना गरिदिन आग्रह गरेका थिए ।

पहिरोको जोखिम रहे पनि तत्काल कतै जाने ठाउँ नभएकाले बाढीपहिरोको बेवास्ता गर्दै ज्यानको बाजी राखेर दिनरात कटाउँदै आएको उनीहरुको भनाइ छ ।

गत असार २६ गते आएको अविरल वर्षासँगैको बाढीपहिराले दुवार गाउँका छ घर पूर्णरुपमा ध्वस्त बनाएको छ भने ७० घर उच्च जोखिममा रहेका छन् ।

बाढीपहिराले गाउँका कुनै घर चर्किने, कुनै ढल्किएको अवस्थामा रहेको वडाध्यक्ष तुलबहादुर घलेले बताउनुभयो । बस्ती बीचमा पानीको मूलसमेत पलाएकाले थप जोखिम भइरहेको उहाँको भनाइ छ ।

निरीक्षणमा मुख्यमन्त्री गुरुङसहित गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक मायानाथ अधिकारी, सांसदद्वय मधुमाया अधिकारी र धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सहभागी हुनुहुन्थ्यो ।

यसैबीच राष्ट्रिय युवा सङ्घको पहलमा दोर्दी गाउँपालिकाका युवाहरुले बाढीपहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ । मुख्यमन्त्री गुरुङले बाढीपहिरो पीडितलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सङ्घमा आवद्ध युवाहरुले रकम सङ्कलन गरेर ४५ बोरा चामल, ४५ बोरा तेल र ४५ नून सहयोग गरेका छाैँ ।” उनीहरुले ४५ घरलाई उक्त सामग्री सहयोग गरेका थिए ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका