प्रचार प्रसार अभावले पर्यटकीय क्षेत्र बागलुङको ''हाँडिकोट'' ओझेलमा–Samacharpati
Samacharpati
शुक्रबार, अशोज १६, २०७७
  • होमपेज
  • प्रचार प्रसार अभावले पर्यटकीय क्षेत्र बागलुङको ”हाँडिकोट” ओझेलमा

प्रचार प्रसार अभावले पर्यटकीय क्षेत्र बागलुङको ”हाँडिकोट” ओझेलमा

प्रचार प्रसार अभावले पर्यटकीय क्षेत्र बागलुङको ”हाँडिकोट” ओझेलमा

बागलुङ, १६ साउन । ‘हाँडिकोट’ जैमिनीबासीको लागि परिचित नाम हो । भन्ने हो भने समग्र बागलुङको लागि पर्यटकीय स्थलको रुपमा स्थापित गर्न सकिन्छ । बागलुङ जिल्लाको दक्षिण जैमिनी नगरपालिका वडा न–१० राङखानीमा पर्ने ‘हाँडिकोट’ समुद्री सतहदेखि २१सय ९५ मिटर उचाईमा रहेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा अत्यन्त सम्भावनायुक्त ठाउँ भएपनि पूर्वाधार निर्माण अभावका कारण खासै चर्चामा आउन सकेको छैन । उचित प्रचारप्रसार तथा प्रवद्र्धन हुन सकेको छैन ।

प्रचार प्रसार गर्न सके यो आन्तरीक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यस्थल बन्न सक्छ । जडिबुटीको प्रचुर सम्भावना र प्राकृतिक सौन्दर्यका पारखीहरुका लागि त यो एउटा दिव्य अनुभव नै हुन्छ । धेरै विद्यालयबाट विद्यार्थीहरु यस ठाउँमा शैक्षिक भ्रमणमा आउने क्रम बढेर गएको छ ।

हाँडिकोट आफैमा मनमोहक ठाउँ हो, यसबाट खास गरि आकर्षक सूर्योदय देख्न सकिन्छ । सुन्दर हिमश्रृखलाको दृश्यले जो कोहीको मन लोभ्याउन सक्छ । हाँडिकोटबाट अन्नपूर्ण, माछा पुच्छे, नीलगिरी, धौलागिरी लगायतका सुन्दर हिमश्रंखलाहरु देख्न सकिन्छ ।

त्यति मात्र नभई हाँडिकोटबाट पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा, काँस्की जिल्लाका विभिन्न स्थान समेत देखिन्छ , जसले गर्दा हाँडिकोट पुग्ने जोकोहीलाई आकर्षित गर्न सक्छ ।

९० हेक्टर जमिनमा फैलिएको हाँडिकोट जडिबुटिको लागि समेत अत्यन्त सम्भावनायुक्त ठाउँ हो । त्यहाँ सतुवा, पाँचऔले,चिराइतो, भुत्केस, रक्तमुल, रक्तताल, पखण्डित, पहेँले लगायत दर्जनौँ प्रकारका जडिबुटी पाईन्छ, तर त्यसलाई व्यवस्थित गर्न नसक्दा महङ्गो मुल्यका जडिबुटीहरु चोरी निकासी हुने गरेको स्थानीय बताउँछन् ।

चोरी निकासीकै कारण सत्तुवा लगायतका महत्वपूर्ण जडिबुटिहरु पछिल्लो समयमा लोप हुन पुगेको स्थानीयहरुको भनाई छ । चितुवा, मृग, कालिज, भालु, दुम्सी, फ्याउरो, बाँदर स्याल लगायतका जङ्गली जनावरहरु पाईने भएकाले पर्यटकलाई थप आकर्षित गर्न सक्छन् ।

हाँडिकोटलाई पर्यटकीय क्षेत्र निर्माणको लागि जैमिनी नगरपालिकाले केही चासो देखाएको छ, तर बजेटको अवस्थालाई हेर्ने हो भने अवस्था अत्यन्त दयनीय छ ।

खास गरि ब्यार्थलादेखि हाँडिकोट शिरसम्म पुग्नको लागि पैदल मार्ग ९दुई घण्टा ०को परिकल्पना गरिएको छ, तर ४ वर्षको अवधिमा बनेको पैदल मार्गको अवस्थालाई हेर्ने हो भने केही खुड्किला मात्र निर्माण गरिएको छ । बाग्लुंग कुस्मिसेरा देखि करिब ४ घण्टा लाग्ने उक्त स्थानमा पर्यटकका लागि उचित पदमार्ग निर्माण गर्न सकियो भने पक्कै हाँडिकोटले कोल्टे फेर्ने छ ।

वडा अध्यक्ष नरबहादुर थापाका अनुसार खासमा वडाले हाँडिकोटको लागि केही पनि योजना बनाएको छैन । दुई वर्ष अघि २ लाख रुपैयाँ वडाले विनियोजन गर्यो, त्यसपछि भने नगरपालिकाले विनियोजन गर्न थालेपछि वडाले बजेट विनियोजन गर्न छाडेको थापाले बताए ।

हाँडिकोट आफैमा सुन्दर र रमणीय स्थान हो । राम्रो प्रचार प्रसार हुन सक्यो भने केही वर्षमानै पर्यटकहरुको आकर्षणको केन्द्र बिन्दु बन्नसक्छ । त्यहाँबाट देखिने सूर्यादय, आधा दर्जन हिमश्रृखला, जगली जनावहर हेर्न पर्यटकहरु अवश्य पुग्नेछन् ।

त्यसबाहेक पूर्वाधार समयमा नै निर्माण गर्नु पर्ने आवश्यकता देखिन्छ । तर पदमार्ग निर्माण गर्दा त्यहीँको सेलेट ढुङ्गा, काठको प्रयोग गर्न सके स्थानीय श्रोतको प्रयोगले स्थानीयको आयमा वृद्धि गराउनेछ ।

भ्यू टावरको विकल्पमा त्यहाँको संस्कृति झल्किने, विगतमा तामा खानीमा काम गर्ने मज्दुरहरुको कष्ठकर जीवन झल्किने गरि काठको संग्राहलय निर्माण गर्न सके त्यो पर्यटकको लागि थप आकर्षणको केन्द्र बन्न सक्छ ।

साथै, त्यही हाँडिकोटमा केही वर्ष पहिले हेलिकप्टर दुर्घटना पनि भएको थियो त्यसलाई पनि संग्राहलयको रुपमा विकास गर्ने योजना बनाए कसो होला ! पदमार्ग निर्माण , पर्यटकलाइ बिसेस सुबिधा , होमस्टे निर्माण गर्ने हो भने प्रचुर सम्भावना रहेको छ ।

साथै हाँडिकोट बाट नजिकै रहेको प्रसिद्ध माइकोस्थान मन्दिर बाग्लुङ्ग र जैमिनी नगरपालिकाको पर्यटकीय र धार्मिक स्थलले पनि महोत्वपूर्ण स्थान मानिएको छ । विभिन्न संघ सस्था , स्थानीय , मन्दिर ब्यबस्थापन समिति , वडा , नगरपालिकाले निकै चासो देखाएपनि प्रचार(प्रसारको अभाबमा ओझेल परेको छ । बाग्लुङ्ग कुस्मिसेरा र जैदी हुदै पदमार्ग निर्माण गर्न सकियो भने महोत्वपूर्ण स्थानको रुपमा विकास गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता मात्रै यहाँको परिचय होइन । रोचक प्राचीन इतिहास पनि यो ठाउँसँग जोडिएको छ । प्राचीन २२र२४ राज्यमा प्रयोग भएका अवसेस तथा मन्दिरको आफ्नै विशेषता छ ।

स्थानीय स्थर तथा राज्य बाट संरक्षण र प्रबर्द्धनमा कसैको ध्यान केन्द्रीकृत भएको पाइदैन । एदि यो उचित ब्यस्थापन र प्रचार प्रसार गर्न सकियो भने पक्कै जैमिनी बासिका लागि खुसिको कुरा हुने छ ।

नजिकै रहेको प्राचीन ढुङ्गा मा रानीले बसेर कपाल कोर्ने र उक्त ढुङ्गाको उचित ब्यबस्थापन र संरक्षणका लागि कतैबाट पहल भएको छैन । प्राचीन इतिहासको राज्य र त्यसको पुरातात्विक वस्तुहरुको प्रबर्दन र संरक्षण गर्न सबैले पहल गर्नु पर्ने देखिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका