थम्मन थापा, बागलुङ, ४ असार । महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नं ७ मल्मले वडा भित्रका १४ वटा महिला समुहलाई विभिन्न सामग्री वितरण गरेको छ । केन्द्रले नगद रु ४२,००० बराबरको १४ वटा स्प्रेयर पम्प र ४५,००० बराबरको ताराखोलाको आलु वितरण गरेको अध्यक्ष ललित थापाले जानकारी दिनुभएकाे थियाे ।
प्रति समुहलाई १० पाथी आलु वितरण गरिएको अध्यक्ष थापाले बताउनुभएकाे थियाे। महिला समूहमा आबद्ध दिदीबहिनीहरुलाई कृषि आधुनिकीकरणमा जोड्दै समृद्ध बनाउन केन्द्रले उक्त कार्य गरेको बताइएको छ । विभिन्न किटनाशक औषधी छर्न कृषकहरुलाई सहज होस भन्ने उद्देश्यले स्प्रेयर सेट सहयोग गरिएको केन्द्रका सचिव सरस्वती केसीले बताउनुभएकाे थियाे ।
आर्थिक वर्ष २०७६र०७७ मा गलकोट नगरपालिका द्वारा महिला शीर्षकमा रु ७५ हजार बजेट विनियोजन गरिएको थियो । महिला जागरण केन्द्रको भवन तल्लो सिरबारेमा आयोजित बैठकले आगामी आर्थिक वर्षको बजेटमा भकारो सुधार, बाख्राको खोर सुधार, कृषि औजार तथा उपकरणहरू खरिद, सामूहिक फूल खेती गर्नको निमित्त गलकोट नगरपालिकामा माग गर्ने निर्णय समेत गरेको छ ।
केन्द्रले विभिन्न समयमा स्थानीय स्तरमा महिलाको हक हित अधिकार सँगै सामाजिक क्रियाकलापहरू गर्दै आइरहेको छ । त्यस्तै अपाङ्गता भएका ब्यक्तिहरुको लागि कुखुरा पालनको विशेष प्याकेज समेत निर्माण गरिएको छ । उनीहरुलाई कुखुरा पालन मार्फत आत्म निर्भर बनाउँदै आर्थिक समृद्धि तर्फ अगाडि बढाउने कार्यक्रम तय गरिएको बताइएको छ ।