चितुवा आक्रमणबाट ज्यान गुमाएकी तनहुँ निवासी पुष्पाको परिवारलाई राहत प्रदान–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • चितुवा आक्रमणबाट ज्यान गुमाएकी तनहुँ निवासी पुष्पाको परिवारलाई राहत प्रदान

चितुवा आक्रमणबाट ज्यान गुमाएकी तनहुँ निवासी पुष्पाको परिवारलाई राहत प्रदान

चितुवा आक्रमणबाट ज्यान गुमाएकी तनहुँ निवासी पुष्पाको परिवारलाई राहत प्रदान

दमौली, २७ जेठ ।  चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ ।

बरालले चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा रु एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको शुक्रबार राति मृत्यु भएको थियो । बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा लिन सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको ३० जनाको टोली खटिएको छ । बरालले भन्नुभयो, “उक्त टोलीले बेलुकाको समयमा चितुवाको खोजीकार्यलाई तीव्रता दिएको छ । चितुवा नियन्त्रणमा लिन सक्दो प्रयास गर्नेछौँ ।”

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ । विसं २०७४ फागुन १ गते नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल र मङ्सिर १५ गते नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

समवेदना व्यक्त
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ । आइतबार मृतकको घरमा पुगी वरिष्ठ नेता पौडेलले मृत बालिकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दैै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । सो अवसरमा पौडेलले बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि सम्बन्धित निकायलाई सचेत गराइसकेको बताउनुभयो ।(रासस)

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका