३०० भन्दा बढी मानिस लुकीछिपी नेपाल भित्रिए–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • ३०० भन्दा बढी मानिस लुकीछिपी नेपाल भित्रिए

३०० भन्दा बढी मानिस लुकीछिपी नेपाल भित्रिए

३०० भन्दा बढी मानिस लुकीछिपी नेपाल भित्रिए

काठमाडौ, ७ जेठ । भारतीय सीमामा अलपत्र अवस्थामा रहेका नेपाली मुख्य नाकाबाट आउन नपाएपछि आसपासबाट लुकीछिपी भित्रिन थालेका छन् । नेपाल प्रवेश गरेका उनीहरुलाई स्थानीय सरकार, प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीले नजिकको होल्डिङ सेन्टर र क्वारेन्टिनमा सुरक्षित किसिमले पुर्याउने काम भइरहेको कोरोना सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। उनका अनुसार झापाको केचना, टाघनडुब्बा र काँकडभिट्टा, गौरीगञ्जबाट नेपाली आउन शुरु गरिसकेका छन् । लुकीछिपी आउनुपर्ने बाध्यता सिर्जना हुनुभन्दा वैधानिकरुपमा नेपाल ल्याइन सुरक्षित हुनेहुँदा पहल गरिरहेको संयोजक पोर्तेलको भनाइ छ ।

पाँच दिनयता यी नाकाबाट ३०० भन्दा बढी नेपाली आइसकेका छन् । उनीहरुलाई स्थानीय क्वारेन्टिन र होल्डिङ सेन्टरमा सुरक्षित साथ राखिएको छ । मङ्गलबार साँझसम्ममा मेचीनगरको काँकरभिट्टा आसपासबाट १३० जनाभन्दा बढी नेपाल प्रवेश गरेका छन् ।

झापासँग सीमा जोडिएको भारतको पश्चिम बङ्गाल र विहारका दशगजासम्म एक हजारभन्दा बढी नेपाली सम्पर्कमा छन् । वैधानिक ढङ्गले नाकाबाट ल्याउने प्रबन्ध नभएपछि उनीहरु राति र बिहान दशगजा पार गरेर नेपाली भूमिमा आउन थालेका हुन् ।

कचनकवलका गाउँपालिका विभिन्न सीमावर्ती क्षेत्रबाट १५०को हाराहारीमा नेपाली भित्रिसकेका छन् । जसमध्ये केचनाबाट भित्रिएका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । झापा गाउँपालिकाबाट मङ्गलबार ४७ र गौरीगञ्ज गाउँपालिकाबाट नौजना भित्रिएका छन् ।

सीमासम्म आइपुगेका नेपालीलाई वैधानिकरुपमा ल्याएर क्वारेन्टिनमा राख्न र उनीहरुको स्वास्थ्य परीक्षणको सही व्यवस्थापन हुन सकेन भने कोरोना फैलिने उच्च सम्भावना रहेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताए । उहाँले भन्नुभयो, “लुकीछिपी आउँदा कहाँ बस्ने र कहाँ जाने टुङ्गो नहुने भएकाले जोखिम बढी हुन्छ ।”

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका