तनहुँ, २० वैशाख । तनहुँको म्याग्दे गाउँपालिकाले प्रविधिको प्रयोग गरेर वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । गत फागुन २७ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन भएको कक्षा ८ को परीक्षा गाउँपालिकाले प्रविधिको प्रयोग गरेर प्रकाशन गर्न लागेको हो ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू गरिएपछि नतिजा प्रकाशनका लागि बाधा पुगेकाले वैशाख २४ गतेभित्र नतिजा प्रकाशन गर्ने गरी काम अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार लामो समयसम्म नतिजा प्रकाशित नहुँदा विद्यार्थी तथा अभिभावकमा अन्योलता छाएकाले नतिजा प्रकाशन गर्न लागिएको हो । कक्षा ८ मा ३८२ विद्यार्थीले परीक्षा दिएका थिए ।
गाउँपालिकाअन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयलाई पनि कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गर्न अनुरोध गरिएको छ । नागिलाका अनुसार सरकारले घोषणा गरेको बन्दाबन्दीको विधि र प्रक्रियालाई पूर्णरूपमा पालना गर्दै प्रविधिको माध्यमबाट नतिजा प्रकाशन गरी विद्यार्थीसमक्ष पुर्याउन आग्रह गरिएको छ ।
“बन्दाबन्दी अझै कति दिनसम्म रहन्छ भन्ने निश्चित छैन, लामो समयसम्म नतिजा प्रकाशन नहुँदा विद्यार्थी पनि अन्योल अवस्थामा छन्”, उहाँले भन्नुभयो, “सूचना प्रविधिको अधिकतम उपयोग गर्दै नतिजा प्रकाशन गर्न सबै विद्यालयलाई पत्राचार गरिसकेका छौँ ।”
गाउँपालिकाअन्तर्गत ३५ विद्यालय छन् । जसमध्ये नौ माध्यमिक विद्यालय, चार आधारभूत विद्यालय र २२ प्राथमिक विद्यालय छन् । “नतिजा प्रकाशन भएपछि विद्यालयले विद्यार्थी तथा अभिभावकलाई इमेल, इन्टरनेट, मोबाइलमार्फत नतिजाको जानकारी दिनेछन्”, उहाँले भन्नुभयो ।