राष्ट्रिय युवा संघ पर्वत र अनेरास्ववियु पर्वतले सयुक्त रुपमा गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविका पार्जनका लागि खाद्यन्न वितरण गरेको हो । मंगलबार युवा नेता विराज हमालको नेतृत्वमा महाशिला गाउँपालिका वडा न ५ लंखुदेउरालीमा ज्यालामजदुरी गर्ने ५१ घर परिवारलाई घरमै पुगेर चामाल, दाल, तेल, नुन वितरण गरिएको हमालले जानकारी दिनुभयो ।
यो विपतको समयमा मजदुर गरेर जिविको पार्जन गर्नेहरुलाई थोरै भए पनि सहयोग पुग्ने हेतुले खाद्यन्न सहयोग गरेको हमालले बताउनुभयो । युवा संघ र अनेरास्ववियुको घोषणा अनुसार विभिन्न ब्यक्तिहरुको सहयोगमा संकलन भएको खाद्यन्न सहयोग गरिएको युवासंघका नेता नविन मल्लले बताउनुभयो । राहत वितरणमा अेरास्ववियुका सन्तोस सुनाम र जिवन अधिकारीको पनि सहभागिता रहेको थियो ।