पाेखरा, ७ फागुन । अहिले पनि समाजमा आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास गरिन्छ । आँखाको फरफराई महिला र पुरुषमा अलग–अलग तरिकाले हुने विश्वास गरिन्छ।
समाजमा पुरुषको दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मानिन्छ । महिलाको देब्रे आँखा फरफरायो भने शुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ ।
तर,आँखा फरफराउनु पूर्णत वैज्ञानिक कारणसंग जोडिएको छ । यसमा आँखाको परेला फरफराउँछ। यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ।
कसै कसैमा भने हप्तौंसम्म पनि जारी रहनसक्छ । अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो परेला पनि फरफराउने गर्छ।
यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ। यो कुनै गम्भीर समस्या भने होइन ।