संरक्षण नहुँदा जाजरकोटका ऐतिहासिक देवलहरु बन्दै गए जीर्ण – Samacharpati Samacharpati संरक्षण नहुँदा जाजरकोटका ऐतिहासिक देवलहरु बन्दै गए जीर्ण – Samacharpati
Samacharpati
बुधबार, फाल्गुन १९, २०७७
  • होमपेज
  • संरक्षण नहुँदा जाजरकोटका ऐतिहासिक देवलहरु बन्दै गए जीर्ण

संरक्षण नहुँदा जाजरकोटका ऐतिहासिक देवलहरु बन्दै गए जीर्ण

संरक्षण नहुँदा जाजरकोटका ऐतिहासिक देवलहरु बन्दै गए जीर्ण
 हेमन्त केसी जाजरकोट, २६ पुस । नेपाल भ्रमण वर्ष २०२० शुरु भइसकेको बेला पर्यटक आकर्षण गर्ने जाजरकोटका ऐतिहासिक देवलहरु भने जीर्ण बन्दै गएका छन् । तेह्रौँ शताब्दीमा निर्माण गरिएका यस क्षेत्रका देवल मर्मततर्फ कसैले ध्यान नदिँदा यसको भविष्य सङ्कटमा पर्दै गएको छ । छेडागाड नगरपालिका–८ घोगी पजारु, जुनिचाँदे गाउँपालिकाको लुहादहका चैत्य गुम्बा संरक्षणको अभावमा जीर्ण बनेका छन् । भेरी नगरपालिका–१ शिवालयका पुराना मन्दिर सरोकारवालाको चासो नहुँदा कमजोर बनेका छन् । आकर्षक र ऐतिहासिक ती देवल, मन्दिर संरक्षणमा सरकारले चासो नदिँदा ओझेलमासमेत परेको गुनासो गरिएको छ ।
तेह्रौँ शताब्दीमा जाजरकोटमा भोटेहरुले शासन गरेको र उनीहरुले नै यी सम्पदा निर्माण गरेको जिल्लाको इतिहासबारे जानकार जनकबहादुर शाहीको भनाइ छ । ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक देवल संरक्षणको अभावमा मासिने खतरा बढेको छ । स्थानीयवासीले देवल क्षेत्र अतिक्रमण गर्दै गइरहेका छन् भने यसको मौलिकता र महत्व हराउने खतरामा पुगेको स्थानीयवासीको गुनासो छ । सदरमुकाम खलङ्गा र अन्य शहरी क्षेत्रबाट ती क्षेत्रमा पुग्न सहज मार्ग नहुनु र देवल क्षेत्रको पुनःनिर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेकाले देवल क्षेत्र ओझेलमा परेको स्थानीयवासी रेशमबहादुर खड्काले बताउनुभयो । सडक पहुँच र अन्य आवश्यक पूर्वाधारको निर्माण नहुँदा महत्वहीनजस्तै बनेको ती सम्पदाको संरक्षण र प्रचारमा सरोकावालाले उचित ध्यान र चासो दिए जिल्लाकै दर्शनीय पर्यटकस्थल बन्न सक्ने वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताउनुभयो ।
जाजरकोटका अन्य पर्यटकीय क्षेत्रभन्दा बढी सुन्दरता, कला, सामाजिक महत्व र ऐतिहासिकता झल्काउने यी देवल रहेको क्षेत्रमा पर्यटक पुग्न आवश्यक पूर्वाधार तयार नभएको उहाँले बताउनुभयो । भेरी नगरपालिका–१ शिवालयका ऐतिहासिक पृष्ठभूमि बोकेका मन्दिरको संरक्षण नहुँदा इतिहास नामेट हुने चिन्ता बढेको छ । पटक–पटक गरी स्थानीय सरकार र पर्यटन बोर्डले करीब रु १० लाख रकम विनियोजन गरेको भए पनि त्यसको सदुपयोग हुनसकेको छैन । सामान्य घेराबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधारका काम भएको छैन ।
पजारुस्थित तीन रोपनी जग्गाको १३ देवलको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जो–कोहीलाई मोहित पार्छ । छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महताराले पजारुको घोगीस्थित चैत्य गुम्बा क्षेत्रको संरक्षण र प्रवद्र्धनतर्फ आफूहरुले विस्तृत योजनाको तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जाजरकोटकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा रहेको पजारुको घोगीस्थित देवल क्षेत्र पुग्न सडक पुर्याउने पहल भइरहेको छ, जिल्लाकै पर्यटन विकासमा टेवा पुग्ने पजारुको देवल संरक्षण र प्रचार गर्न सबै लाग्नु पर्दछ ।”

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका