जीतपुरसिमरा उपमहानगरपालिमा बेरुजुको चाङ,फछ्र्योटमा ध्यान गएन–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • जीतपुरसिमरा उपमहानगरपालिमा बेरुजुको चाङ,फछ्र्योटमा ध्यान गएन

जीतपुरसिमरा उपमहानगरपालिमा बेरुजुको चाङ,फछ्र्योटमा ध्यान गएन

जीतपुरसिमरा उपमहानगरपालिमा बेरुजुको चाङ,फछ्र्योटमा ध्यान गएन
शङ्खर पहाडी निजगढ, २३ पुस । महालेखा परीक्षकको कार्यालयले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रु दुई करोड ७४ हजार बेरुजु देखिएको भन्दै चासो बढाएको छ । महालेखाले आर्थिक वर्ष २०७४÷७५ मा पदाधिकारीको तलबभत्तादेखि ठेकेदारसँग असुलउपर गर्नुपर्नेसम्मका रकम आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । महालेखाले विसं २०७५÷७६ को लेखा परीक्षणमा हिसाब मिलान गर्न पुनः पत्राचारसमेत गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले जानकारी दिनुभयो ।
उहाँले महालेखाको टोली स्थलगत अध्ययन र अनुगमनका क्रममा रहेको हुँदा स्थानीयस्तरमा समपरीक्षण गर्न अनुरोध गरिएको बताउनुभयो । महालेखाको प्रतिवेदनअनुसार सबैभन्दा बढी पदाधिकारीको तलबभत्तामा रु १८ लाख बेरुजु देखिएको छ । आफैँले कानून र कार्यविधि निर्माण गरी लिएको सेवा–सुविधा फिर्ता गरेका छैनन् । महालेखाबाट सेवा सुविधा फिर्ता गर्न पत्राचार समेत भएको बताइन्छ । यसैगरी विद्यालयका नाममा समेत रु नौ लाख ७४ हजार ९६८ बेरुजु देखिएको छ । विद्यालयलाई समेत बेरुजु फछ्र्योटका लागि पत्राचार गरे पनि विद्यालयलबाट उपमहानगरले सो रकमको फछ्र्योट र फरफारक गर्न नसकेको बताइएको छ ।
यस्तै विभिन्न विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा बढी विद्यार्थी सङ्ख्या देखाएर लगेको छात्रवृत्ति रकमको रु ६८ हजार ४०० समेत उपमहानगरले फिर्ता गराउन सकेको छैन । जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीले शिक्षिकाबाट राजिनामा दिएपश्चातसमेत पर्व खर्च भन्दै रु २२ हजार १७० कार्यरत रहेको विद्यालयबाट भुक्तानी लिएको पाइएको छ । हालसम्म उपमेयर चौधरीले फिर्ता नगरेको बुझिएको छ । उपमेयर निर्वाचित भएपश्चात चौधरीले आफू कार्यरत विद्यालयबाट दशैँ खर्चवापत एक महिनाको सेवासुविधा लिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत सेढाईंले जनप्रतिनिधि माथि बेरुजु रकम देखिए असुल गरिने बताउनुहुन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका