पसगाउँ : मौलिकताको पहिचान – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

पसगाउँ : मौलिकताको पहिचान

प्रल्हाद चन्द्र घिमिरे । कहिलेकाँही अपरझट बनेको योजना, निकै यादगर हुन्छ, यात्रा निकै रमाइलो हुने गर्दछ । जेठ ३ गते परिवारको साथमा नेपाली चलचित्र हेर्न पोखराको एक सिनेमाहल गएको थिए । त्यहिबेला पोखराका पत्रकार युवराज श्रेष्ठसंग भेट भयो । फिल्म संगै हेर्यौ । युवराज दाईले भन्नुभयो – भोली पसगाउँ जाने कार्यक्रम छ, जाने हो ? कत्तिको फुर्सद छ ? पसगाउँको बारेमा जानकारी भएपनि मलाई जाने मौका मिलेको थिएन । उपत्यका बाहिर ननिस्केको पनि धेरै भएको थियो । रिफ्रेस पनि हुन्छ भन्ने सोचे र तुरुन्तै जाने निणर्य गरे । जाने कुरा भयो, तर कार्यक्रम के, कतिबेला जान,े केहि जानकारी भएन । दाईले भोलीपल्टै बिहान फोन गर्नुभयो र छिटो छिटो गरेर म तयार भए ।

पोखराबाट बस अघि बढ्यो । बेगनासताल, करापुटारको रामबजार हुदै रुदी दोभानबाट बस उकालो लाग्न थाल्यो । यतिबेला सम्मको यात्रा मेरालागि सामान्य नै थियो । बेलाबेला यो बाटोमा मेरो यात्रा तय हुने गर्दछ । किनकी मेरो घर नै करापुटार हो । घर करापुटार भएपनि नजिकैको पसगाउँ जाने वातावरण बल्ल मिलिरहेको छ । पसगाउँमा नवौ पसगाउँ महोत्सब सुरु हुदै रहेछ, सोचीरहेको थिए केहि विशेष त पक्कै छ किनकी गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडी पनि सोहि बसमा हुनुहुन्थ्यो । २०६० सालबाट पसगाउँमा महोत्सब हुदै आएको रहेछ । बैशाखको पुर्णीमा पसगाउँमा सति घाँटु पनि हेर्न पाईने भयो । सबै कुरा बसमा थाहा भयो ।

रुदीमा निकालेको विद्युतगृह हेर्दै कच्चिबाटो । शारिरिक रुपमा जति असहज महशुस थियो मानशिक रुपमा चित्रमा देखेको पसगाउँ कस्तो होला भन्ने उत्सुकता थियो । बसमा नै थाहा पाए की पसगाउले कति फरसिला, रशिला र हँसिला हुन्छन भन्ने । त्यसले पनि पसगाउँ कतिबेला पुगिएला भन्ने सोचिरहेको थिएँ । अझै बाटोमा पसगाउँलेहरुले लालीगुराँस, काफलका कुरा गर्दा मुखमा पानी आईसकेको थियो । एक जना दाईले भन्नुभएको थियो , अहिले असिनाले सब खत्तम पार्यो भाई । असिनाले क्षति पुगेको समाचार पढेपनि मध्ये नेपालको कल्याणबेसीमा मकैको अवस्था देखेपछि मुख चुकचुकाउदै अघि बढीरहेका थियौँ ।

यो वर्ष लमजुङका धेरै ठाउँमा असिनाले क्षति पुर्याएको छ । मनमा बेचैनी भयो र दाईलाई उत्तर फर्काए, – गाउँमा काम गर्ने कोही छैनन् भएकाले गरेको खेती पनि यस्तो बनाईदिएपछि कसो गर्ने । बिहान ७ बजे पोखराबाट हिडेको बस दिउसो करीब १ बजे पसगाउँ पुग्यो । बसबाट झर्न नपाउदै चामलकोे सेतो टिका अनि हातमा फुलको थुङ्गा, उता बाजा बजिरहेको थियो । यहि त हो हाम्रो संस्कृति, यहि त हो संस्कार, आतिथ्य सत्कार माया र पाहुनाको सम्मान आफ्नै मनले आफैलाई भन्दै थियो ।

पसगाउँलेसंग बाजाको तालमा ढुङ्गैढुङ्गाको सिढि चढेर वडा कार्यलय भएको ठाउँमा पुगियो, वडा कार्यलय भए नजिकै औपचारीक कायर्मक्रम राखिएको रहेछ । ब्यानरमा लेखिएको थियो नवौ पसगाउँ महोत्सब, समुद्घाटन कार्यक्रम । कार्यक्रमको ब्यानर नै च्यात्नेगरि हावा चलिरहेको थियो । बिस्तारै पानी पर्दै थियो । आजको बसाई भनेझै नहोला जस्तो छ, सोचीरहेको थिए । केहि समय त हामीलाई चिसो स्याठले सेक्नु सेक्यो । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले पसगाउँको बारेमा मलाई जानकारी गराईरहनुभएको थियो । संगै रहेका पसगाउलेसंग कुरा गर्दै आफुलाई चाहिने सामाग्री तयार पार्न लागिरहनुभएको थियो । लाग्यो आस दाई र ति बुबा बिच अन्तरवार्ता चलिरहेको छ । बुबा ४० वर्ष पछि पसगाउँ फर्कनुभएको रहेछ ।

पहिलेपहिलेका अनुभव सुनाउदै थिए । औपचारीक कार्यक्रम सुरु भयो । वक्ता सबैका कुराको सार लगभग एउटै थियो । हामी कहाँनेर चुक्यौँ, किन हामीले आशातीत विकास गर्न सकेनौँ ? हुन पनि पसगाउँमा २०६० सालमा प्रथम पसगाउँ महोत्सब भएको रहेछ । म जादाँ बल्ल नवौँ महोत्सबको ब्यानर देख्दै थिएँ । अब पसगाउले जाग्ने छन् । विकास सुरु भएको छ पसगाउँमा । गाउँमा बस पुगेको धेरै भएकै छैन । विकासको पुर्वाधार हो सडक । गाउँमा सडक पुगेसंगै पसगाउलेको उत्साह पनि निकै बढेको देखिएको छ । पसगाउँ पर्यटन विकास समितिका अध्यक्ष बलराम गुरुङले मसंग भन्दै थिए अहिलेसम्म के के भयो के के, अब तपाई अर्कोपटक आउँदा केहि न केहि फरक देख्नुहुन्छ बाबु । गुरुङ बुबाका कुरा सुनेपछि मेरो पनि मनमा रमाइलो लाग्यो । किनकी मलाई पनि फेरी आउन मन छ पसगाउँ ।
वास्तबमा पसगाउँ रमणीय छ । पसगाउँलेहरु इमान्दार छन् ।

समुन्द्री सतहबाट करीब १ हजार ६ सय ५० मिटरको उचाइमा रहेको पसगाउँ पुग्दा अहिले पनि पुराना घर, बस्ती र बाटाहरु, पुरानो रहनसहन अनि आफ्नोपन जोगाईरहेकाछन् पसगाउलेहरुले । म पसगाउँमा पुग्दा बैशाख पुर्णीमा परेको थियो । अन्य ठाउँमा भन्दा फरक तरिकाले नाचिने सतिघाँटुमा ७ कक्षामा पढ्ने २ नानीहरु नाचिरहेका थिए । नाच्नेमध्येकी एक निस्मासंग मैले सोधेको थिए – सतिघाँटुमा लठ्ठै परेर नाच्दा बढी गाह्रो हुन्छ की बेसीबाट उकालो चढेर गाउँ आउदा गाह्रो हुन्छ । लजाउदै निस्मा आफ्ना अभिभावकतिर हेर्दै बेसीबाट गाउँ उकालो चढ्न बरु गाह्रो लाग्छ नाच्न खासै गाह्रो लाग्दैन भनेकी थिईन् । निस्माले अझै अर्को वर्ष घाटुनी बन्नुपर्नेछ । किनकी ३ वर्ष ५ वर्ष घाटुनी नचाउने चलन छ पसगाउँमा । त्यसैले उनी अर्को वर्ष पनि घाँटु नाच्नेछीन् । रजश्वला नभएको, शरिरमा कुनै चोटपटक नलागेको, सर्प लगायतका जिवले नडसेको कन्या केटीलाई सति घाँटु नचाईन्छ । त्यसैले पनि होला निस्मा र उनको साथीलाई स्कुलमा साथीहरुले घाटुनी भनेर जिस्काउदा पनि रमाईलो लाग्दो रहेछ । उनका कुरा सुनेपछि मलाई घाँटुको पुस्ता हस्तान्तरणको बारेमा जान्ने रहर लाग्यो । घाँटुका गुरु ९३… छन् । अरु ४ जना उनलाई साथ दिईरहेका छन् ।

अहिलेसम्म पसगाउँमा यीनै… छन् र घाँटु बाँचेको छ । अबका पुस्ताले यसलाई कसरी गहण गर्लान् प्रश्न चिन्ह छ । क्व्होलासोथर गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष ……सहित अरु ३ जनाले घाँटु गाइरहेका छन् । भाका र लय सिक्न निकै मुस्किल परेको सुनाउछन् । यद्यपी घाँटुका हरफहरु उनिहरुले कापीमा उतारेका छन् ताकी यो दस्तावेज पछिसम्म रहिरहोस् । सति घाँटुसंगै पसगाउँमा कुसुण्डा घाँटु पनि नचाईन्छ । सोरठी, घ्याब्रे, सारंगी लगायतका नाचले जो कसैको मनलाई मोहनी लगाएको हुन्छ । परम्परागत हस्तकलामा पसगाउले निकै धनी छन् । पसगाउलेहरु सिस्नो र अल्लोवाट बुनेका झोला, भाङ्ग्रा, स्टकोट लगायतका सामान बनाउछन् । आउने पर्यटकहरुलाई कोशेलीको रुपमा दिने गर्छन् । तर उनिहरुका यी उत्पादनले बजार देखेका छैनन् । सरकारले पसगाउँलेका सामानको प्रचारमा सहयोग गरे अझै कस्तो हुन्थ्यो होला है । कार्यक्रममा मलाई अल्लोबाट बनेको स्टकोट लगाईदिदै गर्दा मेरो मनमा यस्तै कुरा खेलीरहेको थियो । पोखरा बसीरहेको म पसगाउँमा पुग्दा उत्तरतिर हेरीरहेको थिएँ ।

मेरा आँखाले हिमाल खोजीरहेको थियो तर पसगाउँबाट हिमाल नदेखिने रहेछ । तर हिमाल नदेखिएपनि पसगाउलेहरुको रहनसहन र परम्परागत शैलीले हिमाल खोज्ने आँखा उनिहरुतीरै केन्द्रीत गरिदिन्छ र हिमालले दिने शितलता भन्दा बढी शितला अनि मनमा शान्ति दिन्छ । पसगाउँमा होमस्टे पनि छ । आफ्नै ठाउँमा उत्पादीत खानेकुरा पाहुनालाई पस्कन्छन् उनीहरु । २ सय घरधुरी रहेको पसगाउँमा अहिले २०÷२२ घरमा होमस्टे छ । एक रातमा ५० जना राख्न सक्ने उनिहरु बताउछन् । होमस्टे बिस्तार र प्रचारप्रसार हुदैछ । आशा छ, अर्कोपटक जाँदा पसगाउँ निकै परिवर्तन हुनेछ । बिहानै घामको उदयसंगै आँखाभरी पसगाउँ र मनभरी पसगाउँलेलाई राखेर हामी पोखरा फर्कियौँ । गाउँमा सडक पुगेको छ सबैको आशा पसगाउँ विकास हुनेछ, तर गाउँमा सडक पुगेपनि पर्यटन विकासका लागि गुरुङ हेरिटेज ट्रेलको विकास आवश्यक देखिएको छ । वास्तविक गुरुङ को हुन् ? यीनिहरुको संस्कृति कस्तो छ, रहनसहन र बस्तुस्थिति बुझ्नलाई यो पदमार्ग निकै प्रभावकारी हुने देखिन्छ । बेशिसहरबाट ४ दिनको यात्रा हरेक दिन गुरुङको घरमा बस्दै गर्दा त्यसको वास्तविकता बल्ल थाहा पाउन सकिन्छ । लमजुङको बेशिसहरबाट घलेगाउँ, भुजुङ, पसगाउँ हुदै पोखरा फर्कन सकिन्छ । यसको लागि प्रदेश सरकारले बजेट छुट्याएको कुरा गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीले सुनाउनुभयो ।

यो कुरा सुन्दा निकै खुसी लाग्यो । अब यो योजना सफल भयो भने पसगाउँलेलाई पर्यटक स्वागत गर्न भ्याईनभ्याई हुनेछ । यति भन्दै गर्दा परम्परागत कृषि प्रणालीबाट पसगाउलेहरु व्यवसायीक बन्न भने जरुरी देखियो । सरकारले आन्तरीक भ्रमण वर्ष मनाउदै छ । हामी नेपालीहरुलाई पनि बिस्तारै घुम्ने इच्छा जाग्दैछ । नयाँ नयाँ ठाउँमा जान नेपालीहरुको रुचि बढ्दैछ । नेपालका हरेक ठाउँ तपाई हाम्रा लागि घुम्न योग्य छन् । हरेक १० किलो मिटरमा फरक जातजाती, भाषा र संस्कृति पाउने नोपालमा घुम्नको लागि थुप्रै ठाउँ छन् तर एक पटक तपाई घलेगाउँ, भुजुङ र पसगाउँ जानुस भन्ने मेरो सुझाव हो । हुन त मलाई औधि मन परेको ठाउँ तपाईलाई मन पर्छ भन्ने छैन , मात्र मेरो सुझाव हो । अन्त्यमा घलेगाउँ, भुजुङ, पसगाउँ वा अरुनै गन्तव्य जहाँ हुन्छ, जाऊँ, सरकारले घोषणा गरेको आन्तरीक भ्रमण वर्ष मनाऊँ । धन्यवाद ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित