प्रल्हाद चन्द्र घिमिरे, पोखरा, ८ कार्तिक । नेपालीहरुको महान चाड तिहार अर्थात दिपावली सुरु भएसंगै पोखराको बजारमा चहलपहल सुरु भएको छ । बजारमा तिहारका लागि आवश्यक पर्ने सरसामान किन्नको लागि सर्वसाधरणको घुईचो लागेको छ भने व्यापारीहरुलाई सामान बेच्न भ्याईनभ्याई भएको छ ।
झिलिमिली पर्वको रुपमा लिईने तिहारको अवसरमा विशेष गरि भाइपोका, रंग, रग्यौली, माला, तामा र चाँदीका भाँडा, ढाका टोपी लगायत कपडाका पसलमा बढी पोखरेलीको भिड देखिएको छ ।
तिहारमा विशेष गरि दिदी भाईले टिका लगाएपछि उपहार लिनेदिने परम्परा रहेको छ । तिहारमा भाईपोकाको पनि निकै महत्प पाइएको । तिहारको मौकामा पोखराका विभिन्न डिपार्टमेण्टल स्टोर देखि सामान्य सडकको पेटीमा यतिबेला भाईपोका, ओखर, रंग, झिलिमिली बत्ती लगायतका तिहार बिशेष सामाग्री देख्न पाईन्छ ।
तनहुँको बन्दीपुरकी सर्मिला थापाले यस वर्ष पहिलो पटक भाईपोका बनाएर बेच्दै हुनुहुन्छ । पोखराको चिप्लेढुङ्गामा भेटिनुभएकी थापाले अरु बेलामा कुर्ताको व्यापार गर्दै आउनुभएको छ, तर अहिले पहिलो वर्ष कस्तो हुदो रहेछ भनेर करिब ६० हजार लगानी गरेर भाइपोका बेचीरहनुभएको छ । थापाका अनुसार भाइपोकाको व्यापार सन्तोषजनक छ । उहाँले भन्नुभयो, “पहिलो चोटी भएकाले २ हजार पोका बनाएकी छु, राम्रै व्यापार भईरहेको छ ।”
थापा जस्तो सयौँ व्यापारीले सडकको पेटीमा बसेर व्यापार गरीरहेका छन् । यता पोखरामा करीब ३० वटा पुजा सामाग्रीका पसल छन् जसले लाखौँको भाइपोकाको कारोबार गर्दै आएका छन् ।
यसैबीच पोखरामा फुलका माला जस्तै कृतिम मालाको व्यापार पनि भईरहेको छ । पोखरामा करिब २५ लाखको कृतिम माला आउने गरेको पोखराको पालिखेचोकका एक व्यापारी रविन गुप्ताले बताएका छन् । उनका अनुसार तिहारको अवसरमा उनले १० लाखको कारोबार गर्ने अनुमान गरेका छन् ।
यसैबीच पोखराको बजारमा ढाका टोपीका पसलमा पनि सर्वसाधरणको भिड लागेको छ । पोखराको न्यूरोडमा रहेको पोखरा ढाका टोपीका संचालक कोकिल जोशीका अनुसार तिहारको अवसरमा १० देखि १५ लाखको ढाका टोपीको कारोबार हुने छ । जोशीले भन्नुभयो, “तिहारको बेलामा अरु समय भन्दा बढी नै बिक्रि हुने गर्दछ, सबै दिदी बहिनीहरुले दाजुभाईहरुलाई अनिवार्य टोपी दिने चलन भएकाले पनि ब्यापार बढी नै हुन्छ ।” तिहार लागेसंगै व्यापार गर्न भ्याई नभ्याई भएको जोशीले बताउनुभयो ।
यता तिहारको अवसरमा तामा र चाँदीका भाँडाको पनि उल्लेख्य व्यापार हुने गर्दछ । पोखराको चिप्लेढुङ्गामा रहेको दिपनिशान गिफ्ट एण्ड किचन कर्नरका संचालक पवन प्रजापतीका अनुसार तिहारको बेलामा आवश्यक पर्ने सामाग्रीको करिब १० लाखको कारोबार हुनेगरेको बताउनुभयो ।
यसैबीच पोखरामा तिहारको अवसरमा २ करोडको ५० लाख बढीको फुलको व्यापार हुने व्यवसायीहरुले बताएका छन् ।