वडा नं ९ मा लामखुट्टे खोज र नष्ट गर्ने अभियान | Samacharpati        
Home | About Us | Contact | Unicode |

वडा नं ९ मा लामखुट्टे खोज र नष्ट गर्ने अभियान

पोखरा, २० भदौ । पोखरा महानगरपालिका वडा नं ९ को आयोजना तथा स्वास्थ्य महाशाखाको सहकार्यमा डेँगु रोग सार्ने लामखुट्टे खोज र नष्ट गर्ने अभियान वृहत रुपमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले वडा को २४ स्थानमा करिब ५ सय जनशक्ति खटाएर डेँगु रोग सार्ने लामखुट्टे खोज र नष्ट गर्ने अभियानलाई वृहत रुपले सम्पन्न गरेको बताउनुभयो । उहाँले यस रोगको बारेमा जानकार हुदाहुँदै पनि यस बिषयप्रति चासो नराखेको कारण नियन्त्रणमा ल्याउन निकै कठिन भएको बताउनुभयो । यसका निम्ति सबै नागरिकहरुले बिशेष सचेत रहन जरुरी रहेको लामिछानेले अनुरोध गर्नुभयो ।

वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछाने सँगै सम्पुर्ण जनप्रतिनिधिहरुले अभियानको अनुगमन तथा निगरानी गर्नुभएको थियो ।
स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले वडा नं ९ सबैभन्दा डेँगु रोग प्रभावित क्षेत्र रहेको र करिब २ सय जना व्यक्तिहरुमा यस रोग देखा परेको जानकारी दिनुभयो । उहाँले एकदिनको कार्यक्रमले रोग निर्मुल पार्न सम्भव नहुने भन्दै नागरिकको स्वास्थ्यका लागि स्वंयमसचेत भई यस रोगबाट बच्ने उपायहरुमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

उहाँले डेँगु एक सरुवा रोग भएकाले यस रोग लागेमा ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने तथा छालामा रातो दाग को धब्बाहरु देखिने जस्ता लक्षण देखा पर्ने भन्दै यसबाट बँच्नको लागि पानी जम्ने स्थान, खुल्ला पानी टेयाङ्की, टायर, गमला जस्ता ठाँउमा पानी जम्न नदिने तथा शरिर सबै ढाकिने लुगा लगाउन सबैलाई आग्रह गर्नुभयो । शर्माले गत वर्ष करिब ६०० जना यस रोग बाट प्रभावित भएको र यस वर्ष पनि यो रोगले विकराल रुप लिएको हुँदा सुचेत हुनुपर्नेमा जोड दिनुभयो । उक्त अभियानमा प्रत्येक टोल बिकास संस्थाको नेतृत्वमा महिला समुह, युवा क्लब, नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित