शिक्षा दिवसको तयारीमा फेदीखोला गाउँपालिका, विद्यार्थीलाई दख्खल बनाउन वक्तृत्वकला | Samacharpati        
Home | About Us | Contact | Unicode |

शिक्षा दिवसको तयारीमा फेदीखोला गाउँपालिका, विद्यार्थीलाई दख्खल बनाउन वक्तृत्वकला

फेदीखोला, १९ भदौ ।  ४० औं राष्ट्रिय शिक्षा दिवसको पुर्वसन्ध्यामा फेदीखोला गाउँपालिका स्याङ्जाले बुधबार गुणस्तरीय शिक्षामा आइसिटीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिका अन्र्तगतका ७ वटा विद्यालयका सहभागिता रहेको प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालयका साकार बस्नेत प्रथम भएका छन । त्यसैगरि दामगाडे माध्यमिक विद्यालयकी अमृता गुरुङ द्वितीय भएकी छिन् भने तृतीय स्थानमा जनआदर्श माविका सविन पौडेल रहेका छन् । जनप्रिय माविका पृथ्वी क्षेत्रीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

प्रथम स्थान जित्न सफल बस्नेतले आइसिटीको बढ्दो उपयोगसँगै यसबाट सिर्जित हुन सक्ने नकरात्मक गतिवधीलाई रोक्न पनि शिक्षा आवश्यक रहेको बताएका छन् । आइसिटीको प्रयोगले नै शिक्षण सिकाईलाई प्रभावकारी, रोचक बनाउनुको साथै ज्ञानको दायरा फराकिलो बनाउने बस्नेतले बताएका छन् । त्यसैगरि द्वितीय छात्रा गुरुङले आइसिटीले विश्वलाई साँघुरो कोठामा परिवर्तन गरेको बताउँदै वर्तमान युगमा सिक्ने, टिक्ने र बिक्ने शिक्षा नै आइसिटी शिक्षा रहेको बताइन् । तृतीय स्थानकाछात्र सविन पौडेलले परम्परागत तथा घोकन्ते पढाई शैलीलाई विस्थापित गर्न शिक्षकहरुले प्रविधीलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।

सान्त्वना स्थानका विद्यार्थी पृथ्वी क्षेत्रीले विकसित देशहरु सुचना प्रविधीकै कारण अब्बल स्थानमा रहेको बताउँदै नेपालमा पनि आइटी प्रविधीलाई विस्तार गर्नुको विकल्प नरहेको बताए । कार्यक्रमका सहभागी विद्यार्थीले गाउँपालिकाले शैक्षिक क्षेत्र तथा विद्यालयमा सुचना प्रविधिमा विधामा गरेको प्रयासले आफूहरु धेरै लाभाविन्त भएको बताएका थिए । विद्यालयमा दक्ष आइटी शिक्षकको व्यवस्था, इन्टरनेट तथा इलाइब्रेरीको पहुँचले शिक्षण सिकाइमा उल्लेखनिय सुधार भएको तर्क प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका शिक्षा समिति संयोजक तथा अध्यक्ष घनश्याम सुवेदीले सहभागी विद्यार्थीले प्रतियोगितामा दिएको प्रस्तुतीले सुचना प्रविधिप्रतिको लगाब तथा खोज तीब्र रुपमा देखिएको बताएका थिए ।

सुचना प्रविधिले नै गर्दा अहिलेको पुस्ताका विद्यार्थीहरु शिक्षक भन्दा बढि अपडेट हुन थालेको अध्यक्ष सुवेदीको तर्क रहेको थियो । शिक्षकलाई प्रविधिमैत्री बनाई शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले एक शिक्षक एक ल्यापटप, शैक्षिक सफ्टवयर, विद्यार्थीसँग अध्यक्ष जस्ता कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले जानकारी दिए । गाउँपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको सहभागिता रहेको थियो ।
यसैबीच गाउँपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार सिद्धार्थ माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गर्ने भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित