जोडिनुहोस
  • होमपेज
  • त्रिशुली नदीमाथि बनाइएको पहिलो डबल लेनको ‘आर्क ब्रिज’ सञ्चालनमा

आर्थिक समाचार

त्रिशुली नदीमाथि बनाइएको पहिलो डबल लेनको ‘आर्क ब्रिज’ सञ्चालनमा

काठमाडौं, १५  साउन । मुग्लिनमा त्रिशुली नदीमाथि बनाइएको नयाँ पुल मंगलबारबाट सञ्चालनमा आएको छ । सडक विभागका अधिकारीहरुले यसलाई नेपालकै सबैभन्दा पहिलो दुई लेनको र लामो ‘आर्क ब्रिज’ भनेका छन् । नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । सडक विभागको पुल महाशाखाका अनुसार २ वर्षअघि नै बनिसक्नुपर्ने पुल ढिला गरी निर्माण सकिएर सञ्चालनमा ल्याइएको छ । नयाँ प्रविधिमा नेपाली ठेकेदारले नै काम गरेकोले यो पुल बनाउँदा ढिलाई भएर तीनपटक म्याद थप गर्नुपरेको थियो ।

मुग्लिनमा बनेको १६० मिटर लामो यो पुल राजमार्गमा बनेको पहिलो डबल लेनको आर्क ब्रिज हो । निर्माणमा केही ढिलाई भए पनि नेपालले यो पुलबाट पर्याप्त अनुभव हासिल गरेको सडक विभागको पुल सेक्टर नम्बर २ का प्रमुख अंगलाल रोकाय बताउँछन् । ‘यसको अनुभव पछिलाई काम लाग्छ,’ उनले भने, ‘४ वर्षभन्दा बढी समय लगाएर बनेको पुल निकै बलियो छ । यसले मुग्लिनको पुरानो पुलमा उत्पन्न जोखिम पनि पार लगाएको छ ।’

यो पुलको निर्माण इलाइट एड्भेन्चर लोहनी जेभीले गरको हो । यो नेपाली ठेकेदार कम्पनी नै हो । डिजाइन एन्ट मल्टि मोडलमा बनेको पुलको डिजाइन पनि नेपाली ठेकेदारले नै गरेका हुन् । यो पुलमा १२० मिटरको आर्क छ । आर्क ब्रिजको बीच भागमा पिल्लर राखिँदैन । पुलमा पर्ने भार आर्कले नै थेग्छ । पिल्लरको सट्टा पुलको दुईतर्फ अड्याउन प्रयोग हुने ‘अब्यटमेन्ट’ को क्षमता बढाइन्छ । पिल्लर नहुने भएकाले यस्ता पुलहरु नदीमा बाढी आउँदा भासिने लगायतका समस्या हुँदैन ।

करिब १२ करोड खर्चिएर मुग्लिनमा वैकल्पिक पुल तयार भएको विभागले जनाएको छ । केही वर्षअघि मुग्लिनको त्रिशुली नदीको माथिको पुलमा गम्भीर समस्या देखिएको थियो । पुलको पाताहरु फुस्किन थालेपछि नयाँ पुल बनाउने योजना विभागले अघि सारेको थियो । मंगलबार खुला भएपछि पृथ्वी राजमार्ग भएर चल्ने सबै गाडीले नयाँ पुलको प्रयोग गरिरहेका छन् । अबको दशैंपछि पुरानो पुललाई पनि मर्मत गरेर सञ्चालनका लागि योग्य बनाइने सेक्टर प्रमुख रोकायले बताए । ‘पोखराबाट आएका गाडीलाई नयाँ र मुग्लनबाट पारी पोखरातर्फ जाने गाडीलाई पुरानो पुल प्रयोग गराउने योजना छ,’ रोकायले भने, ‘समस्या देखिए पनि त्यसलाई हल गरेर चलाउँदा अझै २० वर्षजति पुरानो पुलमा सवारी गुड्न सक्छ ।’

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका