लमजुङको दोर्दी करिडोरमा बाढी, बाढीमा परेर ४ जनाको मृत्यु ८ जनाको उद्धार, ६ जना बेपत्ता | Samacharpati        
Home | About Us | Contact | Unicode |

लमजुङको दोर्दी करिडोरमा बाढी, बाढीमा परेर ४ जनाको मृत्यु ८ जनाको उद्धार, ६ जना बेपत्ता

लमजुङ, ९ साउन । लमजुङको दोर्दी करिडोरमा बुधबार दिउँसो एक्‍कासी आएको बाढीले बगाएर मृत्यु भएका भएका ४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका-८ का ५० वर्षीय भुवनेश्वर चौधरी, डढेल्धुराको आलेतालनपा-६ का ५० वर्षीय रमेश बुढा, बाराको जितपुर उपमहानगर पालिकाका ३५ वर्षीय शिवलाल चौधरी र ३५ वर्षीय अन्सारी रहेका छन्।

उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरिएको छ। दोर्दी गाउँपालिकाको शेरापुलनजिकै दुई जना र किर्तीपुरबेसीमा २ जनाको शव फेला परेको थियो। प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ६ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा सप्तरीका सुरेन्द्र चौधरी , कञ्चनपुरका देवबहादुर कोली , डढेल्धुराका कर्ण बुढा , भोजपुरका दिवस कटुवाल , बाराका ज्ञानेन्द्र चौधरी र लमजुङ दोर्दी-६ काविनोद तामाङ छन्। बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन्।मृत्यु र बेपत्ता हुने सबै निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार हुन्।उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी निरीक्षक बसन्त पाण्डेका अनुसार लमजुङको बेसीसहर नगरपालिका-६ काअर्जुन आले , कलैयाका अर्जुन शर्मा , धनगढीका रमेश विक , सप्तरीका सुरज सादहा, डढेल्धुराका धनसिंह सेडी , डढेल्धुराकै सुरज बुढा , सप्तरीका सन्तोष सरदार र बाराका हरि विक को उपचार भइरहेको छ। दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार बुधबार दिउसो ३ बजेतिर खोलामा बाढी आएको थियो। बाढीसँगै बगाएर ल्याएको दुईवटा शव नौथर सेरामा भेटिएको थियो। दोर्दी जलविद्युत् आयोजनाको बाधस्थल रहेको स्थान दोर्दी गाउँपालिका–६ स्थित ढांडेनी क्षेत्रको माताछे बगरमा घटना भएको हो। बाढी आउँदा आयोजनामा कार्यरत कामदार दोर्दी खोला किनारमा काम गरिरहेको स्थानीयले बताएका छन्।

ठूलो पहिरो आएर थुनिएको दोर्दी खोला एकैपटक खुलेपछि बाढी आएको अनुमान गरिएको छ । बाढीका कारण दोर्दी कोरिडरमा निर्माणाधीन जलविद्युत आयोजनाका सामान पनि बगाएको छ । बाढीले ६ ढोडेनीमा रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको प्रवद्र्धक केशव रायमाझीले बताए। बाढी पसेपछि टनेलमा फसेका १७ मजदुरको भने सकुशल उद्धार गरिएको थियो। बाढीले खोला वरपर रहेका स्थानीय विस्थापित भएका छन्। जलविद्युत आयोजना सुरक्षार्थ बसेको नेपाली सेनाको क्याम्प पनि बाढीले क्षति गरेको छ। प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बाटो बिग्रिएको र घटनास्थल टाढा भएकाले समयमा पुग्न नसकिएको र सुरक्षाकर्मीले उद्धार गरिरहेको बताए। उनले सुरक्षा निकायका सबै प्रमुखहरू घटनास्थलमा पुगेको समेत जानकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित