Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका निती तथा कार्यक्रमहरू

गण्डकी प्रदेशका निती तथा कार्यक्रमहरू

गण्डकी प्रदेशका  निती तथा कार्यक्रमहरू

पाेखरा, १९ जेठ । गण्डकी प्रदेशमा अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ । गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम संचालन गर्ने निती लिएको छ । आइतबार गण्डकी प्रदेशसभामा आगामी वर्ष २०७७–७८ सालको निती तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले जटिल अवस्थामा रहेका गर्भवतीको जीवन रक्षाका लागि प्रदेश अन्तरगतका अस्पतालमा मातृ प्रतिक्षा कक्ष स्थापना गर्दै लैजाने योजना रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै मनाङ र मुस्ताङमा २ तथा अन्य ९ जिल्लामा ५ शय्याको सघन उपचार कक्षको स्थापना गरिने छ भने, नेपाल सरकारसँगको सहकार्यमा जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र धौलागिरी अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नति गरिने आइतबार गण्डकी प्रदेश सभामा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख छ । यस्तै ५० शय्याका अस्पतालमा आखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्दै लैजाने प्रमुख शेरचनले बताउनुभयो । मृगौला पीडित बिरामीका लागि सञ्चालित डायलाइसिस सेवालाई प्रभावकारी बनाइनेछ । तीन वर्षभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइने भएको छ ।

गण्डकी प्रदेशमा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना गरिने भएको छ । त्यस्तै गुरुकुल, गुम्बा, मदरसा, आश्रम र वैकल्पिक विद्यालयको पूर्वाधार विकासमा सहयोग गरिने र यस्ता संस्थाबाट दिईने शिक्षालाई औपचारीक शिक्षा प्रणालिमा मूलप्रवाहिकरण गर्ने नितीलाई निरन्तरता दिईने आइतबार प्रस्तुत २०७७–७८ को निति तथा कार्यक्रममा उल्लेख छ । नेपाल सरकारसंगको सहकार्यमा अन्तराष्ट्रियस्तरको बहुउद्देश्यीय रङगशाला, उच्च उचाइ खेलकुद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिईने प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थीक वर्षमा गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने जनाएको छ । प्रदेशभित्रका जाति, भाषा, साहित्य, लिपि, कला, संस्कृति र सङ्गीतको संरक्षण र प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षभित्र गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारले दलित समुदायको परम्परागत पेशा, कला र सीपको संरक्षण, संवद्र्धन, आधुनिकीकरण र व्यवसायीकरणको लागि भगत सर्वजीत सीप विकास कार्यक्रम संचालन गर्ने जनाएको छ । यस्तै प्रदेश सरकारले उच्च शिक्षा अध्ययनरत दलित, अल्पसंख्यक तथा गरीब विद्यार्थीहरुलाई प्रदेश सरकारको आवश्यकताको क्षेत्रमा अनुसन्धान गर्न शोधवृत्ति प्रदान गर्ने निती तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै एमबीबीएस लगायत उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तीमा छनौट भएका दलित, अल्पसंख्यक तथा गरीब विद्यार्थीलाई थप प्रोत्साहन गर्न उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ती कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

एक पालिका एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न वालि, पशुपक्षी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गरिने जनाइएको छ । गुणस्तरीय उत्पादन सुनिश्चित गर्न पशु नश्ल स्रोत विकास गरिने छ । रैथाने र उन्नत बीउ उत्पादन, तरकारी, फलफुल तथा घाँसका प्रविधियुक्त नर्सरी स्थापना कार्यक्रमलाई प्राथमिकता दिईनेछ । यस्तै यस आर्थीक वर्षबाट गण्डकी प्रदेशका कृषकहरुको वर्गिकरण गरिने भएको छ । डिजिटल प्रविधिबाट कृषि तथा पशुपक्षीको तथ्यांक अद्यावधिक गरिने उल्लेख छ । यस्तै नमूना क्षेत्र छनौट गरी कृषकको वर्गाीकरण तथा परिचयपत्र उपलब्ध गराउने कार्यको सुरुवात गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।

बीउबिजन, माटो तथा बाली संरक्षण प्रयोगशालालाई सुदृढिकरण गरी परीक्षण सेवालाई प्रभावकारी बनाइने भएको छ । निती तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शेरचनले तनहुँको आँबुखैरेनी, स्याङ्जाको मालुङ्गामा स्थापित द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई पशुपक्षी रोग नियमन सम्बन्धी कार्य समेत सञ्चालन गर्ने गरी प्रयोगशालामा स्तरोन्नती गरिने बताउनुभयो ।

प्रदेशमा दुध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैसीपालन कार्यक्रमलाई विशेष प्राथमिकता दिईने जनाइएको छ ।

मुस्ताङ जिल्लामा जियो पार्क र मिनि मुस्ताङको स्थापना तथा व्यवस्थापन गर्न नेपाल सरकार, स्थानिय तह, निजी क्षेत्र र गैरसरकारी संस्थासंग सहकार्य गरिने छ । यस्तै ऐतिहासीक तथा पुरातात्वीक महत्वको लोमान्थाङ र गोरखा दरबार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्न विश्व सम्पदा सुचीमा सूचीकृत गर्न नेपाल सरकारसंग समन्वय गरिने निती तथा कार्यक्रममा उल्लेख छ ।

नवलपुरको धौवादीमा फलाम खानी सञ्चालन गर्न नेपाल सरकार स्थानिय तह तथा निजी क्षेत्रसंग साझेदारी गरिने भएको छ । प्रदेश भीत्र रहेका खनिजको अध्ययन गरी उत्खननयोग्य खनिजजन्य उद्योग स्थापना गर्न प्रोत्साहन गरिने उल्लेख छ । अल्लो पस्मिना, गलैँचा जस्ता निकासीजन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने निती तथा कार्यक्रममा जनाइएको छ ।

गण्डकी प्रदेशका प्रमुद प्रमुख अमिक शेरचनले विपन्न परिवारलाई लक्षित गरी आगामी आर्थीक वर्षमा सुपथ मूल्य कार्ड वितरण कार्यक्रम सुरु गरिने बताउनु भयो ।

गण्डकी प्रदेशले पञ्चासे बन संरक्षण क्षेत्र र विश्व शान्ति जैविक विविधता उद्यानको संरक्षण, व्यवस्थापन र विकास गर्ने भएको छ । यस्तै प्रदेशभित्रका संरक्षित क्षेत्रको व्यवस्थापन हस्तान्तरण गर्न नेपाल सरकारसंग समन्वय गर्ने जनाइएको छ ।

त्यस्तै लेकसाइडको कोमागाने हरित पार्क, म्याग्दीको घोडेपानीमा गुराँस पार्क र पञ्चासेमा सुनाखरी पार्क स्थापना र सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने भएको छ । यस्तै गण्डकी प्रदेश सरकारले धौलागिरी क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्ने कार्यको प्रारम्भ गरिने जनाएको छ ।

यस्तै पोखराको पचभैयामा प्रदेशस्तरीय वन्यजन्तु उद्धार केन्द्र निर्माण गरि प्राणी उद्याको रुपमा विकास गरिने जनाइएको छ । नवलपुरमा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका लागि तारबार गर्ने कार्यलाई निरन्तरता दिईने प्रदेश प्रमुख शेरचेनले बताउनुभयो ।

कोभिड १९ को कारणले रोजगारी गुमाएका तथा विदेशबाट फर्केका व्यक्तिलाई तालिम दिई जडीबुटी खेती गर्न प्रोत्साहित गर्ने निती गण्डकी प्रदेश सरकारले लिएको छ ।

यस्तै विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र विकास गर्न गण्डकी विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गरी सञ्चालन गरिने जनाइएको छ ।

मुख्य राजमार्गहरुबाट स्थानिय तहको केन्द्रलाई जोड्ने सडक आगामी ३ वर्षभित्र कालोपत्रे गरिने निती गण्डकी प्रदेश सरकारको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई निरन्तरता दिदै २ वर्ष भित्र ५ सय ५२ किलोमिटर सडक कालोपत्रे गरिने जनाइएको छ । त्यस्तै आगामी २ वर्षभित्र १ सय ४४ सडक पुल निर्माण सम्पन्न गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशका प्राथमिकतामा रहेका बृहत् पोखरा चक्रपथ, भिमाद डेढगाउँ–अरुणखोला सडक, शालिग्राम करिडोर, आरुघाट–सिर्दिबास–रुइला भञ्ज्याङ र डुम्रे–बेशीसहर–मनाङ सडक आयोजनालाई नेपाल सरकारसँगको सहकार्यमा निरन्तरता दिईने जनाइएको छ ।

आगामी आर्थीक वर्षभित्र १ सय २१ झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न गर्ने गण्डकी प्रदेश सरकारको निती तथा कार्यक्रममा उल्लेख छ ।

पोखरा महानगरपालिकासँगको सहकार्यमा माहानगरपालिकाको वडा नं. ९ को बसपार्कलाई स्तरोन्नति गरिने र वडा नं. ३२ स्थित लामेआहालमा प्रदेशस्तरीय बसपार्कको निर्माण कार्य सुरु गरिने बताइएको छ ।

पोखरामा अत्याधुनिक अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्यलाई अगाडी बढाइने छ ।

गण्डकी प्रदेश उज्यालो प्रदेश घोषणा कार्यक्रम आगामी वर्ष पुरा गरिने भएको छ । एक घर एक धारा कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरिनेछ भने निर्माणाधिन आयोजनालाई आगामी वर्षभित्र सम्पन्न गरिने निती लिइएको छ ।

महामारीबाट प्रभावित पर्यटन, कृषि, उद्यँेग, यातायत, निर्माण लगायतका क्षेत्रलाई जीवन्त राख्न व्यवसाय जविन रक्षा कोषस्थापना गर्ने निती गण्डकी प्रदेश सरकारले लिएको छ ।

प्रदेशका गौरव र प्राथमिकताका आयोजना तथा सार्वजनिक निजी साझेदारीबाट सञ्चालन गरिने आयोजनाको छिटो छरितो कार्यान्वयन, कुशल व्यवस्थापन र प्रभावकारी नियमन गरी प्रदेशको आर्थिक समृद्धिमा योगदान पुर्याउन गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना गरिने प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।

आगामी वर्ष ट्राफिक सचेतना कार्यक्रमलाई गण्डकी समाज सभ्य समाज अभियानका रुपमा सञ्चालन गरिने निती छ ।

सहिद, घाइते, द्वन्द्व पीडित तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई लक्षित गरि उद्यमशीलता, क्षमता तथा सीप विकासका विशेष कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख शेरचनले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका