Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • भाग्नेलाई गोली हान्ने आदेशको सर्वत्र विरोध हुन थालेपछि सच्याइयाे निर्णय

भाग्नेलाई गोली हान्ने आदेशको सर्वत्र विरोध हुन थालेपछि सच्याइयाे निर्णय

भाग्नेलाई गोली हान्ने आदेशको सर्वत्र विरोध हुन थालेपछि सच्याइयाे निर्णय

वीरगन्ज, ३ जेठ । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण पुष्टि भएका अर्थात् उपचारको क्रममा रहेका संक्रमितहरु भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने भनी यसअघि दिइएको आदेश सच्याएको छ ।

 

 

कोरोना संक्रमण पुष्टि भई उपचारको क्रममा नारायणी अस्पतालमा रहेका २ जना संक्रमित बुधबार शौचालय जाने भन्दै शौचालयको झ्याल फोडी भागेका थिए । तत्पश्चात जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमित भागे सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने आदेश दिएको थियो ।

गोली हान्ने आदेश दिने निर्णयको सर्वत्र विरोध हुन थालेपछि शुक्रबार साँझ बसेको बैठकले उक्त निर्णयलाई सच्याउँदै संक्रमित भागेको खण्डमा नियन्त्रणमा लिन ‘सकेसम्म बल प्रयोग गर्न सक्ने’ आदेश दिएको हो ।

बुधबार दिउँसो २ जना कोरोना संक्रमित अस्पतालबाट भागेपछि वीरगन्ज त्रासमय बनेको थियो । तर सुरक्षाकर्मीको अथक प्रयासपश्चात करिब ७ घण्टापछि एक जनालाई वीरगन्ज छपकैया स्थित श्रीराम हल नजिकबाट र अर्काेलाई तिलावे पुल नजिकबाट पक्राउ गर्न सफल भएको थियो ।

त्यस पश्चात बिहीबार जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमित भागेपछि गोली समेत हान्न सक्ने कठोर निर्णय गरेको थियो । तर गोली हान्ने आदेशले समाजमा त्रास फैलाउने भन्दै सामाजिक सञ्जालमा विरोध भएपश्चात जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले निर्णयलाई सच्याएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सा अन्तर्गत रहेको संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको निर्णयमा यसप्रकार उल्लेख गरिएको छ, ‘जेठ १ गते बिहीबार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण रोकथाम नियन्त्रण एवं व्यवस्थापन सम्बन्धमा गरेको विभिन्न निर्णयहरुमध्ये निर्णय नं. ३ मा भएको व्यवस्थापले आम सर्वसाधारण एवं अन्य सरोकारवालाहरुमा केही अस्पष्टता सृजना गरेको देखिएकोले जेठ २ गते शुक्रबार भएको संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णयलाई सच्याएको व्यवहोरा अनुरोध छ ।’

शुक्रबार सच्याइएको निर्णयमा अब उप्रान्त संक्रमित भएका व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ मा भएको व्यवस्था बमोजिम आवश्यक्ता अनुसार बल प्रयोग गर्दै नियन्त्रणमा लिने भनेर उल्लेख गरिएको छ ।

वीरगन्जमा कोरोना संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा संक्रमण फैलिन नदिन सुरक्षा सतर्कतालाई बढाइएको छ । वीरगन्जमा वैशाख ३१ गते राति ८ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्मको लागि नेपाली सेना परिचालित गरिएकाे छ भने निषेधाज्ञा जारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका