Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • प्रविधिको प्रयोग गरेर वार्षिक परिक्षाफल प्रकाशित

प्रविधिको प्रयोग गरेर वार्षिक परिक्षाफल प्रकाशित

प्रविधिको प्रयोग गरेर वार्षिक परिक्षाफल प्रकाशित

गलकोट, २ जेठ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउन नभएको भए यतिबेला नयाँ शैक्षिकसत्र शुरु भई नयाँ कक्षामा नयाँ पाठ्यपुस्तकसहित विद्यार्थीले उमङ्गका साथ अध्ययन गरिरहेका हुन्थ्ये । तर चैत ११ गतेदेखि नेपालमा जारी लकडाउनका कारण अहिले शैक्षिक संस्था ठप्प छन् भने एसइईको परीक्षा लामो समयदेखि स्थगन भएको छ ।

लकडाउन जारी रहेका कारण बागलुङका अधिकांश विद्यालयले परीक्षा फल निकाल्न ढिलो भएको भन्दै प्रविधिको प्रयोग गरेर वार्षिक परिक्षाफल प्रकाशित गरेका छन् । विद्यालयको सूचनापाटीमा रिजल्ट टाँसेर परीक्षाफल प्रकाशित गर्ने विद्यालयले लकडाउनका कारण फरक शैलीमा परीक्षाफल निकालेका छन् । विद्यालयले फोन, एसएमएस, फेसबुक, म्यासेन्जर र भाइबरमार्फत परीक्षा फल प्रकाशित गरेका हुन् ।

सूचनापाटी टाँसेको परीक्षाफल फोटो खिचेर फेसबुकमार्फत सार्वजनिक गरेको र कक्षा शिक्षकले समेत फोनबाट विद्यार्थी तथा अभिभावकलाई परीक्षाफलका विषयमा जानकारी दिएको सिगाना माध्यामिक विद्यालय तित्याङका प्रधानध्यापक गोपालकुमार शर्माले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाले वैशाख २१ गतेभित्र सबै विद्यालयले अनिवार्य परीक्षाफल प्रकाशित गर्ने र प्रकाशित परीक्षा फल विद्यार्थीलाई जानकारी हुनेगरी प्रविधिको प्रयोग गर्न अनुरोध गरेको थियो । जसअनुसार बागलुङ नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयले फेसबुकलगायतका माध्यमबाट परीक्षाफल प्रकाशित गरे भने फोनमार्फत कक्षा शिक्षकले विद्यार्थी वा विद्यार्थीका अभिभावकलाई समेत सम्पर्क गरेर परीक्षाफलको विषयमा जानकारी गराएको बागलुङ नगरपालिकाका निमत्ति प्रमुख प्रशासकीय अधिकृत दण्डपाणि शर्माले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षाफल प्रकाशित गरिसकेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । अधिकांश शिक्षकले घरपायकको विद्यालयमा अध्यापन गराउने भएकाले परीक्षाफल प्रकाशनमा समस्या नभएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो ।

लकडाउनका कारण अध्यापनमा समस्या भएको भन्दै सरकारले अनलाइन कक्षा सञ्चालन गर्ने भने पनि बागलुङमा अनलाइन कक्षा सञ्चालनका लागि समस्या हुने भएकोे उपाध्यायले बताउनुभयो । बागलुङमा ५२५ सामुदायिक तथा ६४ संस्थागत विद्यालय छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका