Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • एक वर्षमा सक्नेगरी काम शुरु भएको बलेवा विमानस्थल काम प्रभावित

एक वर्षमा सक्नेगरी काम शुरु भएको बलेवा विमानस्थल काम प्रभावित

एक वर्षमा सक्नेगरी काम शुरु भएको बलेवा विमानस्थल काम प्रभावित

बलेवा, १ जेठ । एक वर्षमा सक्नेगरी काम शुरु भएको बलेवा विमानस्थल कालोपत्रको काम प्रभावित भएको छ । काम गरिरहेका मजदुर एकाएक लकडाउनमै घर हिँडेपछि विमानस्थल कालोपत्रको काम प्रभावित भएको हो ।

नेपाल सरकारले सामाजिक दूरी कायम गरी आवश्यक सुरक्षा सावधानीसहित काम सञ्चालन गर्न आग्रह गरेको भए पनि विमानस्थलको काम शुरु हुन नसकेको हो । विमानस्थलको धावनमार्ग ग्रेडिङको काम चलिरहेकाले ग्रेडर र स्काभेटर चालकलाई निर्माणस्थलमा ल्याउने प्रक्रिया थालिएको निर्माण कम्पनी काष्ठमाण्डप एण्ड उमा जेभीले जनाएको छ ।

यातायात सहज नहुँदा अपरेटरलाई निर्माणस्थलसम्म ल्याउन कठिन भइरहेको कम्पनीका साइड इन्चार्ज वासु थापाले बताउनुभयो । काम थालेको केही दिनमै लकडाउन भएपछि रोकिएको काम पुनः सञ्चालन गर्न बागलुङ नगरपालिकाले ताकेता गरेको छ । करिब दुई महिनादेखि बन्द रहेको काम तत्काल सञ्चालन नगरे निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले निर्माण कम्पनीलाई काम थाल्न अनुरोध गरिएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

उता निर्माण कम्पनीका प्रतिनिधि थापाले भने दुई महिना काम रोकिएकाले निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने प्रतिक्रिया दिनुभयो । “हामी काम गर्न तयार छौँ तर वातावरण बनेको छैन”, साइड इन्चार्ज थापाले भन्नुभयो, “मुख्य काम चल्ने समयमा बस्नु परेकाले तोकिएको समयमा काम सकिन्न ।” विमानस्थललाई बाह्रै महिना सञ्चालन गर्ने गरी नागरिक उडड्यन प्राधिकरणले कालोपत्रको काम थालेको हो ।

अहिलेसम्म बलेवा विमानस्थलमा सानो टुइनेटर जहाजमात्रै चल्न सक्ने अवस्था छ । धावनमार्ग कालोपत्र भएपछि ठूलो जहाजले समेत उडान भर्न सक्ने नगरप्रमुख पौडेलले बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षमा रु चार करोड रकम विनियोजन गरी निर्माणकार्य अगाडि बढाएको हो । विमानस्थलको ७०० मिटर लम्बाइ ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र हुने निर्माण कम्पनीले जनाएको छ ।

विसं २०७७ फागुन महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ । २६ वर्षसम्म बन्द रहेको बलेवा विमानस्थल बागलुङ नगरपालिकाको पहलमा विसं २०७४ चैत ९ गतेदेखि पुनः एक वर्ष सञ्चालनमा आएर बन्द भएको थियो । धावनमार्गकै कारण जहाजले नियमित उडान गर्न नसक्ने भएकाले कालोपत्र गरेर नियमित उडान गर्ने योजनाअनुसार काम थालिएको पौडेलले बताउनुभयो ।

विमानस्थलसम्म पुग्ने सडक कालोपत्र नहुँदा समस्या हुनसक्ने भएकाले बागलुङ बजारदेखि विमानस्थलसम्मको सडक कालोपत्रका लागि सडक विभागलाई अनुरोध गरिएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो ।

साना कक्षाका विद्यार्थीलाई स्वअध्ययन गराइँदैलकडाउनअघि बन्द भएका विद्यालयमा नयाँ शैक्षिकसत्र शुरु गर्ने समय भए पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सरकारले विद्यालय खोल्न सकेको छैन । चैत ५ गते विद्यालय तहका सबै परीक्षा सकेका विद्यालय चैत ६ गतेदेखि सरकारको निर्देशनमा बन्द भए ।

बागलुङका अधिकांश सामुदायिक विद्यालयले अनलाइन, सामाजिक सञ्जाल र शिक्षक सम्पर्कमार्फत नतिजा सार्वजनिक गर्दै आएका छन् । सबै विद्यार्थी घरमै छन् । उनीहरुको काम खेल्ने, मोबाइल हेर्ने र गाउँ चहार्ने छ । विद्यालय बन्द रहेका कारण घरमै फुर्सदमा रहेका विद्यार्थीलाई कसरी सिकाइसँग जोड्ने र खाली समयको उपयोग गर्ने भन्ने विषयमा कमैले सोचेको पाइन्छ ।

तर बागलुङको बरेङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि सामुदायिक रेडियोमार्फत कक्षा चलाएको छ । बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई स्वअध्ययनका लागि बरेङले प्रेरित गर्दैछ । गाउँपालिकाले अभिभावकको सहयोगमा साना कक्षाका विद्यार्थीलाई स्वअध्ययनमा सहभागी गराउन लागेको हो ।

“लकडाउनका कारण अभिभावक पनि फुर्सदमा हुनुहुन्छ, विद्यार्थी घरमै छन्”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “लामो समय विद्यालय बाहिर हुँदा विद्यार्थीलाई समस्या हुन्छ, त्यसैले साना कक्षाका विद्यार्थीलाई अभिभावकको सहयोगमा स्वअध्ययन गराउने नीति लिएका छौँ ।” सामान्य लाग्ने सिकाइको विषयले विद्यार्थीको भविष्यमा ठूलो प्रभाव छाड्ने भएकाले बाल मानसिकतालाई सिकाइमा केन्द्रित गर्न लागिएको उहाँले दाबी गर्नुभयो ।

गाउँपालिकाले अभिभावकको सहयोगमा आफ्ना बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलाप समेटिएको पाठ्यसामग्री तयार गरेको छ । विद्यालयमार्फत ती पाठ्यसामग्री विद्यार्थीको घर–घरमा पुर्याइने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

“सरल भाषाशैलीको पाठ्यसामग्री तयार भएको छ, जसबाट अभिभावकले आफ्ना बालबालिकालाई सिकाइमा सहभागी गराउन सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “ विद्यालयमार्फत ती सामग्री विद्यार्थीको घरमा पुर्याउँछौँ ।” झण्डै एक हजार २०० विद्यार्थीको हातमा सजिलो सिकाइ सामग्री पुर्याउने उहाँले बताउनुभयो ।

गाउँपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गरेर सिकाइ सामग्री तयार गरेको हो । नेपाल सरकारले तोकेको पाठ्यक्रमका आधारमा मानव स्रोत विकास केन्द्रले तयार पारेको पाठ्यसामग्रीलाई जस्ताको तस्तै छपाइ गरेर विद्यार्थीलाई बाँड्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका