Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • दमौलीमा मजदुरलाई रोजगारीमा खटाएर पारिश्रमिक दिने व्यवस्था

दमौलीमा मजदुरलाई रोजगारीमा खटाएर पारिश्रमिक दिने व्यवस्था

दमौलीमा मजदुरलाई रोजगारीमा खटाएर पारिश्रमिक दिने व्यवस्था

दमौली, २९ वैशाख  बन्दाबन्दीको क्रममा तनहुँको दमौलीमा निःशुल्क रुपमा सञ्चालन गरिएको खाना खुवाउने कार्यक्रम स्थगित गर्न प्रस्ताव आएको छ । रोजगारमा लगाएर खाना खुवाउने व्यवस्था सञ्चालन गर्नुपर्ने आवाज उठेको हो ।जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सधैँभरि खाना खुवाइरहनुभन्दा यसलाई स्थगित गरेर नयाँ ढङ्गबाट सञ्चालन गर्नुपर्ने बताउनुभयो । “जिल्लाकै शुक्लागण्डकी नगरपालिका–८ ले प्रभावित मजदुरलाई रोजगारीमा खटाएर पारिश्रमिक दिने व्यवस्था शुरु गरेको छ, अन्य ठाउँमा पनि यस्तै गरी सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

खानाको व्यवस्थापन गरिरहेको उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइलाई अगामी जेठ १ गतेदेखि खाना खुवाउने कार्यक्रम स्थगित गर्न आग्रह गरेको प्रमुख वाग्लेले जानकारी दिनुभयो । “सधँै खानामात्रै खुवाउनेभन्दा पनि स्थानीय तहको पहलमा उनीहरुलाई काममा खटाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

सो एकाइले प्रभावित भएकाहरुलाई खाना खुवाउन व्यवस्थापन मात्रै गरेको सङ्घका अध्यक्ष एवम् एकाइ सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । एकाइको व्यवस्थापनमा व्यास नगरपालिका–२ र व्यास नगरपालिका–४ मा बिहानको समयमा खाना खुवाइन्छ ।

उहाँका अनुसार बन्दाबन्दीपछि वडा नं २ र ४ मा गरेर करिब चार हजारजनाले खाना खाइसकेका छन् । प्रत्येक दिन बिहानको एक छाक खाना खुवाउने गरिएकामा खानाका लागि सहयोगी व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्ने गरेका छन् । विपन्न तथा मजदुरलाई खाना खुवाउँदा हालसम्म रु दुई लाख ४० हजार खर्च भइसकेको छ भने रु एक लाख ५० हजार सङ्कलन भएको छ ।

बन्दीपुरमा साइकल लेनको खोजी
पर्यटन प्रवद्र्धनका लागि यहाँको बन्दीपुर गाउँपालिकाले साइकल लेनको खोजी शुरु गरेको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित गाउँपालिकाले बन्दीपुर गाउँपालिका ४ र ५ मा अवस्थित रानीवन क्षेत्रमा साइकल लेनको खोजी शुरु गरेको हो ।

सो स्थानमा साइकल लेन बनाउन सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल यात्रीलाई बन्दीपुरमा भित्र्याएर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुर पर्यटन गन्तव्यका रुपमा विकास भइरहेको छ, यहाँभित्र नयाँ नयाँ गन्तव्य निर्माण गर्न सके पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिएको छ”, उहाँले भन्नुभयो, “सोहीबमोजिम साइकल लेन निर्माणका लागि गाउँपालिकाले पहल शुरु गरेको छ ।”

रानीवनको जङ्गलमा साइकल लेन बनाउनका लागि सम्भाव्यता अध्ययन गरिएको र साइकल लेन बनाउन उपयुक्त देखिएको उहाँले बताउनुभयो । “जङ्गलमा मान्छे हिँड्ने बाटो पनि थिएन, अहिले सामान्यरुपमा बाटो बनाइसकेका छौँ”, उहाँले भन्नुभयो, “एक÷दुई महिनाभित्रै व्यवस्थित साइकल लेनको निर्माण शुरु गर्छौं ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यहाँ लेन बनाउने तयारी गरिएको छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट साइकल लेनको काम अगाडि बढाउँछौँ”, अध्यक्ष थापाले भन्नुभयो, “साइकल लेनले बन्दीपुरको पर्यटनमा एउटा आयाम थप हुनेछ ।” थापाका अनुसार साइकल लेन करिब चार किमीको रहनेछ ।

यहाँ लेन बनाउन सकिए राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुने गाउँपालिकाकाले जनाएको छ । रानीवन जङ्गलमा चराचुरुङ्गीको चिरवीर आवाज र हिमशृङ्खलाको मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, सम्बद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

सोही बमोजिम गाउँपालिकाले वडा नं २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ ।

गत आर्थिक वर्षमा रु दश लाखको लागतमा ३०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालु आवमा रु ६० लाखको लागतमा एक हजार ३०० मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ । करिब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करिब रु दुई करोड बजेट अनुमान गरिएको छ ।

गाउँपालिकाले टुँडिखेलमा शिशाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करिब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको थापाले जानकारी दिनुभयो । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको व्यवसायीको भनाइ छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका