Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला

बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला

सुदूरपश्चिम, २९  वैशाख । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन् । पछिल्ला केही वर्षयता बैतडी जस्ता पहाडी जिल्लामा पनि औलोका बिरामी देखिन थालेका हुन् ।

इनोफेलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो वर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ वर्षीया अस्मिता साउदमा औलो रोग भएको पुष्टि भएको छ । केही दिनअघि ज्वरो आएकी साउँदको परीक्षण गर्दा औलो देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले बताउनुभयो ।

साउदको अहिले उपचार भइरहेको छ । एकजनाको औलो देखिएपछि उनका घरपरिवारका अन्य सदस्यहरुको औलो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले सुत्ने बेला झूलको प्रयोग गरेर सुत्ने, घर वरिपरिको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका–६ का एक ४८ वर्षीय पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ । ती पुरुषमा अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टि भएको हो । माइटका कारण सर्ने यो रोगबाट गत साल बैतडीमा ४० भन्दा बढी सङ्क्रमित भएका थिए ।

खाद्यान्न वितरण

जारी लकडाउनका कारण समस्यामा परेका नागरिकलाई मेनेजर तेजबहादुर चन्द ट्रस्टले खाद्यान्न वितरण गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–५ का गरीब तथा असहाय परिवारलाई ट्रस्टले खाद्यान्न वितरण गरेको ट्रस्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिनुभयो । वडा नं ५ का दुई सय परिवारलाई खाद्यान्नस्वरुप गहुँ वितरण गरिएको छ । परिवार सङ्ख्याका आधारमा उनीहरुलाई १५ केजी, २० केजी र २५ केजीका दरले गहुँ वितरण गरिएको हो ।

समस्यामा परेका नागरिकलाई सहयोग होस् भन्ने हेतुले ट्रस्टद्वारा राहत वितरण गरिएको जनाइएको छ । दशरथचन्द नगरपालिका–५ स्थित मेनेजर तेजबहादुर चन्द ट्रस्टले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका