Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • वैशाख अन्तिम साता पृथ्वीबाट सबैभन्दा नजिक आकाशमा धूमकेतु देखिने

वैशाख अन्तिम साता पृथ्वीबाट सबैभन्दा नजिक आकाशमा धूमकेतु देखिने

वैशाख अन्तिम साता पृथ्वीबाट सबैभन्दा नजिक आकाशमा धूमकेतु देखिने

काठमाडौँ, २८ वैशाख  यो साता (विसं २०७७ वैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छेतारा) देखिइरहेको खगोलविद्ले जनाएका छन् । खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छे तारा राखेका छन् । यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मीकि विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभयो ।

नेपालबाट बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा पुच्छेतारा देखिने छ । यो पुच्छेतारा वैशाख ३० गते मङ्गलबार पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ । पूर्वी क्षितिजभन्दा केही माथिमात्र देखिने भएकाले यसलाई हेर्न अलि कठिन हुने उहाँले बताउनुभयो । गत चैतमा पत्ता लागेको यो पुच्छेताराको चमकपन ३.५ म्याग्निच्युड हुने जनाइएको छ ।

क्षितिजबाट यो धूमकेतु १५–२० डिग्रीमाथि सूर्योदय हुनुभन्दा केही समयअघिमात्र देखिने भएकाले हेर्न गाह्रो हुनसक्ने जनाइएको छ । सानो खालको बाइनाकुलर अथवा टेलिस्कोपको सहायताले भने यसलाई स्पष्ट रुपमा देख्न सकिने खगोलविद् आचार्यले बताउनुभयो ।

धूमकेतु देखिँदा विवाह, व्रतबन्ध, राज्याभिषेक, चूडाकर्म, गृहप्रवेश आदि शुभकार्य गर्नुहुँदैन भनी ‘मुहूर्त चिन्तामणि’ नामक ज्योतिष ग्रन्थमा उल्लेख गरिएको छ ।

यस विषयमा वैज्ञानिकरूपमा हालसम्म कुनै पुष्टि भने नभएको उहाँले बताउनुभयो । यो धूमकेतु उत्तरपूर्वमा देखिने छ । शास्त्रमा उत्तरतिर देखिने धूमकेतुको फल राम्रो भनी व्याख्या गरिएको छ । दक्षिणतिर देखिने धूमकेतुको फल नराम्रो मानिएको छ । यसपटक उत्तरपूर्वमा धूमकेतु देखिने भएकाले राम्रो फल दिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका