Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • जसलाई कोरोनासँग युद्ध गर्दा गर्व लागेको छ

जसलाई कोरोनासँग युद्ध गर्दा गर्व लागेको छ

जसलाई कोरोनासँग युद्ध गर्दा गर्व लागेको छ

केशवशरण लामिछाने, पोखरा, ३ वैशाख । भवन वरिपरि डोरी लगाएर जोकोहीलाई पस्न नसक्ने बताएको छ । कोरोना भाइरसको परीक्षण गर्ने ठाउँ हो यो, अर्थात पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला । अरु बेला यहाँ अरु/अरु बिरामीका दिसा, पिसाब, रगत, खकार लगायतको परीक्षण हुँदै आएको थियो ।

कोरोना जाँच्न थालेयता अरु जाँच भएको छैन, इमर्जेन्सी ल्याबबाटै काम चलाइएको छ । कोरोना जाँच्न थालेपछि प्रयोगशाला सिल जस्तै छ, भाइरस फैलन डर छ । यही प्रयोगशालामा मंगलबार बिहान साढे ८ बजे अघि नै २५ किलोमिटर टाढाबाट आइपुगेकी थिइन् सुभद्र दुलाल कोरोना भाइरस जाँच्न भनेर केही स्वाब संकलन भइसकेका थिए । केही आउनेवाला थिए । केहीबेर संवाददातासँग कुरा गरेर उनलाई प्रयोगशाला छिर्नुछ ।

कहिले ८ बजे नै त कहिले साढे ८ बजे नै सुभद्रा प्रयोगशाला आउँछिन् । अनि सुरु गर्छिन् स्वाब परीक्षणको प्रक्रिया। स्वाब परीक्षण गर्न मेसिनमा राख्नुअघि पनि थुप्रै चरण पूरा गर्नुपर्छ । त्यस्तो काम नै घन्टौंको हुन्छ । मेसिनमा राखेपछि भने १ घन्टामा रिपोर्ट निस्कन्छ भन्छिन्, ‘रिपोर्ट निस्केपछि पनि त्यसको विश्लेषण गर्नुपर्छ, टाइम लाग्छ।’

चैतको २३ गतेदेखि नै सुभद्राको ड्युटी क्षेत्रीय अस्पतालको प्रयोगशालामा छ । खासमा भने उनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी प्राविधिक कर्मचारी हुन् । संसारमा कोरोना भाइरसको संत्रास फैलिएपछि नै नेपालमा त्यसको रोकथाम तयारी सुरु भएको थियो । त्यस क्रममा सरकारले जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकलाई कोरोना’bout तालिम गरायो ।

फागुन २० गते नै काठमाडौंको टेकु पुगेर सुभद्राले त्यस्तो तालिम लिएकी थिइन्। तालिम लिएर उनी उसै दिन फर्किइन्। फागुन २३ गते गण्डकी प्रदेशमा कोरोनाको ¥यापिट रेस्पोन्स टिम बन्यो, त्यसमा सुभद्रा पनि सामेल भइन् । ३० गते नै उनले कोरोना परीक्षणका लागि पहिलो काम गरिन् ।
पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रमा एकजना शंकास्पद व्यक्तिको स्वाब लिनुपर्ने भयो। त्यो काम सुभद्राले उहीं लेखनाथ सामुदायिक लायन्स अस्पताल पुगेर गरिन् ।

पहिलोपटक बिरामीको स्वाब लिन जाँदा निकै डराएकी थिइन् । भन्छिन्, ‘सुरुमा स्वाब झिक्दा एकदम डर लाग्यो, स्वाब झिकेर घर गएँ, बच्चाहरु आउँछन् कि भनेर एकदम डर लाग्यो, बाहिरपट्टिबाट घुमेर गएर बारुरुममा गएर नुहाएरमात्रै बच्चा छोएँ।’ पछिपछि भने सुरक्षा सामग्री राम्ररी पाइने भएपछि डर लाग्न छोड्यो ।

‘अहिले टेस्टिङचाहिँ मलाई त्यस्तो डर लाग्दैन’, भन्छिन्, ‘पीपीई लगाइन्छ, बायोसेफ्टी क्याबिनेटभित्र काम गरिन्छ।’ उनकै भनाइमा बायोसेफ्टी क्याबिनेट भनेको एउटा मेसिन हो । त्यसलाई अन गरेर काम गरेपछि भाइरस पोखिइहाल्यो भने पनि मेसिनले माथि तानेर लैजान्छ र भाइरस मर्छ, संक्रमण हुन दिँदैन ।

सुभद्राले स्वाब संकलन पनि धेरै नै गरिन्। ‘पीपीई पनि सजिलै पाउन थालेपछि डराउनुपर्ने कुनै कारणै छैन, सजिलै लाग्छ मलाई’, भन्छिन्, ‘पहिल्यैदेखि अरुको सेवा गर्न मन लाग्ने भएर स्वास्थ्य पनि मेरो आफ्नै रुचिले पढेको हो, अहिले प्रदेशले मलाई यत्तिको काबिल सम्झेको छ, मलाई गौरव नै महसुस हुन्छ। प्रदेशका अरु साथीहरुले गर्नुभएको छैन, मैले गरेकी छु, यो त मेरो अवसर हो।’ सुरुसुरुमा सबैजना भाग्दा भने सुभद्रालाई पनि डर नलागेको कहाँ थियो र !

थुप्रै चिकित्सक र स्वास्थ्यकर्मी सुरक्षा सामग्री नभएको भनेर गुनासो र दुखेसो पोखिरहेका छन् । ज्यानको मायाले डराएका छन्। जागिरभन्दा ज्यान प्यारो बताइरहेका परिवारजनको हवाला दिइरहेका छन् । सुभद्रा भने स्वास्थ्य सेवाप्रति भित्रैदेखि समर्पित छिन्। भित्रैदेखि यो मेरो दायित्व हो भन्ने उनलाई लागेको छ ।

पोखरा ३० शिशुवाकी सुभद्राको माइती भक्तपुर हो। मामाघर यतै पोखरा। ठूलीआमा, सानिमा पनि यतै छन्। सुभद्राले यतै पढिन्। पोखरा विश्वविद्यालयबाट मेडिकल ल्याब टेक्नोलोजीमा स्नातक गरेपछि लोकसेवा तयारी गरिन्। लोकसेवातिर लाग्न स्वास्थ्यकर्मी श्रीमान्ले हौस्याएका हुन्। लोकसेवा पास गरेपछि सुभद्राको दरबन्दी गोरखामा प¥यो। उनी मात्र ८ महिनाकी गर्भवती थिइन्, गोरखामा भैंचालो गयो। ‘मेरो बाबु पेटमा थियो, त्यतिबेला पनि मैले सकेसम्म सेवा गरें’, उनले सगर्व सुनाइन्, ‘पोहोर डेंगुको प्रकोप फैलिँदा पनि यही प्रयोगशालाको माइक्रोबायोलोजी ल्याबमा डेंगु नै परीक्षण गरेर बसें।’

स्वास्थ्यकर्मी भएर पेसागत धर्म गर्न पाएँ, गर्नुपर्ने ठाउँमा गरें, अरु बेलाभन्दा परेको बेलामा गरें। प्रदेश सरकरले काबिल सम्झेर पत्याएको छ, गर्व छ। यसरी काम गर्दा अप्ठेरो बेलामा पनि काम गरें भनी उनी आफैं प्रेरित हुन्छिन्। अरु कसैलाई उनलाई हौसला बढाउनुपरेको छैन। आत्मबल उकास्नुपरेको छैन। भित्रैदेखि आफैं प्रेरित छिन्। परिवारको साथ भने गज्जबकै छ। सुरुमा त उनले श्रीमान्लाई मात्रै सुनाएकी थिइन् कोरोना जाँचमा बस्नुपरेको कुरा। पछि सासुससुरालाई पनि थाहा भयो। घरमा दुधे छोरी छिन् १६ महिनाकी। छोरा ४ वर्षका। ससुराले चाहिँ भनिरहन्छन्, ‘सुरक्षित भएरमात्रै काम गर्नू है, पीपीई भएन भने नगर्नू ।’

आरआरटी बसेर नमुना संकलन टोलीको सदस्य सचिव भएर काम गरिन्। त्यसयता अरु प्राविधिक र कर्मचारीहरुलाई पनि सुभद्राले तालिम दिएकी छन् । बिएमलटी गरेका प्राविधिकहरुलाई प्रदेश सरकारले सुरुमा सोधेको थियो। तर कतिपय पछि हटे। सुभद्रा अघि सरिन्। ‘प्रदेशले मलाई नै रोजेको छ भनेपछि त्यसै पनि मलाई गौरव भयो नि’, यसो भन्दा उनको अनुहार उज्यालियो, ‘मलाई मन्त्रीले नै फोन गर्नुभयो, जहाँ पनि काम गर्छु भनें।’ तर ल्याबभित्रु संवेदनशील हुन्छ। जोपायोले आँट्दैनन् र थोरै त्रुटि हुँदा पनि संक्रमण फैलन सक्छ। सुभद्रासँगै अर्की संगीता पौडेल पनि सँगसँगै काम गर्न राजी थिइन्। आखिर संगीता पनि सुभद्राजस्तै दुधे बच्चाकी आमा हुन्। संगीता पनि निकै संवेदनशील र जिम्मेवार रहेको सुभद्रा बताउँछिन् ।

एउटा नमुना परीक्षण गर्दा पनि उही समय लाग्छ र दर्जनौंको पनि उत्ति समय। त्यसैले एउटामात्रै परीक्षण गर्दा पनि सबै सुरक्षा सामग्री प्रयोग गर्नुपर्छ। तसर्थ अहिले धेरैको समूह बनाएर उनीहरु काम गर्छन्। पीपीई लगायत सामग्रीको फोरो गर्नुपर्ने पनि छ। उनकै भनाइमा इमर्जेन्सी भएचाहिँ एउटैको भए पनि परीक्षण गर्छन्। नमुना आइसकेपछि रसायनसँग मिलाउने लगायत काम गर्दा गर्दै १ साढे १ बज्छ। अनिमात्रै उनीहरुको खाना खाने समय हुन्छ।

प्रयोगशालामा संघ सरकारले पठाएको पीसीआर मेसिन छ। यसले १ घन्टामा एउटा नमुना परीक्षण गर्छ। अर्काे पुरानै मेसिन पनि छ। यसको क्षमता भने ७२ वटा हो। तर ७२ वटाकै घान हाल्नुपरेको छैन। एकैदिन २२ वटासम्म राखेर परीक्षण गरेको अनुभव दुलालहरुसँग छ। अहिले भने त्यति धेरै भार नरहेको उनी सुनाउँछिन्। ६ जनाको टिम छ प्रयोगशालामा । पालो मिलाएर २र२ जनाले काम गर्छन्। एक घन्टामा ७२ वटा नमुना मेसिनमा राख्न मिल्ने भए पनि त्यसअघिको चरण लामो हुन्छ। यहाँको प्रयोगशालाले दिनमा ८० वटासम्मको रिपोर्ट भएको थियो। सुभद्रा भन्छिन्, ‘त्यो दिन त बिहान ७ बजे आएर राति १० बजेसम्म काम गरेका थियौं।’

आफ्नो पेसाको धर्म नै हो सुभद्रलाई प्रेरित गर्ने । अरु डराएका होलान्, कतिपय रोइलो गर्दै होलान्। त्यसमा चासो छैन उनलाई। ‘यस्ता प्राकृतिक प्रकोपमा सहभागी भएर स्वास्थ्यकर्मी भएर पेसागत धर्म गर्न पाएँ’, उनी भन्छिन्, ‘गर्नुपर्ने ठाउँमा गरें, अरु बेलाभन्दा परेको बेलामा गरें। परेको बेलामा हो नि हीरा फोर्नुपर्ने।’ कोरोनाको तालिम लिन जाने भन्दा अरु कतिपय हच्चिएका थिए फागुनको तेस्रो त्यो हप्ता। तर उनी डराइनन्।

‘आखिर प्रकोप भइहाल्यो भने ट्रेनिङ लिएको छैन भनेर छोड्न त मिल्दैन’, भन्छिन्, ‘मैले मेरै लागि काम गरेको भनेर सोच्छु, मैले काम गरे एउटामात्रै पोजिटिभ केस आइसोलेट गरें भने सबैभन्दा पहिला परिवार बचाउन सक्छु, समाज बचाउन सक्छु नेसन बचाउन सक्छु, यही सोचेर मैले केही गरेर समाजमा सहयोग गर्नसक्छु भन्ने अनुभूति हुन्छ।’

अन्नपुर्णपोष्ट डटकमबाट

http://annapurnapost.com/news/153244

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका