Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • लकडाउन छल्नलाइ जिउँदो बाबु मारे

लकडाउन छल्नलाइ जिउँदो बाबु मारे

लकडाउन छल्नलाइ जिउँदो बाबु मारे

चन्द्रागिरि नगरपालिका–८, थानकोट बस्दै आएका एक अपरिचित व्यक्तिले चैत २५ गते महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठलाई फोन गर्दै भने, ‘सर, हिजो राति रामेछापमा बुवा बित्‍नुभयो, लकडाउन छ कसरी जाने होला ?’ फोन गर्ने ती व्यक्ति थिए खिम्ती रामेछापको फापुरबेसीका स्थायी बासिन्दा ।

डीएसपी श्रेष्ठसँग फोनमा ती व्यक्ति अलि आत्तिए जसरी बोलेका थिए। मृत्यु जस्तो कुरामा अरु सोधिखोजी नगरी श्रेष्ठले सबारी साधनको व्यवस्था गर्न आग्रह गरे। ‘पासको व्यवस्था मिलाइदिउँला, चिन्ता लिनु पर्दैन।’

केहीबेरमै ती व्यक्तिले वा २ झ ४७९९ नम्बरको ट्याक्सीको व्यवस्था गरे। डीएसपी श्रेष्ठलाई ट्याक्सी नम्बर टिपाएर उनी २५ गते नै काभ्रेबाट सिन्धुलीको खुर्कोट हुँदै रामेछापतर्फ लागे। आफूसँगै श्रीमती र छोराछोरी पनि साथमै लिएर उनी घरतर्फ लागेका थिए। लकडाउनका काण देशभर अनुमतिबाहेकका सवारी र मानिस आवतजावत पूर्ण रुपमा निषेध गरिएको छ। तर बाबुको मृत्यु भएको बताएपछि ती व्यक्तिका लागि थानकोट प्रहरीले घरसम्म बिनारोकटोक जाने व्यवस्था मिलाएको थियो।

घरतर्फ जाने क्रममा खिम्तीमा तैनाथ प्रहरीले उनी चढेको ट्याक्सी रोक्यो। तर उनले थानकोटबाट अनुमति लिएर आएको र आफू बाबुको किरिया गर्न जान लागेको बताए। त्यसपछि प्रहरीले उनको गाउँमा फोन गर्‍यो। तर उनले थानकोट र खिम्ती प्रहरीलाई यसअघि भनेको कुरा बाझियो। फेरि खिम्ती प्रहरीले थानकोट वृत्तका डीएसपी श्रेष्ठलाई फोन गर्‍यो। त्यसपछि अनुहार रातोपिरो लगाउँदै बल्ल उनले बाबु मरेको झुटो विवरण टिपाएर घर जान खोजेको रहस्य खोले।

त्यसपछि खिम्ती प्रहरीले ट्याक्सीबाट उनीहरुलाई ओराल्यो। प्रहरीले ट्याक्सीलाई काठमाडौंतर्फ फिर्ता गरिदियो। उनकै फोनमा थानकोटका डीएसपी श्रेष्ठले फोन गरेर उनलाई गाली गरे। अनि ती व्यक्तिले आफूले झुटो बोल्नुको बाध्यता बताए। उनले लकडाउनपछि काठमाडौंमा दैनिक गुजारा गर्न कठिन भएर बाबु मरेको बहानामा आएको बताए। ‘बुवा बित्‍नुभयो भनेर उनले फोन गरेका थिए, केहीबेरमै ट्याक्सी पनि खोजेछन्,’ डीएसपी श्रेष्ठले कान्तिपुरसँग भने, ‘मृत्यु जस्तो कुरामा अरु सोधखोज गर्ने कुरा भएन तर उनले घर जानका लागि यो सबै नाटक गरेका रहेछन्।’

रामेछाप पुगिसकेका कारण उनलाई प्रहरीले सचेत गराएर छोडियो। खिम्तीबाट हिँडेर उनको परिवार घर पुग्यो। रामेछाप पुगेपछि डीएसपी श्रेष्ठले उनलाई फोन गरेर गाली गरेका थिए। गलत विवरण दिएको भन्दै कारबाही गर्ने चेतावनी पनि दिए।

यसअघि चैत २४ गते नै महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले आमाको मृत्यु भएको र किरिया गर्न जान भन्दै नक्कली विवरण देखाएर पास बनाउने ३ जनालाई पक्राउ गरेको थियो। सप्तरीको सुरुङ्गा घर भई पुल्चोक बस्दै आएका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुले पनि आमाको मृत्यु भएको गलत विवरण देखाएर जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सवारी पास लिएका थिए। ३–०८–००५ ख ९१९८ नम्बरको बसमा ३० जना यात्रु लिएर सप्तरी जान लागेको अवस्थामा उनीहरु पुल्चोकबाटै पक्राउ परेका थिए।

लकडाउनका कारण काठमाडौंमा बस्‍न नसक्‍ने भएपछि विभिन्‍न बहाना बनाउँदै सवारी पास लिनेहरु बढिरहेका छन्। त्यस्तै दिनहुँ हिँडेरै सयौं किलोमिटरको दूरी पार गर्नेहरु पनि उत्तिकै छन्।
Source:-ekantipur

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका