Samacharpati
मङ्लबार, चैत्र २५, २०७६
  • होमपेज
  • ‘कोरोना रोक्न संसद्, स्कुल र सार्वजनिक यातायात बन्द गरौं’

‘कोरोना रोक्न संसद्, स्कुल र सार्वजनिक यातायात बन्द गरौं’

‘कोरोना रोक्न संसद्, स्कुल र सार्वजनिक यातायात बन्द गरौं’

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिनु पहिल्यै सचेतताका कदम चाल्न सांसदहरूले सरकारको ध्यनाकर्षण गराएका छन् । प्रतिनिधिसभा बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले संसद्, विद्यालय र सार्वजिनक यातायातमा रोक लगाउन आग्रह गरेका हुन् ।

प्रतिपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले कोरोना संक्रमण फैलिनुपूर्व नै अत्यावश्यक कदम चाल्नुपर्ने बताए। कोरोनाको संक्रमण फैलिएमा नेपालले थेग्‍न सक्ने अवस्था नरहेकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाइ थियो। विश्व स्वास्थ्य संगठनले कोरोना प्रकोप विश्वव्यापी भएको भनेको कुरा उल्लेख गर्दै उनले अमेरिका, युरोप र अन्य धनी मुलुकले कोरोना प्रकोप रोक्न नसकेको भन्दै सरकारले पहिल्यै एक्सनमा आउनुपर्ने सुझाव दिएका थिए।

समाजवादी पार्टीकी सांसद रेणुकुमारी यादवले कोरोना संक्रमण फैलिए सरसफाइको व्यवस्था नरहेको संसद्‍मै जोखिम हुने बताइन्। उनले पटक-पटक हात धोएर सचेतता अपनाउनुपर्नेमा त्यस्तो व्यवस्था अरु ठाउँमा पनि नभएको बताइन्। ‘अरु देश पूर्वतयारीमा लागेका छन्। हाम्रो देशमा भने भाषण र विज्ञापन मात्रै भइरहेका छन्,’ उनले भनिन्।

सांसद रंगमती शाहीले ताक्लाकोटमा रहेका दार्चुला, बझाङ र हुम्लाका स्थानीयलाई उद्धार गर्न माग गरेकी छन्। कोरोनाको डरले चीनको ताक्लाकोटबाट १४८ जना नेपाली फर्किन चाहे पनि हुम्ला प्रशासन र गृहमन्त्रालयले कुनै पनि पहल नगरेको उनको भनाइ थियो। ४ जना गर्भवती रहेको उल्लेख गर्दै उनले सरकारले तत्काल कदम नचालेमा हुम्लाका जनता रोग र भोकले मर्ने अवस्था आउने बताइन्।

कोरोना प्रकोपले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक घटेको अवस्थामा नेपालमा भने उपभोक्ताले उच्च मूल्य तिर्नुपरेको राजेन्द्र केसीको भनाइ थियो। ‘पेट्रोलियम पदार्थको मूल्य विश्वमा व्यापक घटेको अवस्थामा नेपालमा भने त्यसो हुन सकेको छैन। पेट्रोलियम पदार्थको मूल्य बढ्दा हप्तामा ३ पटकसम्म बढाउने नेपाल आयल निगमले मूल्य घट्दा महिनौंसम्म पनि किन समायोजन गर्दैन?’

सांसद रामबहादुर विष्टले बजारमा स्यानेटाइजर, मास्क लगायतका सामग्रीमा कालोबजारी र मूल्यवृद्धि गरिएको भन्दै सरकारले तत्काल यसमा रोक लगाउनुपर्ने धारणा राखेका थिए।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा वर्षौंदेखि अड्किएका निजामती कर्मचारी र नागरिकतासम्बन्धी विधेयक तत्काल अगाडि बढाउन सांसद रामबाबुकुमार यादवले माग गरेका थिए। उनले ती विधेयक समितिबाट अगाडि नबढ्दा प्रदेश सरकारहरूले कर्मचारी भर्ना गर्न नसकेको र सयौं व्यक्ति नागरिकताविहीन भएर बस्नुपर्ने अवस्था आएको बताए।

पूर्वमन्त्री गोकुल बाँस्कोटा र पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि लागेको भ्रष्टाचारको छानबिनबारे जानकारी गराउन सांसद रेनुका गुरुङले माग गरेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका