Samacharpati
बिहिबार, चैत्र २७, २०७६
  • होमपेज
  • कसरी चिन्ने मनोरोग ! जान्नुहाेस कस्ता हुन्छन त मनोरोगका सङ्केत

कसरी चिन्ने मनोरोग ! जान्नुहाेस कस्ता हुन्छन त मनोरोगका सङ्केत

कसरी चिन्ने मनोरोग ! जान्नुहाेस  कस्ता हुन्छन त मनोरोगका सङ्केत

काठमान्डाैँ, १५ फागुन । मनोरोगलाई शारीरिक समस्याभन्दा पनि बढी खतरनाक समस्याको रुपमा मानिन्छ । नेपालमा कूल जनसंख्याको पाँचदेखि सात प्रतिशत मानिसहरु मानसिक समस्याबाट पीडित हुने गरेको भेटिएको छ ।

तथ्यांकअनुसार प्रति तीन जना एन्जाइटी र डिप्रेशनका बिरामीमध्ये दुई जना महिलाहरु हुने गरेका छन् । भारतमा प्रत्येक ६ जनामध्ये एक जना व्यक्तिहरु मनोवैज्ञानिक समस्याबाट पीडित हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ ।

तथ्यांकका अनुसार विश्वमा प्राय: ३० वर्षदेखि ४९ वर्ष उमेरका व्यक्तिहरुमा धेरै मनोरोगको समस्या देखिने गरेको छ । तर, यही उमेरका अधिकांश मनोरोगीहरुले आफूमा रहेको मानसिक समस्या समाजका कारण बाहिर नबताउने गरेको मनोचिकित्सकहरुको अनुभव छ ।

विभिन्न अध्ययनहरुले गाउँमाभन्दा शहरमा मानसिक रोगीहरूको संख्या बढी हुने गरेको औल्याएको छ । यसको मूल कारणको रुपमा गरिबीलाई लिने गरिन्छ ।

यद्यपि मानसिक समस्याहरु केवल ३३ देखि ४९ वर्ष उमेरका मानिसमा मात्रै नभएर यो जुनसुकै उमेरसमूहका मानिसहरुमा समेत लाग्न सक्ने मनोचिकित्सकहरु बताउँछन् ।

कसरी थाहा पाउने मनोरोगको संकेत ?

मनोचिकित्सकहरुले आ–आफ्नो बुझाई अनुसार मनोरोगको संकेतबारे बताउने गरेका छन् । मनोरोगलाई पनि विभिन्न किसिमले छुट्याउन सकिन्छ । दैनिक गतिविधिहरुमा धेरै खुशी नहुनु पनि एउटा मानसिक समस्याको संकेत हो ।

धेरै मानसिक समस्या भएका मानिसहरुलाई आफू कहिले खुशी भएको थिएँ ? भन्ने बारेमा समेत जानकारी हुँदैन । एक्लोपन रुचाउनु, आफैंले आफैंलाई घृणा भावले हेर्नु, आफूले आफैंलाई मार्न चाहनु समेत मनोरोगको लक्षण भित्र पर्छ ।

यी चीजहरू बाहेक कुनैपनि सामाजिक सञ्जाल या कतै आत्महत्याको समाचार या प्रयासबारे खोजी गर्नुजस्ता समस्याहरु समेत मानसिक समस्याका संकेतहरु हुन् ।

बेवास्ता गर्दा झनै समस्या

विशेषज्ञहरु मानसिक समस्याको संकेतलाई बेवास्ता गरिँदा यस्ता रोगीहरुमा गम्भीर समस्या देखिने गरेको बताउँछन् । अधिकतर मामलामा रोगीहरु समाजले के भन्छ भन्ने डरका कारण उनीहरु बाहिर देखिन चाहँदैनन् ।

सुरुवाती चरणमा सामान्य औषधिको प्रयोगले निको हुने भएपनि मानिसहरु ढिला गरी उपचार गर्न आउने गर्दा त्यसले झनै जटिलता थप्ने गरेको जानकारहरु बताउँछन् ।

मनोचिकित्सकहरुका अनुसार मानसिक समस्याको सुरुवाती चरणमा थेरापी, काउन्सिलिङबाट या सामान्य औषधिबाट मात्रै पनि उपचार हुने भएपनि समयमा उपचार गराउन नआउँदा सामान्य औषधिले समेत काम नगर्ने गरेको बताउँछन् । एक मनोचिकित्सकको सल्लाहबाट मात्र औषधिहरू कम वा बढी कुन मात्रामा लिने भन्ने यकीन गर्नुपर्छ ।

मनोचिकित्सकहरुले बिरामीको सामाजिक र आर्थिक स्थिति बारे समेत सचेत हुनुपर्ने हुन्छ । मानसिक अस्पताल पाटनका निर्देशक डा.मोहनराज लाखे मनोचिकित्सकहरुले अरुको तुलनामा धेरै सचेतता अपनाउनुपर्ने बताउँछन् ।

कुनैपनि मनोरोगीहरु आउने बित्तिकै उनीहरु कुन समाजबाट आएका हुन् ? उनीहरुको शिक्षा र योग्यता के हो जस्ता विषयमा ध्यान दिनुपर्ने उनको बुझाई छ । यस बाहेक, यदि उसलाई कसरी र कुन शैलीमा उपचार गर्ने भन्ने यकीन गरेर मात्रै उपचार सुरु गर्नुपर्ने सुनाउँछन् ।

कुनैपनि मनोरोगीहरु फरक फरक समस्याबाट पीडित हुनसक्छन् । कसैलाई शब्ददेखि नै वितृष्णा हुनसक्छ । कसैलाई रंगदेखि त कसैलाई कसैको व्यवहारदेखि । पहिले त्यसलाई ध्यान दिएर मात्रै उनीहरुको उपचार गर्न सुरु गर्नुपर्छ ।

विज्ञहरूले पनि कुन हदसम्म बिरामीले अरूलाई समस्या निम्त्याउँछ भन्ने आधारमा मात्रै व्यवहार गर्नुपर्छ । डिप्रेसनको समयमा मानव शरीरमा अक्सिटोसिनको उत्पादन कम हुन्छ ।

त्यही कारणले डिप्रेसनको समयमा मानिसहरु चाहेर पनि खुशी हुन सक्दैन । थेरापीबाट वा जीवनशैलीमा परिवर्तन गरेर नै यसबाट मुक्त हुन सकिन्छ ।

कुनै व्यक्ति आफैंमा सिद्ध हुँदैन । आफैंले आफैंलाई प्रतिकार गर्नु उपयुक्त हुँदैन । पूर्ण जीवन बाँच्नु र परिवारको दायित्व पूरा गर्नुमा समेत धेरै खुशी निहित हुन्छ । सन्तुलित खाना, नियमित व्यायाम, गलत कार्य नगर्नु, लागूपदार्थ र सुर्तीजन्य पदार्थबाट टाढा रहनु नै खुशीका कारणहरु हुन् ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका