Samacharpati
बुधबार, चैत्र १९, २०७६
  • होमपेज
  • महाशिवरात्रिको माहोल सगैँ पशुपतिमा थरि थरिका साधु बाबा

महाशिवरात्रिको माहोल सगैँ पशुपतिमा थरि थरिका साधु बाबा

महाशिवरात्रिको माहोल सगैँ पशुपतिमा थरि थरिका साधु बाबा

काठमाडौं, ७ फागुन । भस्मेश्वर घाटको पारिपट्टि चन्द्रशिवालय क्षेत्रमा बाहिरबाट आएका झण्डै दुई दर्जनजति साधुहरु सुतिरहेका छन् । केही साधुहरु मध्यदिनमा धुनी तापेर गाँजासँगै रमाइरहेका छन् । कोही साधुचाहिँ पशुपति क्षेत्रमा बञ्चरोले रुख ढालिरहेको अवस्थामा पनि भेटिए ।

चारैतिर रमितेहरुको भीड छ । छिनछिनमा छेवैमा रहेका एक साधु झट्ट रिसाउँछन् । ‘जुत्ता लगाएर धूनी टेक्न आउनी ? केको रमिता हो ?’ हिन्दी भाषामा उनको गर्जन सुनेपछि एकाएक सबैको सात्तो जान्छ । केही पछि हट्छन् ।

शिवरात्रिको दुई दिनअघि पशुपतिको भष्मेश्वर घाटको सम्मुखमा रहेको सो शिवालय क्षेत्रमा बाहिरबाट आएका पाहुना साधुहरुले खचिखचाउ भएको छ । त्यही भीडबाट एक साधुले साँझ प्रसाद खान आउने निम्तो दिन्छन् । अर्का साधु आफूले भस्म नदलेको भन्दै फोटो खिच्न इन्कार गर्छन् । यसरी नै चलिरहेको छ शिवरात्रिपूर्वको पाशुपत क्षेत्रको अवस्था ।

साधुहरुको हरेक गतिविधिमा अमूर्त सम्पदाको झल्को पाइन्छ । त्यही गतिविधिले रोमाञ्चक बन्छ पशुपतिको माहोल । दिनभरि चिरनिद्रमा हराउने र रातभरी साधनामा लिप्त हुन्छन् वास्तविक अघोरी एवं साधकहरु । अरुको भने हामीहरुको जस्तै सामान्य जनजीवन हुन्छ भने केहीको मागिखाने भाँडो हो– पशुपतिको जात्रा ।

पशुपतिमा आएका केही साधुहरुलाई यात्राको बारेमा कुराकानी गर्दा धेरै भारतका विभिन्न प्रान्तहरुबाट आएका साधकहरु भेटिन्छन् । नाथ, अघोर, कापालिक जस्ता सम्प्रदायमा आवद्ध भएका साधकहरुले आफ्नो सम्प्रदायका साधुहरुको पहिरन र व्यवहारमा नै उनीहरुको परिचय भेटिन्छ । अघोरीहरु प्रायः अरुसँग धेरै कुराकानी गर्न रुचाउँदैनन् । उनीहरु केही समय शयन गर्छन् भने बाँकी समय साधनामा नै समय बिताउँछन् । उनीहरुको साधना विशेषगरी राति धेरै चल्ने गरेको उनीहरु बताउँछन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार यो वर्ष मात्रै पाँचदेखि छ हजारको हाराहारीमा विभिन्न सम्प्रदायका साधकहरु पशुपति आउने अनुमान गरिएको छ । यद्यपि अहिलेसम्म भने आधा पनि साधकहरु आएका छैनन् । बाहिरबाट आएका साधकहरुको लागि खान र बस्नको लागि चन्द्र शिवायल क्षेत्रमा नै व्यवस्थापन मिलाइएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

हातमा श्रीरामको नाम लेखिको बाला, शिरमा नारायण र विष्णुको नाम अंकित काठैकाठले बनेको टोपीमा सजिएर एक साधु क्यामेराको नजिक आए । उनी आफूलाई श्रीरामका भक्त भन्न रुचाउँछन् । तर, शिवरात्रि मनाउनको लागि अहिले पशुपति क्षेत्रमा आएको बताउने उनी आफू शिवको समेत अनुयायी रहेको बताउँछन् । तिनै ‘रामभक्त’ साधक पशुपतिमा आकर्षणका केन्द्र थिए । भस्म दलेर पशुपतिमा बाबाहरु विष्णुका भक्त हुनु धेरैको लागि अचम्मको विषय बन्नसक्छ । तर, उनी भने शिरमा श्रीरामको नाम राखेर शिवको आराधना गर्न पशुपति आएको बताउँछन् ।

‘वशुधैव कुटुम्बकम्’ पशुपति क्षेत्र विकास कोषको स्लोगन हो यो । महाशिवरात्रिको माहोल चलिरहँदा पवित्र धार्मिक स्थल पशुपति क्षेत्रमा आएकाहरुलाई यही श्लोगनले पनि अपनत्व अनुभव गराएका बताउँछन् केही साधकहरु । यतिबेला नेपालका विभिन्न ठाउँहरु र भारतबाट समेत साधकहरुको आगमन बढ्ने क्रम जारी हो । त्यसैमध्येका एक हुन् चरणदास ।

उनलाई यो श्लोगनले धेरै मन छोएको उनी सुनाउँछन् । अयोध्याको एक शैव अखडाबाट शिवरात्रिका लागि पशुपति आएका चरण दास मंगलबारमात्रै काठमाडौं आइपुगेका हुन् । उनीसँगै ५ जनाको टोली दुई दिन लगाएर काठमाडौं आएको हो । श्रीरामको जन्मभूमिमा बसोबास गर्ने शिवभक्त दासको अयोध्यादेखि काठमाडौंसम्मको यो पहिलो धार्मिक यात्रा हो । उनी शिवरात्रि सम्पन्न भएपछि मुक्तिनाथसम्म पुग्ने तयारीमा छन् । तर, धेरै चिसो हुन्छ भन्ने सुनेकोले जाने वा नजाने भन्ने विषयमा यकीन नभएको उनी सुनाउँछन् ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका