Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६
  • होमपेज
  • पोखरामा ‘मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ शुभारम्भ,

पोखरामा ‘मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ शुभारम्भ,

दक्ष भैसकेपछि ‘इन्टर्नशिप’का लागि अष्ट्रेलिया

पोखरामा ‘मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ शुभारम्भ,

पोखरा, १ फागुन । अन्तराष्ट्रिय मापदण्डको हस्पिटालिटी ट्रेनिङ उपलब्ध गराउने लक्ष्य सहित पोखरामा ‘मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ संचालनमा आएको छ । हस्पिटालिटी क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पुर्ती गर्ने लक्ष्यसहित यो ट्रेनिङ सेन्टर संचालनमा ल्याईएको यसका संचालकले बताएका छन् ।

करिब १ करोडको लगानीमा यो इन्स्टिच्यूट संचालनमा आएको हो । इन्स्टिच्यूट संचालनमा आएपनि पहिलो इन्टेकका कक्षाहरु मार्च १ देखि शुरु हुने कम्पनीले जनाएको छ । हस्पिटालिटी क्षेत्रमा देखिएको दक्ष जनशक्ति अभाव यो इन्स्टिच्यूटले पुर्ती गर्ने कम्पनीका संचालक राजमान थकालीको विश्वास छ ।

‘पोखरा हस्पिटालिटीका लागि नेपालकै केन्द्र हो भन्दा फरक पर्दैन । तर पनि यहाँ हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्ति अभाव छ । र, त्यहि अभावलाई पुर्ती गर्ने र स्थानिय युवापुस्तालाई अन्तराष्ट्रियस्तरमै बिक्न सक्ने गरि दक्ष बनाउने हाम्रो चाहना हो ।’ मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटीको उद्घाटनको क्रममा थकालीले भने–‘त्यसैले अन्तराष्ट्रियस्तरकै पुर्वाधार र प्रशिक्षकहरुबाट हामीले उनीहरुलाई सिकाउनेछौँ ।’

कुलिनरी आर्टस् (कुकरी) र बेकरीको अन्तराष्ट्रिस्तरको तालिम दिईने कम्पनीले जनाएको छ । फाउन्डेशन, डिप्लोमा र एड्भान्स डिप्लोमा गरि तीन तहमा कक्षाहरु संचालन हुने संचालकले बताए । नेपालकै पहिलो सेफ नरहरी अधिकारी इन्स्टिच्यूटका प्रमुख प्रशिक्षक हुन् ।

‘मलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ यूकेको ‘सिटी एण्ड गिल्ड’बाट सम्बन्धन प्राप्त ट्रेनिङ सेन्टर हो । ‘सिटी एण्ड गिल्ड’ क्विन एलिजाबेथको नेतृत्वमा रहेको गैरनाफामुलक संस्था हो । जसले विश्वभर विभिन्न प्राविधिक शिक्षाहरु दिँदै आएको छ । संसारका धेरै मुलुकमा यो संस्थाको शाखाहरु संचालनमा छन् । यो संस्थाले थुप्रै प्राविधिक विषयमा सर्वसाधारणलाई प्रशिक्षण गर्दै आएको छ । र, यस संस्थाबाट प्रशिक्षण लिएका दक्ष जनशक्ति विश्व बजारमा अब्बल मानिन्छन् ।

इन्स्टिच्यूटबाट प्रशिक्षण लिईसकेपछि प्रशिक्षार्थीहरुले यूकेबाट सर्टिफिकेट पाउनेछन् । र, सोही सर्टिफिकेटका आधारमा उनीहरुलाई एकबर्षे इन्टर्नशिपका लागि विदेश जान पाउने अवसर पनि रहेको छ । ‘यहाँ तालिम लिईसकेपछि विद्यार्थीहरु सोझै काम गर्न सक्ने गरि तयार हुन्छन् । र, नेपालमै एक बर्षसम्म काम गरिसकेपछि अर्को बर्ष इन्टर्नशिपका लागि अष्ट्रेलिया जान सक्छन् ।’ संचालक राजमान थकालीले भने–‘यद्यपि यो अवसर भने विद्यार्थीको दक्षतामा पनि भर पर्छ । र, इन्स्टिच्यूटले नै उनीहरुलाई इन्टर्नशिपका लागि सहजीकरण गरिदिन्छ ।’

कुलिनरी आर्टस् र बेकरी सम्बन्धि डिप्लोमा कोर्ष करिब ६ महिना अवधीको हुनेछ । त्यस्तै एड्भान्स डिप्लोमा कोर्ष करिब ९ महिनाको हुनेछ । एउटा इन्टेकमा विद्यार्थीहरुलाई दुई सिफ्ट गरेर प्रशिक्षण दिईने इन्स्टिच्यूटले जनाएको छ । इन्स्टिच्यूटका अनुसार एउटा इन्टेकमा २४ जना विद्यार्थीहरु अध्ययन गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका