Samacharpati
शुक्रबार, फाल्गुन ९, २०७६

”गजल”

”गजल”

खड्का महेन्द्र कुमार 

माया गर्छु भनी मलाई त आखिरीमा दास बनायौ
नामको मात्रै बाँचेको छु मलाई ज्युँदो लास बनायौ

खेल्यौ मेरो भावना सङ्ग कुन जुनीको बदला लिन
मेरो मनमा पिरै पिरको कति ठुलो यो रास बनायौ

जे जे भन्यौ माने मैले हेर निश्छल थियो मेरो माया
छल गरेर छोड्यौ मलाई अर्कैलाई पो खास बनायौ

मुखमा रामराम बगलीमा छुरा भने जस्तै गरीकन
चपाउँदा ढुङ्गा लागेर ओकलेको त्यो गास बनायौ

तिम्रो जीवन सुख अनि हर्षका साथ बितोस् सधैं
मेरो मायाको गला रेट्यौ जीवन सत्यनाश बनायौ

 

गजल -२

परिवारसँग बिताएका प्रत्येक पलको याद आयो
घर छोड्ने अघिल्लो रातको आँसु भलको याद आयो

समुन्द्रको तिरमा बस्छु तिर्खा मेट्न सकिदैन नि
गाउँ घरकै जरुवा त्यो मूलको जलको याद आयो

खेतबारी बाँझो राखी बसेको छु परदेशमा अहिले
हिड्ने बेला मैले बेचेका ती गोरु हलको याद आयो

अरबमा आएर नि सकिन पैसा पठाउन घरमा मैले
फाटेको त्यो तिम्रो चोली मखमलको याद आयो

मुटु छुन्छ सिरेटोले जाडोको यो मौसममा अहिले
दुबै मिली ओढेको तिम्रो न्यानो सलको याद आयो

फेदिखोला १ विर्ता स्याङ्जा

हाल अरबको खाडी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका