Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • भेरी करिडोर अन्तर्गत पर्ने पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु

भेरी करिडोर अन्तर्गत पर्ने पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु

भेरी करिडोर अन्तर्गत पर्ने पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु
हेमन्त केसी, जाजरकोट, २९ पुस । अस्थायीरूपमा ट्र्याक खुलेर यातायात सञ्चालन हुन थालेको १४ वर्षपछि पासागाड–रिम्ना सडकखण्डको कालोपत्र गर्ने कार्य शुरु भएको छ । भेरी करिडोरअन्तर्गत पर्ने जिल्ला सदरमुकामको पासागाडबाट रिम्नासम्मको पहिलो चरणमा कालोपत्रको काम शुरु गरिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । आज डिभिजन कार्यालयले बोलपत्र आह्वान गरेर कामको शुरुआत गरेको हो ।
जाजरकोटको पासागाडबाट डोल्पासम्म पर्ने भेरी करिडोरअन्तर्गत बहुवर्षे ठेक्कामार्फत काम शुरु गरिएको छ । पहिलो चरणमा पासागाड–रिम्ना सडकखण्डको काम शुरु गर्ने प्रक्रिया अगाडि बढेको छ भने दोस्रो चरणमा रिम्ना–चिसापानी हुँदै तल्लुसम्मको काम शुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ । छिन्चु–जाजरकोट सडकखण्डमा पासागाडसम्म कालोपत्र भएकाले त्यहाँबाट रिम्नासम्म पहिलो चरणमा कालोपत्र गर्न लागिएको हो । भेरी करिडोरअन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम यो आर्थिक वर्षबाट शुरु भइसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतको भेरी करिडोरमा तत्काल कालोपत्र गर्ने चुनावी नारासमेत रहेको थियो । अस्थायी ट्र्याक खोलेको १४ वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यस सडकखण्डमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका थिए ।
जाजरकोट–डोल्पा सडकखण्डकको मुख्य भाग रहेको यस खण्डमा कच्ची तथा साँघुरो सडक हुँदा आधा दर्जन दुर्घटनासमेत भइसकेका छन् । वर्षायाममा वर्षेनी अवरुद्ध हुँदै आएको यस खण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गरेका छन् । अठ्ठाइस किलोमिटर सडक पहिलो चरणमा काम हुने छ । बहुवर्षे ठेक्काअनुसार काम पूरा गर्दै अगाडि बढ्दै जाने लक्ष्यका साथ काम शुरु भएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । कालोपत्रसँगै पुल निर्माण शुरु भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माणकार्यसमेत शुरु गरिएको छ । जाजरकोटतर्फको नलगाड नदीमा डिपिआरको काम सकेर बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ । त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको बाँकेज्यूलामा पुल निर्माणकार्य अगाडि बढेको छ । भेरी नदीमा ठूला पुल निर्माणका लागि डिपिआरको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बोलपत्र आह्वान गरेर काम शुरु गरिने जनाइएको छ ।
आगामी असोजमा पुल निर्माणकार्य पूरा गर्ने उद्देश्यका साथ काम भइरहेको सडक विभागले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करपगाड खोला, खदाङ्गको हरियापानीस्थित ठूलीभेरी नदी, त्रिपुराकोटको छलगाडखोला, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो । सडक विभाग र बिएनबी कन्सल्टेन्सीले पुलको अन्तिम नक्साङ्कन सम्पन्न गरी काम अगाडि बढाउन लागेको जानकारी दिएको छ । करीब ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्र्याक खोल्ने कार्य नेपाली सेनाले २०७५ मङ्सिर ४ गते सम्पन्न गरेको थियो । निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ गते सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो । विद्युत आयोजना निर्माणमा सहजता आउने भेरी करिडोरभित्रका सडकमा कालोपत्र पुलको काम शुरु भएसँगै सडकभित्र पर्ने नलगाड जलविद्युत् आयोजना र जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि सजिलो हुने भएको छ । आयोजना निर्माणका लागि लग्नुपर्ने कच्चा पदार्थ तथा आवश्यक उपकरण र विद्युत् लैजानसमेत सजिलो हुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका