Samacharpati
शनिबार, माघ ११, २०७६
  • होमपेज
  • तेक्वान्दोमा अब्बल दाङकी सुनिता

तेक्वान्दोमा अब्बल दाङकी सुनिता

तेक्वान्दोमा अब्बल दाङकी सुनिता
रीता लामा, घोराही, २९ पुस । भारतमा भएको सिनियर महिला ४६ केजी तौल समूहमा दाङकी सुनिता विष्टले दुई स्वर्ण पदक जित्नुभयो । घोराही–१० ठाँटीगाउँ जन्मघर भएकी सुनिताले गत पुस १२ गते भारतको पश्चिम बङ्गालको असानसोलमा भएको प्रथम खुला अन्तरराष्ट्रिय तेक्वान्दोतर्फ नेपालको प्रतिनिधित्व गर्दै उक्त समूहमा स्वर्ण जित्नुभएको हो । त्यसको दुई दिनपछि पुस १४ गते पश्चिम बङ्गालकै कोलकातामा भएको सिनियर महिला १८ वर्षमाथि पुम्से विधामा थप स्वर्ण जित्नुभयो ।
उहाँले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलमा आफ्नो क्षमता देखाएर सफलता पाउनुभएको छ । अन्तरराष्ट्रियस्तरमा भने उहाँले पहिलोपटक पदक जित्नुभएको हो । सानै उमेरमा आफ्नो लगनशीलता, मेहेनत र परिश्रमले देशको गौरवलाई खेलमार्फत परिचित गराउनुभएकी २० वर्षीया विष्ट घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँले पढाइसँगै आफ्नो खेललाई निरन्तरता दिनुभएको छ । न उहाँको आफन्तमा कोही खेलमा रुचि राख्ने थिए, न त छरछिमेकी । न त उहाँको स्कूलमा कुनै खेलकूद हुन्थ्यो, न गाउँको वातावरण नै खेलकुदमय छ । खेलका लागि आफ्नो नजिकमा कुनै वातावरण नभए पनि ग्रामीण दूरदराजमा जन्मिएर उहाँ अहिले खेलमा अब्बल सावित हुनुभएको छ ।
खेलकूदको कुनै वातावरण नभएको परिवार र गाउँमा जन्मिनुभएकी विष्ट अहिले अन्तरराष्ट्रियस्तरको खेलाडी बनिसक्नुभएको छ । गाउँमा अझै उहाँ खेलाडीले लगाउने सेतो कपडा लगाएर हिँडेको, प्रतिस्पर्धाका लागि अभ्यास गरेको देख्दा आफन्त, छरछिमेकी खिसी गर्छन् । “खेल सिक्दा शारीरिक अभ्यासस्वरुप ‘पुसअप’ गर्दा हातमा ठेला परेको छ”, हत्केला देखाउँदै उहाँले भन्नुभयो, “हत्केला पछाडिको भागमा कालो रङ बसेको छ, छोरी मान्छेको खस्रो हात हुनु राम्रो लक्षण होइन भन्ने गर्छन ।” खेल खेल्दा आफन्तले बिहेको विषय उठाउने गरेको उहाँलाई मन पर्दैन । महिलाको अन्तिम गन्तव्य नै बिहे भन्ने समाजलाई उहाँले त्यसको विपरीत मान्छे ‘कुट्ने’ खेल खेलेर सबैलाई चकित पार्नुभएको छ । कहिलेकाहीँ खेलमा सहयोग गर्ने भएनन् कि भन्ने अनुभव उहाँको मनमा आउँछ । विष्टले कक्षा ७ मा पढ्दादेखि नै खेल खेल्न थाल्नुभयो । हापुर गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्दै गर्दा स्व दिलीप केसीले उहाँलाई खेल्न सिकाउनुभयो ।
तोक्वान्दोमा रुचि जगाउनुभयो । सामान्यरुपमा खेल्दै सिक्दै गर्दा उहाँलाई अहिले तोक्वान्दो नशा, पेशा र दैनिकी बनेको छ । विसं २०७३ मा उहाँ बस दुर्घटनामा पर्नुभयो । विष्टको देब्रे हात भाँच्चियो । रड हाल्नुपर्यो । केही समय खेलबाट विश्राम लिनुपर्यो । त्यसले उहाँको रुचि घटाएन । भन्नुहुन्छ, “हातको रड निकालेर फालेपछि फेरि तेक्वान्दो गुरु दीपक केसीसँग भेट भयो, उहाँले खेल्नको लागि प्रेरित गर्नुभयो ।” विद्यालयका बालबालिकालाई उहाँ बिहानमा तेक्वान्दो सिकाउनुहुन्छ । आफु प्रत्येक दिन अभ्यास गर्नुहुन्छ । विष्ट हाल घोराहीको अल्फा तेक्वान्दो डोजाङ्ग क्लबसँग आबद्ध भएर खेलिरहनुभएको छ । पर्याप्त खेलकूद प्रतियोगिताको आयोजना नहुनु, राज्यस्तरबाटै यसको बेवास्ताजस्ता कारणले उहाँलाई खिन्न बनाउँछ । जिम्मेवार निकायको सोच फराकिलो नबन्दासम्म देशको खेलकूदको अवस्था सुध्रिन नसक्ने उहाँको बुझाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका