Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • देवघाट माघे सङ्क्रान्ति मेलामा मांस र मदिरा निषेध

देवघाट माघे सङ्क्रान्ति मेलामा मांस र मदिरा निषेध

देवघाट माघे सङ्क्रान्ति मेलामा मांस र मदिरा निषेध
नवलपुर, २८ पुस । नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने पौडेलले बताउनुभयो । देवघाट मेलाको नामले समेत परिचित मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ ।

मेलामा खानेपानी, विद्युत्, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी गरिएको पौडेलले बताउनुभयो । देवघाटमा माघे सङ्क्रान्ति मेला भर्नका लागि अघिल्लो रातबाट नै भक्तजनहरु आउने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको पौडेलको भनाइ छ । दर्शनार्थीलाई हिँड्न र स्नान गर्न सहज होस् भनेर बाटो सम्याउने, ढुङ्गा राख्ने काम भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताउनुभयो । देवघाटको जीर्ण बन्दै गएको झोलुङ्गेपुलसमेत मर्मत गरी दुई लाममा भक्तजनलाई नदी वारपार गर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिनुभयो ।

मेला अवधिभर देवघाट क्षेत्रमा मांस मदिरापान निषेध गरिएको घिमिरेले बताउनुभयो । अघिल्ला वर्षका मेलामा कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोरको टोली मात्रै उद्धारमा खटिने गरेकामा यस वर्षबाट नेपाली सेनाको गोताखोर टोलीसमेत थपिएको घिमिरेले बताउनुभयो । गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली र मुक्तिनाथबाट आएकी कालीगण्डकीको वेणी सङ्गम देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दूहरु पनि यस दिनमा स्नान गर्न यहाँ आउने गर्दछन् । माघे सङ्क्रान्तिमा देवताहरु पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने मान्यता रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

Audio News

धेरै कमेन्ट गरिएका