Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराले जालो लगायो

घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराले जालो लगायो

घुम्ती शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराले जालो लगायो
भद्रपुर, २३ पुस । झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् । गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण गरेका थिए । गाउँपालिकाले तीन जना घुम्ती शिक्षक कम्प्युटर पढाउन नियुक्तसमेत गरेको छ ।
शिक्षकले पढाउन नभ्याउँदा विद्यालयको कोठामा रहेका कम्प्युटरमा माकुराले जालो लगाउन थालेका छन् । प्रधानाध्यापक रामबहादुर बुढाथोकीले विद्यालयसँग कम्प्युटर शिक्षक नभएको र गाउँपालिकाका घुम्ती शिक्षक नियमित नआउँदा दाताले दिएका कम्प्युटर प्रयोगविहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घुम्ती शिक्षक हुनुहुन्छ, कहिले महिनामा एकपटक त कहिले १५ दिनमा आउनुहुन्छ ।” कक्षा ५, ६, ७ र ८ मा कम्प्युटर विषय पठन पाठन हुन्छ ।
विद्यार्थीले व्यवहारिकता बिना किताबका सैद्धान्तिक शिक्षा पढेका र सुनेका भरमा परीक्षा दिन विवश रहेका छन् । आदिवासी राजवंशी समुदायको बाहुल्य रहेको बाह्रदशी गाउँपालिकामा पाँच माध्यमिक तहसहित १६ सामुदायिक विद्यालय छन् ।
ती विद्यालयमा कम्प्युटर पढाउन गाउँपालिकाबाटै तलब खुवाउने गरी तीन जना घुम्ती शिक्षक नियुक्त गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल बताउनुहुन्छ । उहाँले न्यून सङ्ख्यामा रहेका कम्प्युटर विषयका शिक्षकले विभिन्न विद्यालयमा आलोपालो पढाउनुपर्ने बाध्यता रहेको हुँदा समस्या आएको बताउनुभयो । विद्यालयमा कक्षाकोठा र शिक्षक दरबन्दीको समेत अभाव रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका