Samacharpati
मंगलबार, फाल्गुन १३, २०७६
  • होमपेज
  • कर्णाली आयुर्वेद औषधालयमा औषधिको अभाव

कर्णाली आयुर्वेद औषधालयमा औषधिको अभाव

कर्णाली आयुर्वेद औषधालयमा औषधिको अभाव
मानदत्त रावल जुम्ला, २२ पुस  ।  कर्णाली आयुर्वेद औषधालयमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि औषधि अभाव भएपछि औषधालयमा आउने बिरामी मर्कामा परेका हुन् । स्थानीय जन्मकन्या रावतले औषधि नहुँदा आफू खाली हात फर्कन बाध्य भएको गुनासो गर्नुभयो । औषधिको अभाव भएपछि औषधालयमा कार्यरत छ कर्मचारीले कार्यालय खोल्ने र हाजिर लगाउने काममात्रै गर्ने गरेका छन् । औषधालयकी वैद्य सुमित्रा आचार्यले पनि औषधि नभएकाले आउने बिरामीलाई सेवा गर्न नसकिएको बताउनुभयो । उहाँले औषधालयमा औषधि नहुँदा सेवासमेत ठप्प रहेको बताउनुभयो ।
औषधालयमा ग्याष्ट्रिक, पायल्स, बाथ रोग, रागन र नसासम्बन्धी रोगको उपचार हुँदै आएको भए पनि औषधि नहुँदा सोही अनुसारको नभएको वैद्य आचार्यले बताउनुभयो । औषधालयमा औषधि नपाउँदा आफू लगायतका सेवाग्राही रित्तै फर्किएको चन्दननाथ नपा–१० का मदनमोहन देवकोटाले गुनासो गर्नुभयो । चिसो महिना शुरु भएपछि औषधालयमा बिरामीको चाप बढेको भए पनि सेवा नपाउँदा रित्तै फर्किने गरेको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम केसीले गत आर्थिक वर्षदेखि हालसम्म औषधालयका लागि औषधि खरिद हुन नसक्दा समस्या आएको बताउनुभयो । उहाँले केही दिनभित्रै औषधि खरिद गरी औषधालयलाई दिने तयारी भइरहेको जानकारी दिनुभयो ।
जुम्लासहित मुगु, कालीकोट, डोल्पा जिल्लाबाट दैनिक ५० बिरामीले औषधालयबाट सेवा लिँदै आएका औषधालयले जनाएको छ । कारागारमा स्वास्थ्यकर्मी नभएपछि उपचारमा समस्या जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार कार्यालयमा अहेबको दरबन्दी भए पनि अहिले रिक्त भएकाले उपचारमा समस्या भएको हो । कारागारमा कार्यरत अहेब शुक्रराज शाही तीन महिनाअघि हिमा गाउँपालिकामा सरुवा भई गएपछि पदपूर्ति नहुँदा कारागारमा कैदीबन्दीको नियमित स्वास्थ्य उपचार तथा परीक्षणमा समस्या भएको कारागार प्रमुख गयाप्रसाद पाण्डेले बताउनुभयो ।
“स्वास्थकर्मी नभएको समयमा कैदीबन्दी बिरामी भएपछि जुनसुकै बेला पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा लिने गरेका छौँ”, उहाँले भन्नुभयो । हिउँदको समयमा चिसोले रुघाखोकीको समस्या, हातगोडा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिने गरेका जानकारी दिँदै उहाँले भन्नुभयो, “नयाँ स्वास्थ्यकर्मी नआउँदा उपचारमा समस्या भएको छ, स्वास्थ्यकर्मी पदपूर्तिका लागि कारागार विभागमा माग गरेका छौँ तर अहिलेसम्म आउनुभएको छैन, कैदीबन्दीलाई अस्पताल लाँदा ल्याउँदा खर्च बढेको छ ।”
नियमित पानी र बत्तीको समेत समस्या कारागारमा नियमित पानी र बिजुली नआउँदा समस्या हुने गरेको कैदी खाम्मा रावतले गुनासो गर्नुभयो । धारा एउटै भएपछि पानीका लागि कैदीबन्दीको लाइन लाग्ने गरेको र कहिले सोही कारण झगडासमेत हुने गरेको उहाँले बताउनुभयो । कारागारको क्षमता ८० महिला र १२० पुरुष गरी २०० रहेको कारागारमा अहिले दुई महिलासहित ६६ कैदी र २३ थुनुवा रहेकामा विद्युत्भार कटौती बढी हुने भएकाले नियमित बिजुली नहुँदा प्रशासनमा सुरक्षा चुनौती पनि बढेको कारागार प्रमुख पाण्डेको भनाइ छ ।
यस विषयमा खलङ्गा साना जलविद्युत् उपभोक्ता समितिलाई माग गरेको भए पनि सुनुवाइ नभएको कारागार उहाँले बताउनुभयो । खलङ्गा साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले कारागारबाट नियमित बिजुली उपलब्ध गराउने कुरा आएको भए पनि बिजुलीको क्षमता कम र खपत बढी भएकाले उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका