Samacharpati
बुधबार, असार २४, २०७७
  • होमपेज
  • स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै कास्कीको रुपा गाउँपालिका

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै कास्कीको रुपा गाउँपालिका

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै कास्कीको रुपा गाउँपालिका
जमुनावर्षा शर्मा  पाेखरा, १८ पुस । ‘विकास र समृद्धि’को नारा बोकेको कास्कीको रुपा गाउँपालिकाले स्थानीयवासीको जीवनस्तर परिवर्तन केन्द्रित कार्यक्रमलाई जोड दिँदै आएको छ । गाउँपालिकाले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी स्थानीय श्रमलाई आर्थिक रुपान्तरणमा जोड दिने उद्देश्य गाउँपालिकाको रहेको गाउँपालिका प्रमुख नवराज ओझाले बताउनुभयो ।
केही समयअघि बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई स्थानीय उत्पादन ‘ठेकी’ उपहार दिएर चर्चामा आएको रुपा गाउँपालिकाले विशेषगरी स्थानीयवासीको जीवनस्तरमा गुणात्मक विकासका लागि कृषिलाई विशेष जोड दिएर कार्यक्रम गर्दै आएको छ । ‘एक गाउँ एक उत्पादन’ भन्दै पकेट क्षेत्र बनाएर काम गरेको प्रमुख ओझाले बताउनुभयो । “हाम्रो एक मात्र उद्देश्य स्थानीयवासीको जीवनस्तरमा गुणात्मक परिवर्तनका लागि आत्मनिर्भर बनाउने हो । हामी सफल हुँदै गएका छाैँ ।” शिक्षा स्वास्थ्य खानेपानीलगायतका आधारभूत कुरालाई गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेर स्थानीयवासीलाई लाभान्वित तुल्याएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ कूल रु ३७ करोड बजेटमा विकास बजेट रु १३ करोड रहेको छ भने कृषिका लागि रु एक करोड ५० लाख रकम छुट्याएको छ ।
विशेषगरी तरकारी, फलफूल, गहुँ, धानलगायतका बालीलाई प्राथमिकता दिएको ओझाको भनाइ छ । व्यवसायी तरकारी खेतीका लागि शीतभण्डारको समेत व्यवस्था गाउँपालिकाले गरेको र कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश र सङ्घ सरकारसँग समेत समन्वय गरेर योजना बनाइरहको उहाँले बताउनुभयो । “हामीले कृषिमैत्री वातावरण तयार गरी उत्पादन बढाउने र त्यसलाई बजारसँग जोड्नसमेत व्यवस्था गरेका छौँ ।” स्थलगत निरीक्षण कृषकको चाहना र उपयुक्त वातावरणको अध्ययनबाट अनुदान दिँदै आएकाले यसले कृषकलाई थप ऊर्जा मिलेको उहाँको भनाइ छ । गाउँपालिकाको कुनै पनि कार्यक्रममा स्थानीय उत्पादनलाई नै प्रयोग गर्ने र उपहारस्वरुप स्थानीय उत्पादन नै दिने नीति बनाएर त्यसलाई अवलम्बन गर्दै आएको छ ।
यसले स्थानीयवासीले उत्पादनको मूल्य पनि पाउने र थप व्यावसायिक हुन प्रोत्साहन गर्ने उहाँको भनाइ छ । गाउँपालिकाले कार्यपालिकाको बैठकबाट स्थानीय उत्पादन र वस्तुमात्र कोशेलीका रूपमा दिने निर्णय गरेको थियो । यहाँका कृषक राजेन्द्र न्यौपाने पनि गाउँपालिको स्थानीय उत्पादन प्रोत्साहन नीतिबाट लाभान्वित भएको बताउनुहुन्छ । “अहिले १०० घार मौरी पालेको छु । मह उत्पादनको बजारीकरणका लागि गाउँपालिकाले निकै सहयोग गरेको छ ।” हरेक कार्यक्रममा गाउँपालिकाले मह, घ्यू, अनदीको चामल उपहारस्वरुप दिने गर्दा कृषकलाई प्रत्यक्ष फाइदा पुगेको उहाँको भनाइ छ । कृषक न्यौपानेले मह एक मानाको रु ८०० मा बिक्री भएको र उत्पादनले राम्रो बजार पाएको बताउनुभयो ।
यसका साथसाथै विदेशमा भएका युवालाई स्वदेश फर्काउने र स्वदेशमा भएकालाई प्राविधिक शिक्षा एवं तालीम प्रदान गरेर स्वदेशमै रोजगारी बनाउने लक्ष्य गाउँपालिकाको रहेको ओझाले बताउनुभयो । यसका लागि गाउँपालिकाले तीन विद्यालय ‘गाउँ फर्क मावि,’ ‘विश्व शान्ति मावि’, ‘रामकोट मावि’मा सिभिल इन्जिनीयरिङ, भेटेरेनरी र कृषिको पढाइ हुँदै आएको छ । भौतिक पूर्वाधारतर्फ पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । पचासी किलोमिटरको काम भइरहेकामा अहिले १३ किलोमिटर कालोपत्र भइसकेको र बाँकी काम भइरहेको प्रमख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो । त्यसैगरी चार हजार ५०० घरधुरीमा हाल तीन हजार ८०० को घरमा खानेपानी पुगिसकेको छ भने बाँकीको घरमा पनि खानेपानी पुर्याउने योजनालाई तीव्र पारिएको छ ।
गाउँपालिका पर्यटनको दृष्टिकोणले निकै उत्कृष्ट मानिन्छ । बेलायतका राजकुमार चाल्स र पूर्व राजकुमार दीपेन्द्रले पदयात्रा गरेका पदमार्गको ‘रोयल ट्र्याक’ संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजनासमेत अघि बढाएको छ । गाउँपालिकाको ३२ डाँडा जोडेर अन्तरराष्ट्रिय उद्यान बनाउने वृहत् योजना पनि रुपा गाउँपालिकाले लिएको छ । हिमशृङ्खलाका मनोरम दृश्यसँगै पोखरा शहरलगायत लमजुङ र तनहुँका मनोरम दृश्य र सात ताल देखिने भएकाले पनि यस क्षेत्रको पर्यटकीय महत्व रहेको पोखरेलको भनाइ छ । रुपाकोट रिसोर्टले पनि यस क्षेत्रको परिचयलाई थप उजागार गरेको उहाँ बताउनुहुन्छ । करीब २२ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा ४१ जातजातिको बसोबासले सांस्कृतिक विविधताको पनि उत्कृष्टता नमूना रहेको उहाँ बताउनुहुन्छ । ९तस्वीर छ०

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका