Samacharpati
बिहिबार, जेष्ठ २२, २०७७
  • होमपेज
  • मर्यादित र स्वतन्त्र मिडियाको विकास हुनुपर्छः सञ्चारमन्त्री

मर्यादित र स्वतन्त्र मिडियाको विकास हुनुपर्छः सञ्चारमन्त्री

मर्यादित र स्वतन्त्र मिडियाको विकास हुनुपर्छः सञ्चारमन्त्री

धनगढी, १७ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो व्यवसायप्रति आत्मनिर्भर भई मर्यादित र स्वतन्त्र ढङ्गले बाँच्ने आधार भएको मिडियाको विकास गर्नुपर्ने बताउनुभएको छ । यहाँ निर्माण सम्पन्न भएको नेपाल पत्रकार महासङ्घ कैलाली शाखा भवनको आज उद्घाटन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो,“कोही कसैको दवाव पुग्न नसक्ने प्रेस बनाउन सकिएमा मात्र स्वतन्त्र प्रेस भएको मान्न सकिन्छ ।”

नेपाली मिडियालाई आगामी दिनमा प्रदेशस्तरबाट नै सेवा सुविधा पाउने गरी एकीकृत कार्यालयको स्थापनाको पहल गरिएको जानकारी दिँदै मन्त्री बाँस्कोटाले सातै प्रदेशमा स्थापना हुने एकीकृत कार्यालयबाट नै लोककल्याणकारी विज्ञापन, प्रेस पास, उजूरी गर्नेलगायत सेवा पाउन सकिने बताउनुभयो । सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा ‘होडिङ बोर्ड‘ राख्न नपाउने व्यवस्था गरिएकाले मालवस्तु बेच्नेहरुले मिडियाको सहारा लिनुपर्ने अवस्थाले नेपाली प्रेस लाभान्वित हुने उहाँले बताउनुभयो ।

हाल सञ्चालनमा रहेका एफएम रेडियोमध्ये व्यापारिक र सामुदायिक कुन हुन् भन्ने नछुट्टिएको अवस्था रहेकाले एफएमहरुलाई व्यवस्थित गर्न लागिएको जानकारी पनि उहाँले दिनुभयो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मिडियालाई सबल र सक्षम बनाउने काममा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । समारोहमा पत्रकार महासङ्घ कैलालीका सभापति जगत साउद, केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका गङ्गाधर पराजुलीलगायतले बोल्नुभएको थियो ।

पत्रकार महासङ्घका लागि धनगढी उपहानगरपालिका वडा नं १ मा नगर विकास समितिले निःशुल्क उपलब्ध जग्गा गराएको थियो । सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र तत्कालीन जिल्ला विकास समितिको सहयोग रु ३० लाखको लागतमा महासङ्घको उक्त चार कोठा र एक सभाकक्षसहितको एकतले भवन निर्माण पूरा गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका