Samacharpati
शुक्रबार, चैत्र २८, २०७६
  • होमपेज
  • चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

ठिनी, १५ पुस । हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो । पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले जानकारी दिनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो ।

गुइँठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक सडक बनाउने प्रयास गरे पनि सफल भएको थिएन । बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सीमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताउनुभयो । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगतरूपमा रु पाँच हजार पुरस्कार दिएको बताउनुभयो । सडक अवरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका थिए । यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तव्यमा पुर्याउने व्यवस्था मिलाए पनि ढुवानीका साधनको आवतजावत ठप्प भएको थियो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइँठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक–पटक पहिरो खस्ने गरेको छ ।

स्थानीयवासी, मुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटकहरु प्रभावित भएका छन् । यसैबीच बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ । स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो । बिहान ७.३० देखि ११ र दिउँसो २.३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । सवारी साधनको चाप कम हुने समयमा कामलाई गति दिन समयतालिका बनाइएको उहाँले बताउनुभयो । बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज एकमा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ ।

प्याकेज २, ३ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ । विसं २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मङ्सिरमा सकिएको छ । आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ । उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट जोमसोम खण्डको ५० प्रतिशत र जोमसोमबाट कोरला खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ । सात प्याकेजमा सञ्चालित ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको अन्तिमपटक थप भएको म्याद आगामी असारमा सकिँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका