Samacharpati
बुधबार, फाल्गुन ७, २०७६
  • होमपेज
  • बागलुङ अँधेरीखोलाको सिँचाइ सपना पूरा हुँदै

बागलुङ अँधेरीखोलाको सिँचाइ सपना पूरा हुँदै

  • रासस
  • शुक्रबार, पुस ११, २०७६
बागलुङ अँधेरीखोलाको सिँचाइ सपना पूरा हुँदै

बागलुङ, ११ पुस । विसं २०३४ ताका गाउँललेले खरानी र पहेँलो माटो लगेर अँधेरी खोलाबाट कुलो ल्याएर गाउँसम्म सिँचाइ सुविधा पुर्याएका थिए । यसबाट खेतीकिसानी सजिलो, उत्पादनमा वृद्धि भएको थियो । बागलुङ नगरपालिका–५ मालिकावासीको सिँचाइ सपना सँधैलाई भने टिकेन । निमित मर्मतसम्भारको अभावमा विसं २०६० तिर कुलो बन्द भएपछि यस गाउँमा पुनः सिँचाइको अभाव खट्कियो । सुख्खा याम त गाउँलेलाई अभिशाप नै बन्ने गर्दथ्यो । स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएसँगै अँधेरीखोलाको सिँचाइ सपना फेरि ब्युँझियो । पुरानो मुहान र कुलो सिँचाइ आयोजनामा फेरियो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत निर्माणाधीन सो आयोजना पुरा हुने चरणमा छ । गएको असोजदेखि निर्माण थालेको सोमरस निर्माण सेवाले चार महिनामै काम सक्न लागेको हो । “केही भागमा पाइप बिछ्याउन बाँकी छ, आयोजनाको काम अब लगभग सकियो”, निर्माण व्यवसायी प्रदीप सापकोटाले भन्नुभयो । बाटोका कारण गाउँलेहरुबीच असहमति बढेपछि पाइप बिछ्याउने काम केही ढिला भएको थियो । पाइप पनि समयमै आउन सकेन ।

मुहान, पोखरी, च्याम्बर, नाली, कुलोलगायत संरचना निर्माणको काम सकिएको छ । निर्माण कम्पनीले रु ४५ लाखमा सिँचाइ आयोजनाको ठेक्का पाएको थियो । आयोजनाको काम छिटो भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका सब–इन्जिनियर कल्याण पौडेलले बताउनुभयो । “निर्माण कम्पनीले तीव्र गतिमा काम गर्यो, आयोजना छिटै पूरा हुने क्रममा छ”, उहाँले भन्नुभयो । आयोजनाबाट गाउँभरिमा २५ सय मिटर पाइप बिछ्याइने छ । दुईटा ठूला पोखरी निर्माण गरिएको छ ।

वडाध्यक्ष शिवप्रसाद सापकोटाका अनुसार साविक मालिका गाविसका वडा नं. ४, ५ र ६ का बासिन्दाले आयोजनाबाट प्रत्यक्ष लाभ लिनेछन् । चनौटे, नुवा, पात्लेलगायतका फाँटमा अबदेखि बाह्रैमास सिँचाइ सुविधा पुग्ने उहाँको भनाइ छ । “मालिकाको हजारौँ हेक्टर जमिनमा सिँचाइ पुग्छ, अँधेरीखोलाको धेरै पुरानो सिँचाइले बल्ल मूर्त रुप पायो”, उहाँले भन्नुभयो । सिँचाइ आयोजना पार्नका लागि प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले समेत पहल लिनुभएको थियो । वडाको अधिकांश भेगलाई समेट्ने गरी सिँचाइ आयोजना बनेपछि किसान पनि खुसी छन् ।

“सिँचाइको सारै समस्या थियो, अब सबैलाई सुविस्ता हुने भयो”, स्थानीयवासी कृष्ण सापकोटाले भन्नुभयो । मालिकामा उब्जाउ जमिन भएर पनि सिँचाइ अभावले खेतीबाली प्रभावित बनेको थियो । सिँचाइसँगै खानेपानी, सडकजस्ता पूर्वाधार विकास वडाको प्राथमिकतामा छ । ‘एक घर, एक धारा’ को लक्ष्य पूरा गर्न खानेपानी योजना पनि सञ्चालित छन् । सडक निर्माणलाई पनि गति दिइएको छ । सदरमुकाम बागलुङ बजारदेखि जम्मा ९ किमी दुरीमा रहेको मालिका गाउँमा भर्खर विकासका कार्यहरु थालनी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका