Samacharpati
आइतबार, मंसिर २२, २०७६
  • होमपेज
  • शरदकालीन उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग

शरदकालीन उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग

  • रासस
  • साेमबार, मंसिर १६, २०७६
शरदकालीन उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग

राजेन्द्र पनेरु कञ्चनपुर, १६ मङ्सिर । कञ्चनपुरका किसानले शरदकालीन (असोज–कात्तिक) मा गरिने उखुखेतीमा ‘ट्रेञ्च’ प्रविधिको प्रयोग गरी आम्दानी लिन थालेका छन् । सामान्य विधिको भन्दा ट्रेञ्च प्रविधिबाट गरिएको उखुखेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने भएपछि किसानले यस विधिलाई अपनाउन थालेका हुन् । आधुनिक हलोको मद्दतले ट्रेञ्च अर्थात नालीमा उखुलाई रोपिने गर्दछ । यो प्रविधिमार्फत उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी हावा तथा बाढीले समेत असर कम गर्दछ । नालीको बीचको भागमा अन्तरबालीका रूपमा तोरी, आलु, लसुन, मसुरो, धनियाँ, मटर आदि खेती गर्न सकिने भएकाले किसानले यसबाट अतिरिक्त आम्दानीसमेत लिँदै आएका छन् । सामान्य विधिमा उखु लगाउँदा उमारशक्ति ३० देखि ३५ प्रतिशत मात्रै हुने गरेकोमा ट्रेञ्च प्रविधिमा उखुखेती गरिएपछि उखुको उमारशक्ति ८० देखि ९० प्रतिशतसम्म हुनेगरेको छ ।

कृष्णपुर नगरपालिका–३ दमलपट्टिका किसान दुखिराम चौधरीले भन्नुभयो, “यस प्रविधिबाट गरिएको उखुखेतीमा सिचाइँमा पानीको बचत ६० प्रतिशतसम्म हुनेगरेको छ ।” उहाँका अनुसार उखु बाँध्न सजिलो, उखु हावाहुरीबाट कम ढल्ने, रोगकीरा कम लाग्ने, उखुमा चिनीको मात्रा अधिक हुने भएकाले तौलसमेत बढ्ने हुन्छ । शरदकालीन उखुखेती गर्ने किसानले बढी उत्पादन दिने ०८२७२, सिओ ०२३८, सिओ ०११८, ९४१८४ लगायत सात प्रजातिका उखु खेतमा रोपेका छन् । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत किसानले शरदकालीन उखुखेती गरेका हुन । परियोजनाअन्तर्गत विपद् न्यूनीकरण र आर्थिक विकासका लागि मुख्य उपक्षेत्रको रूपमा उखुबाली छनोट गरी सरकारी निकाय, उखु किसान समिति, महाकाली चिनी मिल र एग्रोभेटसँग समन्वय र सहकार्य गरी उखुबालीको विकास र विस्तार गरिरहेको परियोजनाका अधिकृत महेश घिमिरले बताउनुभयो । उहाँका अनुसार परियोजनाअन्तर्गत यसवर्ष मात्रै कृष्णपुर नगरपालिकामा ३.१५ बिघा, शुक्लाफाँटा नगरपालिकामा १०.६२५ बिघा, लालझाडी गाउँपालिकामा २७.५ बिघा क्षेत्रफलमा शरदकालीन उखुखेती गरिएको छ ।

कूल क्षेत्रफल ३८.७८ बिघा रहेको छ । उखुखेती गर्नका लागि लालझाडी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाबाट मलखादस्वरुप प्रतिबिघा रु पाँच हजार ५०० अनुदान रकमसमेत प्रदान गरिएको छ । त्यसैगरी महाकाली चिनी मिलबाट अन्तरबालीका लागि तोरीको बीउ र विषादी निःशुल्क वितरण गरिएको छ । परियोजनाका तर्फबाट नयाँ समुदायलाई बीउमा ५० प्रतिशत अनुदान र पुराना समुदायमा थप आवश्यक मलखादमा अनुदान दिने कार्य गरिएको अधिकृत घिमिरेको भनाइ छ । आधुनिक नयाँ प्रविधिको रूपमा ट्रेञ्च (नाली) विधि, रेजर विधि र चिप कटर (आँख्ले) विधिबाट खेती गर्नका लागि महाकाली चिनी मिल, उखु किसान समिति र कृषि विकास शाखाहरुसँगको समन्वयमा समुदायमा कृषि औजारसमेत वितरण गरिएका छन् । नयाँ र पुरानो गरी कञ्चनपुरमा टे«ञ्च प्रविधिबाट झण्डै २०० विघा जग्गामा उखुखेती हुने गरेको छ । यसबाट उत्पादन २० हजार क्विण्टल भन्दाबढी हुने गरेको छ ।

चिप कटर (आँख्ले) विधिमा उखु खेती टेञ्च प्रविधिमा लगाइने उखुखेतीमा बीउमा बचत गर्नका लागि कञ्चनपुरका किसानले चिप कटर (आँख्ले) विधिको प्रयोगसमेत गर्न थालेका छन् । उखुको आँख्ला मेसिनको सहायताले निकाली उखुका बोट तयार गर्न नर्सरी बनाइने गरिएको छ । नर्सरीमा उम्रेका उखुका बिरुवाहरुलाई किसानले खेतमा तयार गरेको ट्रेञ्चमा निश्चित दूरीमा रोप्ने गर्दछन् । यस विधिबाट उखुको खेती गर्दा थोरै बीउमा धेरै उत्पादन लिन सकिन्छ । “पुरानो तरिकाले एक बिघा खेतमा उखु रोप्दा ३० देखि ३५ क्विण्टलसम्म उखुको बीउ लाग्ने गर्दथ्यो”, बेलौरी–१० हात्तीबोझाका किसान आश्रय बडायकले भन्नुभयो, “चिप कटर विधिको प्रयोग हुन थालेपछि बीउ पाँच देखि १० क्विण्टल मात्रै लाग्न थालेको छ । उत्पादनसमेत परम्परागत विधिको तुलनामा दोब्बरले वृद्धि हुने गरेको छ ।” उहाँले चार वर्षदेखि यस विधिबाट उखुखेती गर्दै आउनुभएको छ । बीउ र उखुको उत्पादन वृद्धिसँगै लागत खर्च निकै लाग्ने भएपछि यस विधिलाई किसानले अपनाउन थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका