पोखरा, मंसिर १३ । शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म कास्की क्षेत्र नम्बर २ लगायतका स्थानमा उपनिर्वाचनको लागि मतदान शुरू हुन्छ। एकजना प्रतिनिधिसभा सदस्यको लागि हुने यहाँको उपनिर्वाचनमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। तर, यहाँका सबै उम्मेदवारले आफैँले आफैँलाई मतदान गर्न पाउनेछैनन्। यहाँका १३ उम्मेदवारले मात्रै आफैँले आफैँलाई भोट हाल्न पाउनेछैनन्। उनीहरू कास्की २ निर्वाचन क्षेत्रभन्दा बाहिरका हुन्। अन्य आठजनाले मात्रै आफैँलाई मतदान गर्नेछन्। आफैँलाई मतदान गर्न नपाउनेमा कांग्रेसका उम्मेदवार खेमराज पौडेललगायतका छन्। उनी कास्की ३ नम्बर क्षेत्रका हुन्। कास्कीका ११ वटा वडाहरू ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ का जनताले मतदान गर्न पाउनेछन्। त्यस्तै, तनहुँ घर भएका राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले पनि आफूलाई भोट हाल्न पाउने छैनन्। नेपाली कांग्रेस विपीका उम्मेदवार पोखरा २६ का चन्द्रबहादुर रानाभाटले पनि मतदान गर्न पाउँदैनन्। किनकि पोखरा २६ कास्की क्षेत्र नम्बर २ मा पर्दैन। देशभक्त समाजवादी पार्टीका उमेदवार वीरबहादुर विश्वकर्मा कास्कीको अन्नपूर्ण गाउँपालिकाका हुन्। उनको ठेगाना पनि कास्की २ मा पर्दैन। भोट गर्न नपाउनेमा मंगोल नेशनल अर्गनाइजेसनका उमेदवार रियाज गुरुङ पनि छन्। उनी पोखरा २७ का हुन्। यी त भए भोट गर्न नपाउने दलका उम्मेदवार। भोट हाल्न नपाउनेमा आठजना स्वतन्त्र उम्मेदवारहरू छन्। विवेकशील नेपालीकी जमुना शर्माले पनि आफैँलाई भोट हाल्न पाउने छैनन्। उनको ठेगाना पोखरा ६ हो जहाँ निर्वाचन हुँदैन। कपिलवस्तुका सुनिल भुषाल, स्याङ्जा वालिङ नगरपालिका घर भएका तर, कास्की २ मा स्वतन्त्र उमेदवारी दिएका यज्ञप्रसाद पंगेनीले पनि भोट हाल्न पाउने छैनन्। कमलजंग कुँवर पोखराकै भएर पनि भोट हाल्न पाउँदैन। उनी पोखरा २५ का हुन्। त्यस्तै, पोखरा १९ का उमनाथ गौतम, पोखरा २८ का नवराज बास्तोलाले, पोखरा २३ लक्ष्मीकुमारी भुजेल, सुर्खेतका दीपक रेग्मीले शनिबार हुने उपनिर्वाचनमा आफैँलाई आफैँले भोट दिन पाउँदैनन्।
यी हुन् आफैँले आफैँलाई भोट दिने उम्मेदवार
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा प्रतिनिधिसभा सदस्यको लागि शनिबार उपनिर्वाचन हुँदैछ। नेकपाले उनै अधिकारीकी श्रीमती विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाएको छ। उनले भने आफैँले आफैँलाई भोट गर्न पाउनेछिन। उनले पोखरा ३३ मा रहेको शान्ति उदय माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछिन्। समाजवादी पार्टीका धर्मराज गुरुङले वडा नं. १६, साझा पार्टीकी रजनी केसीले वडा नं. ४ मा, नेकपा मालेका टेकनाथ भण्डारी पोखरा २१, राप्रपाका उमेदवार रोम बहादुर भण्डारीले पोखरा १५ ले आफैँले आफैँलाई भोट गर्नेछन्। त्यस्तै स्वतन्त्र उम्मेदवारहरू राप्रपा स्वतन्त्रका उमेदवार गंगा मल्लले वडा नं. ७, सुनिलबहादुर कोइरालाले वडा नं. ४ र रन बहादुर दमैले वडा नं. १७ मा मतदान गर्नेछन्। यसैबीच जिल्ला निर्वाचन कार्यालय कास्कीले उपनिर्वाचनको तयारी सबै पूरा भएको जनाएको छ।
Source:- ThahaKhabar