Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • मकवानपुरमा अल्लोको व्यावसायिक उत्पादन

मकवानपुरमा अल्लोको व्यावसायिक उत्पादन

  • रासस
  • मङ्लबार, मंसिर १०, २०७६
मकवानपुरमा अल्लोको व्यावसायिक उत्पादन

अञ्जली थापा हेटौँडा, १० मङ्सिर मकवानपुरको थाहा नगरपालिका दामनका महिला यति बेला तरकारी खेती सकेर अल्लोको कपडा बुन्ने, नाम्लो, दाम्लो, बोरा बनाउनमा व्यस्त भएकी छिन् । भदौ महिनादेखि कात्तिक महिनासम्म तरकारी खेती गर्ने र मङ्सिरबाट अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाको वार्षिक कार्यतालिकाजस्तै भएको छ । उद्यमी बन्ने सपनालाई सार्थक बनाउन यहाँका महिलाले तरकारी खेती सकेर तान बुन्ने काममा लागेको ऋषेश्वर आयआर्जन समूहका अध्यक्ष हीरा लामाले बताउनुभयो । त्यस क्षेत्रको जङ्गलमा पाइने सिस्नो प्रजातिको अल्लो टिप्न चुट्न अनि बुन्न व्यस्त भएको यहाँका महिला वर्षमा तीन महिना खेतीपाती र बाँकी समय कपडा बुन्नमा खर्चिने गरेको उहाँले बताउनुभयो । २०६६ सालमा हीरा लामा, मदनावती लो र पम्फा थिङले संयुक्त रुपमा अल्लोबाट कपडा तयार गर्ने उद्योग दर्ता गरेर समूहमा भएका महिलाले सञ्चालन गर्दै आएका छन् ।

उद्योगको हाल आफ्नै भवन छ भने भौतिक संरचनासमेत व्यवस्थपन गरिसकेको अध्यक्ष लामाले बताउनुभयो । उहाँको अनुसार अब उद्योगमा पाट चुट्ने मेशिनको अभाव छ । उक्त मेशिन खरिदका लागि सहयोग गर्न थाहा नगरपालिकामा अनुरोध गरिएको उहाँले बताउनुभयो । सो समूहका महिलाहरुले ऋषेश्वर सामुदायिक वनमा छ्यापछ्याप्ती पाइने अल्लोलाई प्रशोधन गरेर रेशा निकाली विभिन्न प्रकारका कपडा, झोला, टोपी जस्ता सामान उत्पादन गर्ने गर्छन् । स्थानीयले हेला गरेको कच्चा पदार्थ अल्लोबाट मुलायम र बुट्टेदार कपडा उत्पादन गर्छ । ती उद्योगबाट विभिन्न आकर्षक डिजाइनमा तयार पारिएको कपडाको माग स्थानीय स्तरमा मात्र नभएर जिल्लाबाहिर पनि हुने गर्छ । “धेरैजसो उत्पादन जिल्लामै खपत हुने गरेको छ”, उहाँले भन्नुभयो, “कहिले काँही जिल्ला कै माग पनि धान्न गाह्रो हुन्छ । जिल्लामा बिक्री नभएको मात्र बाहिर पठाउने हो । ”

यहाँको उत्पादन विदेशीका लागि पनि कोशेलीदेखि लिएर मेला महोत्सवमा आकर्षणसमेत बन्ने गरेको छ । आजभन्दा १० वर्ष अगाडिसम्म वनमा छ्यापछ्याप्ती पाइने अल्लोबाट कपडा बन्ला भनेरे कहिल्यै नसोचको अध्यक्ष लामाको भनाइ छ । उहाँले आफू वन जाँदा काँचो सिठाको चिम्टा बनाएर अल्लोको मुन्टा टिपेर तरकारी खाएको बताउँदै तरकारी खाने अल्लोबाट अहिले आफैँ कपडा बुन्दा रमाइलो लागेको छ भन्नुभयो । उनीसँगैका महिला पनि अल्लोको कपडा उत्पादनतिरै लागेका छन् । ऋषेश्वर सामुदायिक वनको सक्रियतामा समूहका महिलाले अल्लोबाट कपडा बुन्ने सीप पाएका हुन् । करिब छ वर्ष अघि १५ जना महिलालाई ऋषेश्वर सामुदायिक वन, जिल्ला विकास समिति मकवानपुर, जिल्ला वन समन्वय समिति, घरेलु तथा साना उद्योग कार्यालय हेटौँडा, जाइका नेपाललगायतका संस्थाले अल्लोबाट आम्दानी गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेको थियो । ती संस्थाले उनीहरुलाई तालीम मात्र दिएनन् । तालीमपछि चाहिने सामग्री पनि दिए । अहिले उनीहरुसँग आठवटा तान र पाँच वटा चर्खा पनि छ । यसरी सबैको सहयोगमा नमूना उत्पादन थालेका महिलाले अहिले व्यावसायिकरुपमा नै अल्लोको कपडा उत्पादन गरिरहेका छन् ।

अल्लोको पाटबाट धागो कात्ने सबै महिला अहिले कपडा बुन्न पनि सिपालु भइसकेका छन् । महिला चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने धारणालाई उनीहरुले चिरेका छन् । महिलाले पनि पुरुषसरह आम्दानी गर्न सक्छन् भन्ने उदाहरणीय पात्र बनेका छन् । यसरी आम्दानीको बाटोमा लाग्ने पम्फा थिङ, मदनावती लो, कृष्णकुमारी, अन्जना लामालगायतका महिला आर्थिकरुपले पनि सम्पन्न भएका छन् । अल्लोको मात्र कपडा बुन्दा दैनिक साढे दुई मिटरसम्म बुन्न सक्ने पम्फा लामाको अनुभव छ । अल्लोेमा अन्य धागो मिसाएर पनि कपडा तयार गरिन्छ । यसरी बुनेको कपडा झन बढी बुन्न सकिने पम्फाको अनुभव छ । बजारमा माग भएका डिजाइन दिनको लागि भने अल्लोसँगै अरु धागो मिसाउनै पर्ने उहाँको भनाइ छ । बजारमा अल्लोको कपडा प्रतिमिटर रु ८०० देखि एक हजारसम्ममा बिक्री हुने गरेको पम्पाले बताउनुभयो । तीन किलो धागोको दशदेखि १२ मिटरसम्म तयारी कपडा हुने मदनावती लामाले बताउनुभयो । बढ्दो बजारसँगै यसको उत्पादन पुर्याउन अझ बढी मेहनत गर्नुपर्ने उहाँको भनाइ छ ।

अहिले मागबमोजिमको उत्पादनको लागि भने अझै जनशक्ति कम रहेको मदनावतीले बताउनुभयो । कपडा बनाउन जति सजिलो छ, धागो कात्न त्यती नै कठिन छ । अल्लोबाट धागो बनाउन जङ्गलबाट अल्लोको काँचो लाथ्रा ल्याउनुपर्छ । पाट निकालेर सुकाएर ठूलो फलामे कराइमा पकाउनुपर्छ । त्यसपछि फेरि कमेरो माटोमा चोपेर सुकेको पाट खोलामा लगेर फेरि दोहोर्याएर चुट्नुपर्छ । यसपछि मात्र बल्ल धागोको कच्चा तयार हुन्छ । त्यसैलाई चर्खाको सहायताले धागो निकालिने शान्ति लामाले बताउनुभयो । अल्लोको कपडा उत्पादनले त्यहाँका स्थानीय महिलाको आम्दानी बढाएकोे छ । औद्योगिक व्यापार मेला, पर्यटकीय क्षेत्रका पसल तथा स्थानीय क्षेत्रमा नै अल्लोको कपडाको राम्रो बजार छ । स्थानीय क्षेत्रमा पनि यसको माग बढ्दो छ । उनीहरु अल्लोको धागो कात्ने र कपडा मात्रै बुन्दैनन् । अल्लोको मनिपर्स, महिला तथा पुरुषले बोक्ने झोला, स्टकोटलगायत पनि उनीहरु आफैँ सिलाउँछन् । दामन घुम्न आउनेले अल्लोको सामान चिनोका रुपमा लैजाने गरेको पनि उनीहरुले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका