Samacharpati
आइतबार, चैत्र १६, २०७६
  • होमपेज
  • आश्वासन बाँड्दिन, काम गरेर देखाउछु : रजनी केसी

आश्वासन बाँड्दिन, काम गरेर देखाउछु : रजनी केसी

आश्वासन बाँड्दिन, काम गरेर देखाउछु : रजनी केसी

पोखरा,  ८  मंसिर । मंसिर १४ गते हुने उपनिर्वाचन लक्षित चुनावी घरदैलोको क्रममा साझा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसी पोखरा २१ भरतपोखरी पुगेकी छन् । शनिबार उम्मेदवार केसीसहितको टोली तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गाउँ भरतपोखरीको कालिकास्थान, गैरे गाउँ, डाँडा गाउँ लगायतका ठाउँमा पुगेको हो । यसअघि पनि एकपटक सो वडामा घरदैलो र कोणसभा गरिएको थियो ।

मतदाता भेटघाट पछि आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले आफूले आश्वासन बाँडेर नभइ काम गरेर देखाउने बताइन् । चुनावमा आश्वासन बाँडने काम म गर्दिन, एकपटक अवसर पाए काम गरेर देखाउछु, उनले भनिन् । उनले राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाएर राजनीतिको परिभाषा नै बिगारिएको भन्दै राजनीति निस्वार्थ हुनुपर्ने स्पष्ट पारिन् ।

करले जनताको ढाड सेकेको बताउँदै युवालाई देशमा बस्ने वातावरण सिर्जना गर्नुपर्ने ठाउँमा वर्तमान सरकार रेमिट्यान्समा भुलिरहेको बताइन् । युवालाई त आफ्नै देशमा बसौंबसौं लाग्नुपर्ने हो तर हाम्रोमा त्यस्तो छैन्, उनले भनिन्, सबैतिर कर नै कर छ, यसले गर्दा युवा जनशक्तिलाई कहिले विदेश जाउँला जस्तो भइराखेको छ ।कर्मचारी र विद्यार्थीलाई कार्यकर्ता बनाउने कम्युनिष्ट र काङ्ग्रेसबाट केही आश गर्नु व्यर्थ भएको उनको भनाइ थियो । साझा पार्टी सधैं पेशागत संघ संगठन खारेज गर्नुपर्ने पक्षमा रहेको उनले बताइन् ।

स्वतन्त्र भएर काम गर्नुपर्ने कर्मचारीलाई दलहरुको झोले कार्यकर्ता बनाइएको छ, कक्षामा पढ्नुपर्ने विद्यार्थी सडकमा टायर बाल्दै गरेको भेटिन्छन्, उनले भनिन्, हामी सधैं यसको विरुद्धमा रहन्छौं । उम्मेदवार केसीले आफ्नो उम्मेदवारीप्रति मतदाताले दिएको प्रतिक्रियाले थप हौसला प्रदान गरेको सुनाइन् । चुनावको मिति नजिकिएसँगै पार्टीले घरदैलो र कोणसभा कार्यक्रमलाई तीव्र बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका