Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • छोरी बचाउ अभियान प्रभावकारी बन्दै

छोरी बचाउ अभियान प्रभावकारी बन्दै

  • रासस
  • शुक्रबार, मंसिर ६, २०७६
छोरी बचाउ अभियान प्रभावकारी बन्दै

विराटनगर, ६ मङ्सिर । विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, छोरीलाई सम्मान गर्नुपर्छ र समयअनुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास हुनुनै कार्यक्रमको सफलता भएको विराटनगर महानगरपालिकाको ठहर छ । चालू आर्थिक वर्षबाट शुरु भएपछि लाभान्वित वर्ग खुसी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो ।

विराटनगर महानगरपालिकाले महानगरभित्र बालबालिकाको हितको संरक्षण, सरसफाइ, लैङ्गिक समानता, हिंसा, गरीबी, सीमान्त महिलाको छोरीको गर्भपतनको न्यूनीकरण, छोरीलाई प्रोत्साहन गर्नका लागि महानगरपालिकामा छोरी बचाउ अभियान कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यसका लागि महानगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको छ । परिवारमा छोरीको महत्व र छोरीलाई प्रोत्साहन गर्ने, छोरीलाई समान स्थान दिने, पहिलो र दोस्रो सन्तान छोरीलाई यस कार्यक्रमले सन्तानको परिभाषा भित्र राखिएको र छोरी बचाउ अभियानअन्र्तगत पहिलो सन्तानलाई रु तीन हजार र दोस्रो सन्तानलाई रु २५ सय विराटनगर महानगरपालिकाले ग्लोबल बैँकमा खाता खोली सो रकम बैँकमा १८ वर्षको लागि राखिदिने गरेको छ । पहिलो सन्तानअन्र्तगत ३५ जनाले यो सुविधा लिएका छन् ।

दोस्रो सन्तान जन्माउने ३२ जनाले यो सुविधा लिएका छन् । सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानको हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रुपमा रहेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । यो छोरी बचाउ अभियान आउने दिनहरुमा अझै प्रभावकारी बन्ने र यसले समाजमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका