Samacharpati
साेमबार, मंसिर २३, २०७६
  • होमपेज
  • जनकेन्द्रित, उत्तरदायी र पारदर्शी मार्गमा हुप्सेकोट गाउँपालिका

जनकेन्द्रित, उत्तरदायी र पारदर्शी मार्गमा हुप्सेकोट गाउँपालिका

जनकेन्द्रित, उत्तरदायी र पारदर्शी मार्गमा हुप्सेकोट गाउँपालिका

प्रकाश भण्डारी “बिवेक”

नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तह रहेको छ। जहाँ ७ प्रदेश र ७५३ स्थानीय तह मध्ये ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका रहेका छन। नेपालको संविधान लागू हुनुपूर्व कायम रहेका ७५ जिल्लामध्ये नवलपरासी र रूकुम जिल्लालाई टुक्र्याई थप दुई नयाँ जिल्ला कायम गरे पश्चात हाल ७७ जिल्ला कायम गरेको अवस्था छ।
देशकै कान्छो ७७ ‍औँ जिल्लाको रूपमा रहेको नवलपुर जिल्लामा ४ नगरपालिका तथा ४ गाउँपालिका रहेका छन। जहाँका स्थानीय सरकार मध्ये समग्र कार्यसम्पादन र जनतामुखी सेवा प्रवाहको क्षेत्रबाट नियाल्दा हुप्सेकोट गाउँपालिका नमुना गाउँपालिकाको रूपमा अग्रपंक्तिमा रहेको छ। ६ वडामा बिभाजीत यस हुप्सेकोट गाउँपालिका समग्र बिकास र बजेट कार्यान्वयनमा सफल देखिएको छ। जहाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा महिला जनप्रतिनिधि रहेका छन। महिला नेतृत्वलाई स्थानीय तह अथवा प्रदेश र संघीय सरकारको उच्च पदमा रहेर कार्यको जिम्मेवारी बहन गर्ने भूमिका सायदै प्रदान गरेको सुन्न र देख्न पाईँदैन। तर यस गाउँपालिकामा जनताले नै चुनेर पठाएका दुई दक्ष र कर्मठ जुझारू महिला गाउँपालिकाको बिकासका लागी हातमा हात समाएर एकढिक्का हुँदै कार्यसम्पन्न गरेको देख्दा सायदै आम जनमानसलाई अचम्म लाग्न सक्छ। उहाँहरूको सफलताको कारक तत्व सम्पूर्ण हुप्सेकोट गाउँपालिकाका वासिन्दाहरूको साथ र समर्थन नै हो।

हालै कात्तिक २७ गते हुप्सेकोट गाउँपालकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ नवलपरासी बर्दघाट सुस्ता पूर्व शाखाले गरेको थियो।जहाँ स्थानीय नागरिकहरूको ठूलो मात्रामा सहभागिता रहेको थियो। स्थानीय सरोकार र गाउँपालिकाको कार्य प्रति जनता तथा बिभिन्न समाजसेवी र राजनीतिक दलका व्यक्तित्वबाट प्रत्यक्ष रूपमै प्रश्न गर्ने र गाउँपालिकाका प्रमुख तथा अध्यक्षबाट प्रश्नको तत्काल उत्तर पाउँदा आम जनमानसमा गाउँपालिकाको कार्य प्रति र हाल संचालनमा रहेका बिभिन्न आयोजना र परियोजनाहरूबारे जनताले स्पष्ट रूपमा प्रत्यक्ष जान्ने बुझ्ने मौका प्राप्त गरेका थिए। गाउँपालिकाले समग्र रूपमा जनताको सेवालाई मध्यनजर गर्दे प्रत्येक वडा कार्यालयबाट बिभिन्न सेवा हरू उपलब्ध गराउँदै आएको छ।

गाउँपालिकाको कार्यालयमा प्रत्यक्षरूपमा आउन नसक्ने बिभिन्न अशक्त र बृद्ध बुवाआमाहरू तथा बच्चाहरूलाई गाउँपालिकाले समय समयमा बिभिन्न घुम्ती सिविरहरू संचालन गर्दे उनीहरूका आवश्यकताहरूलाई प्रमुख केन्द्रबिन्दुको रूपमा लिएको देखिन्छ। गाउँपालिका भित्र रहेका सामुदायिक र सरकारी विद्यालयहरूमा पठनपाठनका लागी शिक्षक, बिद्यार्थी र पुस्तकहरूको अभाब रहेको पाईँदैन। सबैलाई पायक पर्ने स्थानहरूमा विद्यालय र आधारभुत आवश्यकता परिपूर्ति गर्ने सेवाहरूलाई गाउँपालिकाले निरन्तरता दिएको छ भने यसलाई थप प्रभाकारी रूपमा कार्यान्वय गर्दे जानुपर्ने देखिन्छ। गाउँपालिका भित्र बिभिन्न शिपमुलक तालिम तथा आय आर्जनमुलक शिप कार्यक्रम हरू सन्चालन गरी बैदेशीक रोजगारीबाट फर्केका युवा तथा देशमै केही गर्छु भन्ने अठोट र शाहस बोकेका दक्ष युवाहरूलाई पलायन हुनबाट रोक्न गाउँपालिकाले युवा लक्षित कार्याक्रम हरू बृहत रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ।

गाउँपालिकाको समग्र बिकासका लागी आम जनताहरूले समय समयमा कार्यालयमा आफ्ना बिद्यमान समस्या र योजनाको बारेमा प्रकाश पार्दे गाउँपालिकाबाट सन्चालित बिभिन्न आयोजनाहरूको सहि सदुपयोग र कार्यान्वयनका लागी आम जनसमुदाय अगाडि बढ्नु पर्ने देखिन्छ। समग्र रूपमा गाउँपालिकाको अवस्थालाई नियाल्दा शिक्षा क्षेत्रको बिकासका लागी गाउँपालिकाले योजना नै अगाडि बढाउनुपर्ने देखिन्छ। गाउँपालिका भित्र उच्च शिक्षा प्रदान गर्ने क्याम्पसको अभावका कारण माध्यामीक बिद्यालय सम्म उत्तिर्ण विद्यार्थीहरू गाउँपालिका भन्दा बाहिर पढ्न जान बाध्य रहेका छन। स्थानीय श्रोत र साधनको सदुपयोग गर्दै समग्र गाउँपालिका बासीहरूको आवश्यकतालाई मध्यनजर गर्दे समाज बिकासको अग्रदिशामा गाउँपालिका दत्तचित्त भएर लाग्नेछ भन्ने अपेक्षा आम जनसमुदायको रहेको छ।

निर्वाचित जनप्रतिनिधिले लोकतन्त्रलाई जरैबाट मजबुत बनाई आम नागरिकको राजनीतिज्ञ प्रति भरोसा बढाउन भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नु आवश्यक छ । यसका लागि स्थानीय तहमा नियन्त्रण र सन्तुलन प्रणाली मजबुत बनाउने, भ्रष्टाचारजन्य कसुरलाई कडा कारबाहीको प्रक्रियामा लाने, आयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा दिगोपनामा स्थानीय सहभागिता सुनिश्चित गर्ने, आयरव्ययको जानकारी सार्वजनिक गरी सरोकारवालासम्म पुर्‍याउने, लेखा समितिलाई प्रभावकारी बनाउने जस्ता कार्यहरू अवलम्बन गर्नुपर्ने देखिन्छ। जसका लागी गाउँपालिकाले प्रभाबकारी रूपमा कार्य सम्पादन गर्दे आएको छ र आगामी दिनमा पनि जनताको यहि अपेक्षा रहनेछ। समृद्ध हुप्सेकोटको सपनालाई साकार पार्न गाउँपालिकाले जनताको अभिमतको पक्कै पनि सम्मान गर्नेछ। जसले गर्दा आम गाउँपालिका बासीले गाउँ गाउँमा सिंहदरवार भन्ने नाराको सहि कार्यान्वन भएको महशुस गर्नेछन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका