Samacharpati
आइतबार, मंसिर २९, २०७६
  • होमपेज
  • झापाकाे सताक्षीधाममा १०८ कुण्डीय धार्मिक महोत्सव

झापाकाे सताक्षीधाममा १०८ कुण्डीय धार्मिक महोत्सव

झापाकाे सताक्षीधाममा १०८ कुण्डीय धार्मिक महोत्सव

सुरुङ्गा, १ मङ्सिर । झापाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल मध्येको महाभारतकालीन इतिहाससँग जोडिएको क्षेत्र हो, सताक्षीधाम । रतुवामाई वृक्षरोपण आयोजनाको घनाजङ्गल र इलाम महमाईको चुरे वनसँग जोडिएको यो स्थानमा सताक्षीधाम मन्दिर छ । शिवसताक्षी नगरपालिका–११ मा रहेको यो मन्दिरको महत्व हिन्दू धर्मका प्राचीन ग्रन्थमासमेत वर्णित छ । स्थानीयवासीले त्यही आधारमा धार्मिक पर्यटनस्थलका रूपमा सताक्षीधामको विकास गर्न सकिने विश्वास लिएका छन् । भगवद्गीता, चण्डी, श्रीस्वास्थानी व्रत कथाजस्ता ग्रन्थमा सताक्षीधामको वर्णन पाइन्छ । भागवद्गीताको ११औँ अध्यायमा पनि सताक्षीधामको महिमा वर्णन गरिएको पीठाधीश आचार्य नन्दीकिशोर भारद्वाजले बताउनुभयो ।

खासगरी बालाचतुर्दशी, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, शिवरात्रिजस्ता धार्मिक पर्व, वैशाख १ र जनवरी १ मा यहाँ तीर्थालुको घुइँचो नै लाग्ने गरेको छ । सताक्षीधाममा बालाचतुर्दशीका दिन हरेक वर्ष धार्मिक मेला लाग्ने गरेको छ । दिवङ्गत आफन्तका नाममा शत्बिज छर्न र श्राद्ध गर्न यस क्षेत्रमा हिन्दू धर्मावलम्बी नेपाललगायत भारत, भूटान र बर्माका विभिन्न ठाउँबाट आउने गरेका छन् । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यो ठाउँ पछिल्लो समय पर्यटकीय दृष्टिकोण समेतले धेरैको रोजाइमा परेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा सरकारको यो अभियानलाई सताक्षीधाम विकास समितिसमेतले सहयोग पुर्याउँदै धार्मिक पर्यटक भित्र्याउन पहल थालेको छ । धामले अहिले मन्दिर परिसरमा गत कात्तिक २७ देखि मङ्सिर ९ गतेसम्म १३ दिने सताक्षीधाम धार्मिक महोत्सव, १०८ कुण्डीय श्रीगोपाल महायज्ञ तथा श्रीमद्देवी भागवत कथा महोत्सवको आयोजना गरेको छ ।

यस क्षेत्रमा नेपालका करिब पाँच लाख र विभिन्न देशबाट २० हजारभन्दा बढी भक्तजन भित्र्याएर यस ठाउँको महिमालाई देश तथा विदेशमा फैल्याउने प्रयास भइरहेको जिल्ला समन्वय समिति झापाका संयोजक तथा महोत्सव आयोजक समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको महोत्सवमा नेपाल, भारत, सिङ्गापुर, अमेरिका, जर्मनी, माल्दिभ्स, अफ्रिका, भूटान र बर्मा लगायतका देशबाट हिन्दू धर्मावलम्बीको ठूलो सङ्ख्यामा सहभागिता रहेको आयोजक समितिका अध्यक्ष पोर्तेलले बताउनुभयो । महायज्ञमा १०८ कुण्डीय कोटिहवन राखिएको छ । कोटिहवनमा सबै कुण्डमा पितृ उद्धारका लागि अहिले हवन भइरहेको छ । नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा शुरु भएको महायज्ञ सम्पन्न गर्न झण्डै रु तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ । पाँच वर्षअघि सताक्षीधाममा स्थापना गरिएको गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यक्ता र शास्त्रीय गुणका बारेमा जनचेतना जगाउन धाम परिसरमा बर्सेनि गौकथा महोत्सवको आयोजनासमेत गर्दै आएको सताक्षीधाम धार्मिक महोत्सवका संरक्षकसमेत रहनुभएका पीठाधीश आचार्य भारद्वाजले बताउनुभयो ।

दैनिक झण्डै चालीस हजारले सताक्षीधामको दर्शन गर्दै महोत्सवमा सहभागिता जनाइरहेको महोत्सव प्रचारप्रसार समितिका संयोजक विनोद सापकोटाले बताउनुभयो । उहाँका अनुसार बालाचतुर्दशीका दिन मात्रै एक लाखभन्दा बढी भक्तजनले यस ठाउँको दर्शन गर्नेछन् । गौमूत्रबाट औषधि पनि उत्पादन धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा गौमूत्रबाट गौअर्क ब्रान्डको औषधि उत्पादन गर्न शुरु गरिएको छ । धाममा २०७१ सालमा गोलोक गोवद्र्धन गौशाला स्थापना गरिएको र गौशालाका उन्नत तथा स्वस्थ गाईको मूत्र भुइँमा झर्न नदिई सोझै सङ्कलन गरी वाष्पीकरणको प्रक्रियाबाट पुनः तरल पदार्थमा रूपान्तरण गरी गौअर्क उत्पादन हुने गरेको गौशालाका संरक्षक भारद्वाजले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ४० लिटर गौअर्क उत्पादन हुने गरेको छ । “गौअर्क पेटमा देखिने कुनै पनि समस्याको उपचारका लागि प्रयोग गरिन्छ”, भारद्वाजले भन्नुभयो । गौशालाले बेलको जुस, गोबरको कोइला, अगरबत्ती, हवन सामग्री, गड्यौँला मलको पनि उत्पादन शुरु गरेको छ । गड्यौँला मल दैनिक एक क्विन्टल उत्पादन हुने गरेको छ । गौशालामा आयुर्वेदिक औषधिको व्यावसायिक उत्पादन गर्ने तयारी गरिएको गौशालाको व्यवस्थापन प्रमुख लीला शास्त्रीले बताउनुभयो । गौशालामा रहेका गाईको स्वास्थ्य उपचारका लागि धाममा गौ अस्पताल निर्माण भएको छ । गौशालाले करोडौँ रुपैयाँको लागतमा शिवलिङ्ग र मन्दिर निर्माण गरिरहेको छ । गौशालाले हरिदेव गुरुकुल विद्यालयसमेत सञ्चालन गरिरहेको छ । गोलोक गोवद्र्धन गौशालाधाम स्थापना भएपछि सताक्षीधामको मुहारमा परिवर्तन आएको बताइएको छ । धार्मिक महोत्सवमा गौशालाको महिमा र गौमूत्रका विषयमा समेत जानकारी गराइन्छ । यहाँ ३०० भन्दा बढी गाईको संरक्षण गरिएको छ ।

नेपालमा पहिलो पटक गाईलाई व्यासमा राखेर २०७२ मङ्सिरमा गौ महोत्सवको आयोजना गरिएको थियो । गोलोक गोवद्र्धन गौशालाले आयोजना गरेको महोत्सवले धामको प्रचारप्रसारमा पर्याप्त टेवा पुगेको बताइन्छ । संरक्षणमा समस्या धार्मिक पर्यटनको दृष्टिले समेत झापालाई महत्वपूर्ण जिल्ला मानिन्छ । अर्जुनधारा जलेश्वर धाम, किच्चकवध, बाह्रदशी, पाउपाथीभरा, कोटिहोम आदि जिल्लाका प्रमुख तीर्थस्थल हुन् । त्यसमध्ये पनि सताक्षीधामको आफ्नो छुट्टै महत्व छ । संरक्षण, प्रवद्र्धन र भौतिक पूर्वाधारको अभावमा यो धाम सबैको रोजाइमा भने पर्न सकेको छैन । झापा र इलामको सीमामा पर्ने चुरे पर्वतको फेदैमा रहेको धामको प्रवद्र्धनमा चासो नपुग्दा यसको मौलिक विशेषता नै हराउने खतरामा छ । सतासी खोलामा आउने बाढी यसको मुख्य समस्या हो । सतासी खोलाको कटान र पैरोले सताक्षीधामका थुप्रै गुफा नामेट बन्दै गएका छन् । देवीदेवताका आकृति सहितका शिला प्रशस्त भेटिन्छन् । सुरक्षा पहुँचदेखि टाढा रहेको धामका धेरै शिला चोरी भएको स्थानीयवासी बताउँछन् । धामका धेरै महत्वका शिला चोरी भएको र धाम संरक्षणका लागि स्थानीय तहमा सुरक्षा नहुँदा तिनको संरक्षण गर्न नसकिएको स्वयं समितिका पदाधिकारी बताउँछन् । राज्यले धामको भौतिक पूर्वाधार विकासमा लगानी गर्नुपर्ने आवश्यकता भए पनि सहयोग हुनसकेको छैन । सडक, खानेपानी, यातायात, सञ्चार र पर्यटकका लागि आवश्यक पर्ने आवास तथा बजार व्यवस्थापनमा ठोस नीति नहुँदा समस्या भएको हो ।

सरकारले पर्यटन वर्ष सन् २०२० का लागि देशका घुम्नयोग्य ठाउँको सूचीमा सताक्षीधामलाई सूचीकृत गरेको थियो । सूचीकृत गर्नेबाहेक सरकारले धामको संरक्षण र प्रवद्र्धनमा खासै चासो नदेखाएको गुनासो छ । कालोपत्र सडक नहुँदा आन्तरिक तथा बाह्य पर्यटक चाहेर पनि सहजरूपमा सताक्षीधाम पुग्न सक्तैनन् । पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट झण्डै चार किलोमिटर उत्तरमा पर्ने यो धाममा पुरातत्व विभागले २०४८ सालमा एउटा यज्ञकुण्ड बनाएको थियो । तर बनेको केही वर्षमै पहिरोले भत्काएपछि लाखौँ रुपैयाँको लगानीको कुण्ड अहिले नामेट बनेको छ । धामको सुरक्षा अर्को यहाँको समस्याको विषय हो । धामका साधुसन्त, गुरुकुलका शिक्षक, विद्यार्थी लुटिनेजस्ता घटना हुने गरेका छन् । सताक्षीधाम मन्दिरको दर्शन गरेपछि सतासी खोलैखोला हँुदै सताक्षी झरना पुग्न सकिन्छ । करिब ३० मिनेटको ढुङ्गे खोलोको बाटोले झरना पुग्न सर्वसाधरण सबैलाई रमाइलो प्रदान गर्छ ।

झरना पुग्नुअगावै सतासीखोलामा बिरेनुन स्वादको पानी उम्रिएको पाइन्छ । पानी उम्रिएको ठाउँको छेउछाउमा बिरेनुनको सुगन्ध आउने गर्छ । त्यहाँ पुग्ने जोकोही यसको अवलोकन र महत्वका बारेमा जिज्ञासा राख्ने गर्छन् । सतासीखोलमा उम्रिएको बिरेनून स्वादको पानी औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ । पेट र ग्याष्ट्रिकजस्ता रोग निको पार्न सतासीखोलाको बिरेनुन सुगन्धित पानी औषधिका रूपमा प्रयोग हुने विश्वास छ । यहाँको पानी लिन नेपालसहित भारतका विभिन्न ठाउँबाट हिन्दू धर्मावलम्बी आउने गरेका छन् । भगवान् शिवले पार्वतीसँग विवाह गर्दा सताक्षीधामबाट जन्ती लिएर गएको किंवदन्ती पनि छ । त्यस्तै महाभारत कथामा कौरव र पाण्डवले सताक्षीधामलाई लामो समय आफ्नो आश्रयस्थल बनाएको जनश्रुति रहेको मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो । अर्काे किंवदन्तीअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले उनको विवाह भगवान् विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सताक्षीधामलाई लिने गरिन्छ ।

सुरेन्द्र भण्डारी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका