Samacharpati
शुक्रबार, मंसिर २०, २०७६
  • होमपेज
  • जाजरकोट मालिकामा बजेटको अभावमा दृश्यावलोकन केन्द्रको निर्माण कार्य अलपत्र

जाजरकोट मालिकामा बजेटको अभावमा दृश्यावलोकन केन्द्रको निर्माण कार्य अलपत्र

  • रासस
  • बुधबार, कार्तिक २७, २०७६
जाजरकोट मालिकामा बजेटको अभावमा दृश्यावलोकन केन्द्रको निर्माण कार्य अलपत्र

जाजरकोट, २७ कात्तिक ।  एक शहर एक पहिचानको योजनाअनुसार जाजरकोटको भेरी नगरपालिकाको वडा नं ६ को मालिकामा निर्माण हुने भनिएको दृश्यावलोकनका ‘भ्यूटावर’ लागि बजेटको अभावमा निर्माण कार्य अगाडि बढ्न सकेको छैन । जिल्लाको ऐतिहासिक तथा धार्मिक धरोहरकारुपमा स्थापित भेरी नगरपालिकाको मालिकामा बन्ने भनिएको ‘भ्यूटावर’ डिपिआरको जिम्मा लिएको डिलाइड कन्सल्ट बबरमहल काठमाडौँले समयमा काम पूरा नगर्दा टावरको रकम फिर्ता भएको थियो । छ महीनाभित्र डिपिआरको प्रतिवेदन दिने सम्झौता गरेर दुई वर्ष पुग्नै लाग्दा प्रतिवेदन दिएपछि टावरको लागि आएको बजेट रु ६५ लाख फिर्ता भएको हो । टावर पाँच तलाको निर्माण गर्ने डिपिआर प्रतिवेदनमा उल्लेख छ । शहरी विकास कार्यालयले डिपिआरको जिम्मा डिलाइड कन्सल्ट बबरमहल काठमाडौँलाई दिएको थियो ।

उक्त डिलाइड कन्सल्टले तोकिएको समयमा काम पूरा नगर्दा ‘भ्यूटावर’को लागि आएको बजेट फिर्ता भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो । समुद्री सहतबाट दुई हजार ४०० मिटर उचाइमा रहेको बडीमालिकामा तीन वटा मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको छ । अहिले शहरी विकास कार्यालयमा दृश्यावलोकन केन्द्र निर्माणका लागि रु सात लाखभन्दा बढी बजेट नभएको बताएको छ । बजेट नहुँदा विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भए पनि काम शुरु गर्न नसकेको नगरप्रमुख घर्तीले बताउनुभयो । सङ्घीय सरकार र प्रदेश सरकारले दृश्यावलोकन केन्द्र निर्माणका लागि बजेट व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने अवस्था नरहेको उहाँको भनाइ छ । कालिका, मालिका र मनकामना मन्दिर यही ठाउँमा निर्माण गर्ने नगरप्रमुख घर्तीले बताउनुभयो । त्यस्तै त्यहाँ जानका लागि सडक, बास बस्नका लागि भवन र पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ ।

जिल्लाका सबै ठाउँमा सहजै पहुँच राख्न सकिने यस ठाउँबाट कर्णाली प्रदेशका अधिकांश ठाउँसमेत अवलोकन गर्न सकिन्छ । पर्यटकलाई सजहरुपमा जान र आउनका लागि सदरमुकाम खलङ्गा, बागखोर हुँदै मालिकासम्म सडक निर्माण गरिने योजना रहेको छ । बाइसे, चौबिसे राज्य भएको समयमा समेत विशेष महत्व राखेको बडामालिकामा राज्यले लगानी गरी समयमै निर्माण गर्नसके पर्यटन विकासका लागि ठूलो योगदान पुग्ने उद्योग वाणिज्य सङ्घ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताउनुभयो । यो टावर निर्माणसँगै भेरी करिडोरसँग जोड्ने योजना रहेको छ । जिल्लाका सबै ठाउँमा रहेका टेलिफोनका टावरमात्र नभएर डोल्पा, रुकुम र सल्यानलाई समेत पुग्ने गरी यही ठाउँमा टेलिफोनको मुख्य टावर रहेको छ । चारैतिर रमणीय रहेको यस ठाउँबाट जिल्लाका विभिन्न ठाउँ देखिनुका साथै सल्यानको कुमाख, डोल्पा र रुकुम पश्चिमको सिस्ने हिमालसमेत अवलोकन गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका