Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • बनेपा धुलिखेलमा नेकपाले लगायो उम्मेदवारी टुङ्गो, काङ्ग्रेस छलफलमै

बनेपा धुलिखेलमा नेकपाले लगायो उम्मेदवारी टुङ्गो, काङ्ग्रेस छलफलमै

  • रासस
  • बुधबार, कार्तिक २७, २०७६
बनेपा धुलिखेलमा नेकपाले लगायो उम्मेदवारी टुङ्गो, काङ्ग्रेस छलफलमै

बनेपा, २७ कात्तिक । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताउनुभयो । नेपाली काङ्गे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको नाम सिफारिश भएर आए पनि क्षेत्रीय समितिबाट टुङ्ग्याउनुपर्ने भएकाले छलफल चलिरहेको जनाएको छ ।

काङ्ग्रेस क्षेत्रीय समितिका सभापति कञ्चनचन्द्र बादेले छलफल गर्न अझै बाँकी रहेकाले दर्ता गर्ने समयसम्ममा टुङ्गो लाग्ने बताउनुभयो । धुलिखेल नगरपालिका–२ का लागि हुने निर्वाचनमा एक हजार ८७७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकृत उमेश राईका अनुसार सो निर्वाचनमा महिला ९४९ र पुरुष ९२८ ले मतदान गर्न पाउनेछन् । निर्वाचनका लागि सेतीदेवी माविलाई मतदानस्थल तोकिएको छ । सो स्थलमा दुई मतदान केन्द्र रहेको निर्वाचन अधिकृत राईले बताउनुभयो ।

निर्वाचन तालिका अनुसार आज उम्मेदारको मनोनयनपत्र दर्ता गर्ने र सूची प्रकाशन गर्ने कार्यक्रम छ । त्यस्तै भोलि उम्मेदारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र नामावली प्रकाशन गर्ने, ३० गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा मङ्सिर १ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत राईले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका